सिंहदरबार छाडेपछि गोलभेंडा फार्ममा फेरियो राज्यमन्त्रीको दैनिकी

shyane.com.np | 5:12 PM | 0 comments

२५ जेठ, काठमाडौं । तीन दिनअघिसम्म झण्डा हल्लाएर कृषि मन्त्रालयमा जान्थिन् राधिका तामाङ । नयाँ सरकार गठनसँगै उनको दिनचर्या फेरिएको छ । कृषि राज्यमन्त्रीबाट बाहिरिएपछि उनी गोलभेंडा फार्ममा भेटिन थालेकी छन् ।

सांसद हुन् उनी तर अतिरिक्त कमाइका लागि गोलभेंडा खेति गर्छिन् । राज्यमन्त्री भएपछि खेतिमा जान पाएकी थिइनन् । बुधबारबाटै उनी काठमाडौं मनमैजुमा रहेको आफ्नो गोलभेडा फार्ममा काम गर्न थालेकी छिन् ।

निवर्तमान राज्यमन्त्री तामाङ भन्छिन्, ‘सरकारमा रहँदा समय थिएन । अब सबै परिवार यही पेशामा आश्रित हुनुपर्ने भएकाले थप जमीन भाडामा लिएर गोलभेंडा फार्ममा समय दिने सोच बनाएकी छु ।’

हाल उनले पाँच रोपनी जग्गा भाडामा लिएर गोलभेंडा खेति गर्दै आएकी छन् । करिब ६ वर्ष भयो उनले यो काम थालेको । श्रीमान डिबी तामाङ काममा बढी खट्छन् ।

गत वर्ष पहिलो साता राज्यमन्त्रीको हैसियतमा सरकारमा सहभागि हुँदै गर्दा राज्यमन्त्री राधिका तामाङ कृषि क्षेत्रमा धेरै सुधार गर्ने सपना बोकेर सिंहदरबार छिरेकी थिइन् । फर्किँदा करिब आधा सपना पनि बल्लतल्ल पुरा गरेको बताउँछिन् । उनी किसानको पक्षमा आफूले चाहेको काम गर्न नसकेको स्वीकार गर्छिन् । तामाङले भनिन्, ‘म अलि बढी नै काम गर्छु भनेर हौसिएर आएको रहेछु भन्ने अनुभुति भएको छ ।’

कुर्सीको बसाइ कष्टकर

करीब १० महिना लामो सत्ताको बसाई उनका लागि कष्टकर बन्यो । कुनै निर्णय गर्ने अधिकार नहुनु, सोचेको केही पनि काम गर्न नपाउनु यस्तै-यस्तै पीडा व्यहोरेर बाहिरिनुपरेको उनको गुनासो छ । राज्यमन्त्री कसैलाई पनि नबन्न उनले सुझाव समेत दिएकी छन् ।

उनको मन्त्रालय भित्रैबाट रासायनीक मल खरिदमा राज्यलाई निकै नोक्सान हुने गरी निर्णय हुँदै थियो । मल खरिद गर्दा राज्यलाई घाटा पार्न हुँदैन भन्दा उनले अप्ठेरो झेल्नुपर्‍यो । ‘यो काण्डमा म मन्त्रालयमा एक्लै लडें । राज्यको हितमा अडान लिँदा सकारात्मक सोच भएका कर्मचारीले साथ दिँदा रहेछन्,’ उनले आफ्नो अनुभूति सुनाइन् ।

राज्यमन्त्रीको दायरा के हो भन्ने कुरालाई ध्यान नदिइ सबै काम गर्छु, सबै समस्याको गाँठो फुकाउँछु भन्ने सोचले पनि समस्या भएको हो की भन्ने महसुस उनलाई भएको छ ।

आफ्नै प्रधानमन्त्रीसँग लड्नुपर्‍यो

राज्यमन्त्रीको जिम्मेवारी के-के हुने हो, त्यो तोकिनु पर्ने राधिकाको सुझाव छ । राज्यमन्त्रीको अधिकार र जिम्मेवारीबारे प्रष्ट नहुँदा उनले आफ्नो कार्यकालभरी पुरै समय संघर्ष गर्नुपर्‍यो ।

यतिसम्म की उनले माघ महिनामा प्रधानमन्त्रीसँगको भेटमा भावुक हुँदै भनिन्, ‘प्रधानमन्त्री ज्यू, मलाई यो स्थितिमा कुकर्मको साक्षी हुनुभन्दा आजै राजीनामा दिएर निस्कने अनुमति दिनुहोस् । म एक्लै भएपनि जनयुद्धमा गरेको प्रतिवद्धताभन्दा बाहिर एक इन्च पनि बाहिर जान सक्दिनँ ।’

