वीर अस्पताल हिँडेकी आइतीमाया जब बग्गीखाना पुगिन्

shyane.com.np | 8:46 PM | 0 comments

आइतीमाया तामाङलाई सडकपारिको वीर अस्पतालमा गएर डाक्टर देखाउन ढिलो भइसकेको थियो। लामो समयदेखि त्यहाँ क्यान्सरको उपचार गराइरहेकी यी ३० वर्षीया ग्रामीणलाई बुधबार दिउँसो चाहिँ अनौठो आइलाग्यो।

‘अरू दिन सडक काटेर पारि जाने हुलै हुन्थ्यो, म पनि उनीहरू सँगसँगै मिसिन्थेँ,’ उनी भन्दै थिइन्, ‘आज चाहिँ एकछिनसम्मै सडकमा पर्खुन्जेल पनि बाटो काट्ने कोही नदेखेपछि गाडी नआएको मौका पारेर एक्लै फुत्त पारि जान खोजेकी थिएँ।’

ठ्याक्कै त्यतिबेलै ड्युटीमा रहेका ट्राफिकले आइतीमायालाई बोलाइहाले। नुवाकोटकी यी लजालु युवती रातोपिरो अनुहार लगाउँदै बोलाएको ठाउँतिर लागिन्। ट्राफिकले दुई सय रुपैयाँ जरिवाना मागे।

‘मसँग सय रुपैयाँ मात्रै थियो,’ उनले थपिन्, ‘त्यतिले पुग्दैन भन्नुभयो।’

त्यसपछि आइतीमायालाई ट्राफिक प्रहरीले बग्गीखाना पुर्याए। त्यहाँ मापसे गरेर कारबाहीमा परेकाहरूको ठूलै हुल थियो। त्यसैमा मिसिएर उनले कक्षा लिन सुरु गरिन्।

दुई वर्षदेखि क्यान्सरले पिरोलेपछि राजधानीका धेरै अस्पताल चहारेर भएका पैसा पनि सबै सकिएको आइतीमायाले सुनाइन्। ‘त्यो परको पुलबाट बाटो काट्नुपर्छ भनेर मलाई आजसम्म कसैले बताएनन्,’ उनी बिलौना गरिरहेकी थिइन्, ‘अरू दिन बाटो काट्नेहरु यस्तो कुराको जानकार भएकैले चनाखो भइहाले। म चाहिँ फसेँ।’

महानगरिय ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गर्दै पैदलयात्रीमाथि कारबाहीको घोषणा गरेको दोश्रो दिन यसरी सजायको भागी भएकी थिइन् आइतीमाया। जथाभाबी बाटो काट्ने पैदलयात्रीलाई कारबाहीस्वरुप दुई सय रुपैयाँ जरिवाना गर्ने र पैसा नतिर्नेको हकमा तीन घन्टा नियन्त्रणमा लिने चेतावनीअनुसारै उनी प्रहरी हिरासतमा परेकी थिइन्। त्यो हिरासतको अवधिमै उनलाई बग्गीखाना लगेर तालिम दिइएको थियो।

ट्राफिक प्रहरीले यसरी जथाभाबी बाटो काटेको भन्दै मंगलबार ३ हजार ३ सय ४८ जनालाई कारबाही गरेको थियो। तीमध्ये ८ सय ४० जना आइतीमायाजस्तै निमुखा थिए, जोसँग ट्राफिक प्रहरीलाई जरिवाना तिर्न खल्तीमा दुई सय रुपैयाँ पनि थिएन।

‘काठमाडौंको सडक नै पैदलयात्रीलाई सबैभन्दा हेपेर केवल इन्जिनगाडीको हित हुन ेगरी विस्तार भएका छन्,’ सहरी योजनाविद् सूर्यराज आचार्य भन्छन्, ‘यसरी अपहेलना झेल्दै आएका पैदलयात्रीलाई कुनै कारबाही सुरु गर्नुअघि कम्तीमा छ महिनादेखि एक वर्ष लगाएर सडक हिँड्नेहरूका लागि अनुकूल बनाउने र व्यापक जनचेतना चलाउनुपथ्र्यो।’

आचार्यका अनुसार लिच्छविकालमा विकास भएका उपत्यकाका सबै सहर केवल पैदलयात्रीको हिसाबले उभ्याइएको थियो।

‘यस्तो सहर विस्तार हुँदैजाँदा अहिले पैदल हिँड्नेका लागि कुनै सोचाइ नै राख्ने गरिएको छैन,’ उनी भन्छन्, ‘नीति बनाउने र कार्यान्वयन गर्ने सरकारको मात्र के कुरा, फुटपाथमा हिँड्नेहरू अरु निकायबाट पनि अनुसन्धानै नगरिने वर्गमा पर्छन्।’

