कपडा सिलाउँदै एमबिबिएस टपर

shyane.com.np | 2:46 PM | 0 comments

काठमाडौं । परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन। दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायत्व थियो।

त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र बिदाको समय सिलाइमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो। जति नै दुःख परे पनि लेटाङ मोरङका सुजितकुमार दर्नालको पढाइको भोक घटेन, बरु बढ्यो। त्यही भोकले विपन्न दलित परिवारमा जन्मिएका उनी डाक्टर बने। त्रिविअन्तर्गत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०.८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए।

नेपालमै सबैभन्दा महंगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएको व्यक्तिका लागि कल्पनाभन्दा बाहिरको विषय थियो। ‘डाक्टर बन्ने त सोचेकै थिइनँ, मेहनतमात्रै गरें,’ सुजितले भने, ‘समयले बाटो देखायो र डाक्टर बनायो।’

तेह्रथुममा जन्मेका गंगाराम २०४५ सालमा लेटाङ झरेपछि नै दर्नाल परिवारको भविष्यको ढोका खुलेको हो। अचल सम्पत्ति नभए पनि गंगारामले हातमुख जोर्ने व्यवस्था गरेरै छोराछोरीलाई स्कुल पठाए। स्थानीय शान्ति भगवती उच्च मावि लेटाङबाट उनको स्कुल शिक्षा प्रारम्भ भएको हो। गाउँटोलमा बाबुसँगै लुगा सिलाउने विद्यार्थीको कक्षाकोठाको प्रस्तुति देखेर शिक्षक हौस्याउँथे तर त्यस प्रेरणाको मर्म उनलाई पत्तो थिएन। शिक्षकको अपेक्षाअनुसार नै उनले २०६५ को एसएलसीमा ७५ प्रतिशत अंक ल्याएर उत्तीर्ण गरे। बाबु गंगारामका लागि यो अनपेक्षित तर हौसलावर्द्धक उपलब्धि थियो।

त्यति बेला गंगारामलाई मधुमेह र उच्च रक्तचापले छोपिसकेको थियो। दीर्घ रोगकै उपचारका क्रममा उनी धेरै अस्पताल धाइसकेका थिए। उनी चिनेका चिकित्सकमार्फत उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान पुगे। त्यहाँ उनले छात्रवृत्तिमा दलित विद्यार्थीका लागि सामान्य चिकित्सा (एचए) पढ्न दुईवटा कोटा भएको थाहा पाए। सरसापटी गरेर उनले छोरालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रवेश परीक्षा दिन लगाए। सुजितले पहिलो नम्बरमै नाम निकाले र एचए पढ्न सोही कलेज रोजे। ‘त्यही नै मेरो डाक्टर हुने यात्रा बन्यो,’ सुजितले भने, ‘त्यसअघिसम्म मलाई डाक्टर पढ्न के गर्नुपर्छ भन्नेसम्म थाहा थिएन।’

सरकारी स्कुलमा पढेका सुजितको अंग्रेजी कम्जोर थियो। एचए पढ्न थालेपछि उनलाई पढ्न सक्दिनँ कि भन्ने लाग्यो तर परीक्षाका नतिजा राम्रा आउन थाल्यो। उनले एचएमा पनि सिटिइभिटीअन्तर्गत सर्वोत्कृष्ट नतिजा ल्याए। एचएच सकेपछि बाबुआमाको इच्छा छोरो जगिर थालोस् र परिवारको भरोसा बनोस् भन्ने थियो तर सुजितको मनले डाक्टर बन्ने सपना देख्न थाल्यो।

उनी केही समय गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा गएर सेवा गरे। उनले बाबुलाई आग्रह गरे, ‘म दुई वर्षसम्म एमबिबिएस प्रवेश परीक्षा तयारी गर्छु, नाम निकाल्न नसकेमात्रै जागिर थाल्छु।’ बाबुले नबोली सहमति दिए। काठमाडौं आएर सुजितले उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको एचएलाई १० जोड २ सँग समकक्ष हुने कोर्स लिए। त्यसमा पनि उनले नै टप गरे।

‘एचए पढेपछि मलाई कुनै एउटा कक्षाभित्र सबैभन्दा राम्रो गर्नसक्छु भन्ने आत्मविश्वास थप्यो,’ उनले भने, ‘त्यसपछि थप सपना देख्न थालें।’ एचएचको पढाइले उनलाई चिकित्सा शिक्षाको फराकिलो बाटोको बोध गरायो।

एचए पढेकालाई त्रिविअन्तर्गत पढ्न बाटो खुल्यो। उनी एउटा इन्स्टिच्युटमा तयारी कक्षामा भर्ना भए। पैसा तिरेर पढ्ने सम्भावन थिएन। शिक्षा मन्त्रालयअन्तर्गतको छात्रवृत्ति कोटामा नाम निकाल्न सके खाना, बसाइँ र किताब किन्ने खर्च भएमात्रै पुग्थ्यो, उनी मरिमेटेर तयारीमा लागे।

तीन महिना पढेपछि उनी एमबिबिएस प्रवेश परीक्षामा सामेल भए, नाम निस्क्यो। अनि सरकारी छात्रवृत्ति कोटामा किस्ट मेडिकल कलेजमा भर्ना भए। छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई कलेजमा पठाउन मन्त्रालयले समय लगाउँछ। उनी कलेज पुग्दा डेढ महिना पढाइ भइसकेको थियो। कलेज जान थालेको १० दिनपछि परीक्षा थियो, किताब थिएन। बाबुआमाको समर्थन थियो तर सहयोग गर्ने क्षमता थिएन। खर्च जोहो गर्न उनी विभिन्न संघसंस्था धाए। पहिलोपटक दलित उत्थान समन्वय समितिले वर्षको ३० हजार सहयोग गर्ने वचन दियो। सो सहयोगले उनले केही पुस्तक किने। सबै पाठ्यपुस्तक किन्न नसक्दा पुस्तकालयका व्यक्तिसँगै विशेष सम्बन्ध बनाएर उनले नियमले दिनेभन्दा बढी पुस्तक लिएर पढे। आजको नागरिकमा खबर छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update