त्यो बेला प्रधानमन्त्रीले काम गर्ने वातावरण बनाइदिन्छु, नआत्तिनुस् भनेर सम्झाएका थिए । कृषि मन्त्री उनकै पार्टी माओवादीका गौरीशंकर चौधरी थिए । मन्त्री र राज्यमन्त्रीबीच कुरा मिलेन ।

उनी राज्यमन्त्री भएको कृषि मन्त्रालयले किसान आयोग गठन गर्दै थियो । तर आफूलाई आयोगमा विज्ञको रुपमा को-को राखिँदैछ भन्ने कुरा समेत थाहा नदिइएको उनले गुनासो गरिन् ।

पछि आयोगमा महिला सहभागिताको विषयलाई लिएर प्रधानमन्त्रीसँगै अडान राखिन् । दोस्रो पटक उनले कि जनयुद्धले उठाएको मुद्दा अनुसार ३३ प्रतिशत महिला सहभागिता निश्चित गर्नुस्, होइन भने मैले राजीनामा दिनुपर्छ भनेर अडान राखिन् । त्यसपछि आयोगमा एकजना महिला सदस्य पनि राखिएको तामाङले बताइन् ।

जनअपेक्षा बढी, कर्मचारीको सहयोग कम

उनको बुझाइमा जनताको नजरमा मन्त्री र राज्यमन्त्री समान छन् । उनीहरुबीच पहुँच र अधिकार क्षेत्र पनि बराबर ठानिन्छ । जसको कारण अपेक्षा पनि समान हुन्छ । तर, राज्यमन्त्रीको निरीहता जनतालाई के थाहा ? उनीहरुलाई काम गर्दिएन भन्नेमात्र लाग्छ । त्यतिबेला निकै नमजा लाग्ने राधिकाको अनुभूति छ ।

केही नयाँ काम गरौं भन्दा कर्मचारी संयन्त्रबाट अपेक्षाकृत सहयोग नपाएको उनले बताइन् । किसानलाई क्षतिपूर्ति दिऔं भन्ने प्रस्ताव गर्दा कर्मचारीको साथ नपाएको तितो अनुभव उनमा छ ।

उदाहरण दिँदै राधिकाले भनिन्, ‘यो हिउँदमा हुरीबतासले किसानको करोडौं नोक्सान भयो । तरकारी फार्मका टर्नेलहरु भत्किए । अन्तिम दिनसम्म मसँग जनताले क्षति भयो, सहयोग पाऊँ भनेर निवेदन दिए । त्यस्तो निवेदनको चाङ मेरो टेबुलमा छ । तर उनीहरुलाई थोरै राहतका कार्यक्रम ल्याऔं भन्दा कर्मचारीहरु पैसा छैन भनेर हिँडिरहेका छन् ।’

‘मैले अन्तिम दिनसम्म सचिव, प्रशासनका कर्मचारी खोज्दै किसानहरुलाई केही राहत दिऔँ भनेँ । तर यहाँ त कर्मचारीहरु समाधान भन्दा बढी समस्या खोज्न लाग्दा रहेछन् । क्षतिपूर्ति दिने व्यवस्था छ तर वास्तविक पीडितलाई त्यो क्षतिपूर्ति दिन सकिएन,’ उनले भनिन् ।

कर्मचारीहरुले आफ्नो अधिकार क्षेत्रभित्र पर्दैन र गर्न मिल्दैन भन्दै टार्ने गरेको उनले बताइन् । अधिकार भएकाले पनि जनता अनुकुलको नीति नियम बनान आलटाल गर्ने उनको ठम्याइ छ ।

‘पार्टी र कृषिमा व्यस्त हुन्छु’

राज्यमन्त्रीबाट बाहिरिए पनि उनीसँग पार्टीको जिम्मेवारी छ । पार्टीका निर्देशनहरु पालना गर्ने र संगठन विस्तारमै केन्दि्रत हुने उनको लक्ष्य छ । सांसदको भूमिका पनि निर्वाह गर्नुपर्नेछ । फुर्सदमा आफ्नो गोलभेंडा फार्ममा समय दिने र कृषिलाई सम्मानित पेशा बनाउने उनको योजना छ ।

भाबि योजना सुनाउँदै उनले भनिन्, ‘सांसद नहुँदैदेखि मैले कृषिलाई आम्दानीको स्रोत बनाउँदै आएको छु । कृषि पेशा अंगालेको छु । मसँग एउटा फार्म छ । त्यो फार्मलाई संगाल्छु । यो पेशालाई सम्मानित बनाउनेमा भूमिका खेल्छु ।’onlinekhabar.com

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update