आइतीमाया र सूर्यराज आचार्यका भनाइ सुनिसकेर यो कारबाहीको प्रारम्भ गर्ने ट्राफिक प्रहरीका हाकिमसम्म पुग्दा चाहिँ उनले आफ्नै तर्क दिए।

‘सडकमा सबैभन्दा बढी मृत्यु पैदलयात्री र उनीहरूले सिर्जना गरेको दुर्घटनाबाटै भइरहेको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले सेतोपाटीसँग भने, ‘यसलाई तत्काल नियन्त्रण नथाल्ने हो भने दिनप्रतिदिन बढ्दो दुर्घटनाको क्रमलाई हामी कसैले रोक्न सक्दैनौं।’

सोलुखुम्बुका मिङमार सोझा र एकोहोरा देखिन्थे। उनले दुर्घटनाको तथ्यांक नै मगाएर टेबुलमा फैलाए। यो वर्ष मात्रै काठमाडौंको सडकमा १ सय ४८ जनाको मृत्यु भएकामा त्यसमध्ये ६३ जना अर्थात् ४२ प्रतिशत पैदलयात्री रहेछन्। पछिल्लो पाँच वर्षको तथ्यांकका आधारमा सडकमा कूल मृत्युको ४१ प्रतिशत पैदलयात्री थिए।

‘पैदलयात्रीकै कारणले मृत्यु हुने सवारीचालक वा यात्रीको संख्या जोड्ने हो भने त्यो फेरि सडकमा कूल मृतक संख्याको आधाभन्दा बढी हुन्छ,’ डिआइजी लामा थप्छन्, ‘यो संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ।’

सडकमा हिँड्ने पैदलयात्रीहरू पनि सचेत र अनुशासित हुनुपर्छ भन्नेमा विज्ञ आचार्यको पनि दुईमत छैन। तर, सडकमा प्रस्टै हेपिएका देखिने पैदलयात्रीहरूलाई मात्र नियमको भारी लगाउने र सरकारले चाहिँ तिनका निम्ति आवश्यक पूर्वाधारको कुनै बन्दोबस्त नगर्ने काम आफैंमा अन्याय भएको उनी दाबी गर्छन्।

काठमाडौं उपत्यकाभर कुल १५ सय ९४ दशमलव ६७ किलोमिटर सडक छ। यति लामो सडकमा यहाँ ३ सय स्थानमा मात्र जेब्राक्रसिङ छन्। अर्थात्, औसत झन्डै साढे पाँच किलोमिटर यात्रा गरेपछि मात्र यहाँका पदयात्रीले बाटो काट्न एउटा जेब्राक्रसिङ भेट्छन्। त्यसैगरी यहाँ जम्मा २२ वटा आकाशे पुल छन्। निकै अघि रत्नपार्कमा सडक काट्न बनाइएको एक मात्र सब वे पनि दुर्गन्धित भएकाले राम्ररी चलनमा आउन सकेको छैन।

सबैभन्दा पहिले त काठमाडौंमा कुल क्षेत्रफलको साढे सात प्रतिशत भाग मात्रै सडकले ओगट्नु नै आश्चर्य रहेको आचार्य बताउँछन्। यति थोरै सडकमा यहाँ ९ लाख ६३ हजार ५ सय ८ वटा सवारीसाधन चलिरहेका छन्। यसरी सवारीसाधनलाई नै ध्यानमा राखेर बनाइएका सडक पनि साँघुरा र उकुसमुकुस भइरहेको बेला पैदलयात्रीको त झनै बेहाल भइरहेको उनी सुनाउँछन्।

‘युरोपका विकसित सहरमा कुल क्षेत्रफलको २५ प्रतिशतसम्म भूभाग सडकले ओगटेको हुन्छ,’ उनी भन्छन्, ‘हामीकहाँ कम्तीमा अहिलेभन्दा दोब्बर अर्थात् १५ प्रतिशत हुनैपथ्र्यो।’

यसरी सवारीसाधनकै निम्ति पनि कोच्चिएका सडकमा पैदलयात्री त पूरै हेपिएर बाँचिरहेको आचार्य बताउँछन्।

‘राजधानीजस्तो ठाउँमा औसत पाँच किलोमिटरमा एउटा जेब्राक्रसिङ हुनुले नै पैदलयात्रीका निम्ति यहाँ कति कम सोचिएको छ भन्ने स्पष्ट हुन्छ,’ आचार्य भन्छन्, ‘विकसित सहरमा सकेसम्म हरेक सय मिटरमा एउटा जेब्राक्रसिङ भइदिए सर्वोत्तम हुन्थ्यो। नभइदिए पनि बढीमा दुई–तीन सय मिटरभन्दा बढी बाटो काट्न चाहने पैदलयात्रीलाई हिँडाउन मिल्दैन।’

त्यसमाथि सदैव सवारीधनीले प्राथमिकता पाउँदै आएको काठमाडौंका जेब्राक्रसिङहरू आफैंमा आतंकपूर्ण रहेको आचार्य बताउँछन्।

‘विकसित सहरमा पैदलयात्रीले जेब्राक्रसिङको सेतो धर्कोमा खुट्टा राखेको देख्नेबित्तिकै परैबाट मोटरहरू रोकिन्छन्,’ जापानबाट पूर्वाधार विकासमा विद्यावारिधि गरेका आचार्य भन्छन्, ‘यहाँ हामीकहाँ जेब्राक्रसिङबाट हिँडिरहेका पैदलयात्रीले ज्यान हत्केलामा राखेका हुन्छन्।’

अन्त अचम्म मानिने यस्ता दृश्यहरु नेपालमा जतासुकै देखिने आचार्य सुनाउँछन्।

‘काठमाडौंको सबैभन्दा व्यवस्थित मानिने माइतीघर–तीनकुने सडकमै इन्जिनगाडीको निम्ति कस्तो र पैदलयात्रीको निम्ति कस्तो व्यवस्था गरिएको छ भनेर हेरौं न,’ उनी भन्छन्, ‘बाँकी कुरा भनिरहनै पर्दैन।’

आचार्यका अनुसार यस्ता प्रत्येक जेब्राक्रसिङमा ट्राफिक बत्तीको व्यवस्था हुनुपथ्र्यो। त्यो गर्न नसक्ने हो भने पनि जेब्राक्रसिङमा नियाल्ने र कारबाही गर्ने ट्राफिक हुनैपर्ने थियो।

‘अरू ठाउँको त झन कुरै नगरौं,’ आचार्य भन्छन्, ‘सहरको बीचमै बनिरहेको आठ लेनको चक्रपथ त कुनै सहरी सडक होइन, हाइवे जस्तो गरेर पैदलयात्रीलाई न हिँड्ने, न त बाटो काट्ने ठाउँ बनाएर तयार पारिँदैछ।’

यसरी पूर्वाधारको कुरा उठ्दा भने स्वयं डिआइजी लामा पनि कमजोरी स्वीकार गर्छन्।

‘तपाईंलाई थाहा छ?’ उनले सोधे, ‘कोटेश्वरबाट सूर्यविनायक जाने बाटोमा रहेको तीनवटा ट्राफिक लाइटबाहेक यतिबेला सिँगो उपत्यकामा एउटा पनि बत्तीले काम गरिरहेको छैन।’

यस्तो अवस्थामा सबैतिर ट्राफिक जनशक्ति नै परिचालन गरेर हात उठाएर रोक्ने र सुचारु गराउने काम भइरहेको छ।

‘सरोकारवाला यातायात विभागलाई मैले काठमाडौंका ट्राफिक लाइटहरू बल्ने मात्र बनाइदिनुस्, त्यसमा स्विच अन–अफ गरेर रातो, पहेँलो र हरियो बत्ती बाल्ने काम पनि हामी नै गरिदिन्छौं भनेको थिएँ,’ उनले थपे, ‘हुन्छ भनेको दुई महिना बितिसक्दा पनि त्यति मागधरि पूरा भएन।’

त्यसो त काठमाडौंका सडकमा लगाइएका ट्राफिक बत्ती फेरि सुचारु गराउने पहल नभएको होइन। एसियाली विकास बैंकले यी बत्ती बनाउन दुईपटक टेन्डर निकालेकोमा दुवैपटक रद्द भइसकेको छ।

‘एडिबीले जति पैसा तोकेर टेन्डर आह्वान गर्छ, त्योभन्दा सात प्रतिशत बढी रकम न्यूनटम टेन्डर भर्नेले नै माग गरिदिएको रहेछ,’ लामाले अचम्म मानेर हाँस्दै सुनाए, ‘अब काठमाडौंको ट्राफिक लाइट कहिले बन्छ भन्ने भगवानै जानून्।’

यस्तो अवस्थामा यहाँ पैदल यात्रीका निम्ति पर्याप्त पूर्वाधार नरहेको स्वीकार गर्दागर्दै पनि दुर्घटना रोक्न आफुले यो कठोर कदम चालेको लामा बताउँछन्।

‘भएका पूर्वाधार पनि प्रयोग नगर्नेहरूलाई सचेत नगराउने हो भने अवस्था भयावह हुँदै जान्छ,’ उनले भने, ‘जेब्राक्रसिङ र आकासे पुल भएको ठाउँमा त्यसलाई प्रयोग नगर्ने पैदलयात्रीमाथि मात्र कारबाही भइरहेको छ।’

ट्राफिकले बिनाकुनै पूर्वयोजना यसरी पैदलयात्रीमाथि कारबाही थालेको आरोपलाई लामा अस्वीकार गर्छन्।

उनका अनुसार गत वैशाख २८ गतेदेखि ट्राफिक महाशाखाले सडकपेटी ओगटेर बसेकाहरूलाई हटाउन सुरु गरेको थियो। महानगरीय प्रहरी, ट्राफिक र जनसेवा प्रहरी गरेर हालसम्म ७ हजार ३ सय २८ स्थानमा सडकपेटी ‘क्लियर’ पारेको उनले जनाए। रत्नपार्क, सुन्धारा, गौशाला, माछापोखरी लगायत ठाउँमा फुटपाथमै सडक थापेर बसेकाहरुलाई हटाउँदा आफूले धेरैतिरबाट गाली सुन्नुपरेको पनि उनले दुःखेसो पोखे।

लामाका अनुसार मेलम्ची आयोजनाका कारण धेरै ठाउँमा बाटै अलपत्र भएकाले चाहेर पनि केही गर्न सकिएन। तैपनि, यसबीच १० लाख रुपैयाँ लगाएर सम्भव भएसम्मका स्थानमा जेब्राक्रसिङ ‘रिपेन्ट’ गर्न लगाएको जानकारी पनि उनले दिए। त्यसैगरी वैशाखदेखि नै जनचेतनाको कार्यक्रम पनि तीब्र गतिमा अघि बढाइएको दाबी उनको छ।

‘यति गरिसकेपछि कम्तीमा पेटीबाटै हिँड्नुस् भन्न र बाटो काट्ने सुविधा भएको ठाउँमा अन्यत्रबाट नकाट्नुस् भन्न सक्छु नि!’ उनले हाँस्दै सोधे, ‘नत्र भने त सडक जतिसुकै व्यस्त भए पनि मजाले मोबाइलमा कुरा गर्दै जथाभाबी हिँड्नेहरूको पारा कसले र कहिले रोक्ने?’

यतिबेला काठमाडौंका २२ वटा स्थानमा ट्राफिक प्रहरीहरूले नियम मिच्ने पैदलयात्रीमाथि कारबाही चलाइरहेका छन्। जनसेवा, दरवारमार्ग, ठमेल, सोह्रखुट्टे, कमलपोखरी, सिंहदरबार, थापाथली, कालिमाटी, कीर्तिपुर पाँगादोबाटो, कलंकी, नागढुंगा, स्वयम्भु, नयाँ बसपार्क, महाराजगन्ज, बुढानिलकण्ठ, सुकेधारा, बौद्ध, गौशाला, एयरपोर्ट, कोटेश्वर, भक्तपुर (सूर्यविनायक, सल्लाघारी, ठिमी) र जावलाखेलमा पैदलयात्री चेकजाँचमा परिरहेका छन्।

ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार ३ हजार ३ सय ४८ जना पैदलयात्री कारबाहीमा परेका थिए। उनीहरूमध्ये २ हजार १ सय २२ जनाले जनही दुई सय रुपैयाँ तिरेर छुटेका थिए भने ८ सय ४० जनाले तीनघन्टे हिरासत स्वरुप सचेतना तालिम लिएका थिए। त्यसैगरी, बुधबार दिउँसो २ बजेसम्म २ हजार २ सय १२ जना कारबाहीमा परिसकेको महाशाखाले जनाएको छ।

यातायात व्यवस्था ऐन २०४९ को दफा १३६ र १३७ अनुसार यो कारबाही चलाउने अधिकार यातायात विभागले ट्राफिकलाई दिएपछि बढ्दो दुर्घटना नियन्त्रणका निम्ति आफैंले यो कदम चालेको डिआइजी लामाले स्पष्ट पारे।

‘भर्खर मात्रै एक जना पूर्व सचिव र एक जना बहालवाला उपसचिवको पैदल हिँडेकै बेला सडकमै निधन भएको छ,’ उनी भनिरहेका थिए, ‘पैदल यात्रीका निम्ति यहाँ पूर्वाधार छैन भनेर चुप लागेर बस्नुभन्दा पूर्वाधार भएका ठाउँमा नियम पालना गर्न नलगाउने हो भने अराजकता झनै बढेर जान्छ।’

लामाले यति सुनाइसकेपछि एकैछिन दुर्गमबाट आएर काठमाडौंमा यहाँसम्म पुग्दाको संघर्षगाथा पनि बताए। त्यतिञ्जेल नुवाकोटबाट आएकी अर्की चेली आइतीमायाको जनचेतना कक्षा सुरु भइसकेको थियो।

‘के गर्नुपर्ने हो र कतिबेर लाग्ने हो थाहै छैन,’ उनले अनुहार रातो बनाउँदै सेतोपाटीसँग भनिन्, ‘उता वीर अस्पतालमा डाक्टर गइसक्ने होला…’ source:setopati

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update