यीनै युवा जो अष्ट्रेलियाबाट नेपाल फर्केर एयरपोर्टको ट्वाइलेट सफा गर्दैछन्

shyane.com.np | 10:55 PM | 0 comments

काठमाडौं,साउन १२ । करिब ३ बर्षअघिको कुरा हो । बिदेश जाँदै थिएँ । अध्यागमनबाट अगाडी बढेर बिमानका लागि कुरेर बस्दै गर्दा शौचालय जानुपर्ने भयो ।शौचालयको नजिक पुग्दा बिदेशीहरु भित्र छिर्ने र प्रयोग नै नगरी फर्कने गर्दै थिएँ । उनीहरु शौचालय निकै फोहोर र प्रयोग नै गर्न नसकिने भन्दै थिए ।मलाई लाग्यो, ‘उनीहरुको देशको एयरपोर्टमा शौचालयका ‘कमोड’ र ‘बेसिन’हरु टिलिक्क टल्कने हुनाले फोहोर लागेको होला, मलाई त चलिहाल्छ नि ।’ भित्र छिरें ।

भित्र त शौचालयको भुईंमा करिब २ इन्च जति तरल पदार्थ जमेको रहेछ । तरल पदार्थ पानी थियो वा मानव मूत्र, राम जाने । गन्ध भने पर्पराउने गरी नाकमा ठोक्किरहेकै थियो । तर, भित्र छिर्नुको बिकल्प थिएन । किनभने बिमान भित्र छिर्न अझै पौने घण्टा जति बाँकी थियो ।

छिरेर निस्कदाँ जुत्ताको आधा भाग त्यही तरल पदार्थमा चोपलिएको थियो । ‘लगेज’ बिमानमा पठाइसकेका हुनाले जुत्ता फेर्न पाइएन, जुत्ता त्यहीँ फालेर खाली खुट्टै यात्रा गर्ने कुरा पनि भएन । दिङदिङ लाग्ने जुत्ता भिरेरै मेरो बिदेश यात्रा शुरु भयो ।

ती फोहोर शौचालय छिर्न आनाकानी गरिरहेका बिदेशी पाहुनाहरुले त्यपछि के गरे होलान् ? मलाई थाहा भएन । उनीहरुका सामु केही बिकल्प थिएन । सायद बिमानमा नछिरुन्जेल ‘खपेर’ बसे होलान्, अनि बिमानमा चढ्ने बित्तिकै हान्निदैं शौचालय पसे होलान् ।

अझ बिडम्बनाको कुरा के हो भने ती दिनहरुमा नेपालका बिभिन्न सम्बन्धित निकायका पदाधिकारीहरु बार्षिक १० लाख पर्यटक भित्र्याउने योजनाहरु बुन्दै थिए– सभा, सेमिनार र गोष्ठीहरुमा । मन खोलेर शौच नै गर्न नपाइने एयरपोर्ट भएको देशमा पर्यटकहरु कसरी आउलान् ? अधिकारीहरुले के सोचेका होलान् ? यी प्रश्न गत जुन २९ गते राति ११ बजेसम्म अनुत्तरित भएर त्रिभुवन बिमानस्थलको आकाशमा मडारिरहे ।

तर, त्यो दिन राति ११ बजेपछि एयरपोर्ट सफाइको जिम्मा लिएर अस्ट्रेलियामा सरसफाई ब्यवसाय गरिरहेका खेम शर्मा बिमानस्थलमा उत्रिए, तब ती प्रश्नका उत्तर एकाएक फेला परे । र, उनका सारथी बनेर आएका थिए गैर आवासीय नेपाली संघ ( एनआरएनए) का बरिष्ठ उपाध्यक्ष भवन भट्ट ।

अहिले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको रुप फेरिएको छ । शौचालयका ‘कमोड’ र ‘बेसिन’हरु टल्किएका छन् । भुईं सफा देखिन्छ । टेबुल र कुर्सीहरु हार मिलाएर राखिएका छन् । सिसाहरुमा दाग देखिदैंन । भित्ताहरु र कुनाकाप्चामा धुलो जमेको छैन । र, माकुराका जालोहरु भेटिदैंनन् । समग्रमा भन्नुपर्दा सामान्य रुपमै अनुभूत गर्न सकिने गरि परिवर्तन भएको छ, अन्तराष्ट्रिय बिमानस्थल ।

भरतपुर, चितवनका स्थायी बासिन्दा खेम बिगत एक दशकदेखि अष्ट्रेलियामा बसोबास गरिरहेका छन् । सन् २००८ मा उनी बिद्यार्थी भिसामा पहिलोपटक अष्ट्रेलिया पसेका थिए ।

‘मैले पनि शुरुवाती दिनहरुमा सिड्नीमा सरसफाई मजदुर कै रुपमा काम गरेको हुँ, पछि मजदुरबाट ब्यवस्थापक हुँदै अन्ततः आफ्नै ब्यवसाय खोलेको हुँ,’ खेमले क्लिकमाण्डूसँग भने ।

अस्ट्रेलियामा रहेको उनको ‘खेम्स क्लिनिङ’ कम्पनीमा हाल ७० जना हाराहारी कामदार छन्, जसले नियमितरुपमा सिड्नीका ‘पब’, अफिस, रेष्टुरेन्टलगायतको सरसफाइ गर्छन् ।

कसरी शुरु भयो बिमानस्थल सफा गर्ने यात्रा ?

खेमको कम्पनीले नेपालमा गरेको पहिलो काम भने भरतपुर बिमानस्थलको सरसफाइ हो ।

‘अष्ट्रेलियामा ब्यवसाय गरेर आफू र आफ्नो परिवारको जिवनयापन सहज बनाएपछि देशको लागि केही काम गर्नुपर्छ भन्ने सोचिरहेको थिएँ, यही शिलशिलामा भरतपुर बिमानस्थल सफा गर्ने जिम्मेवारी लिएँ । आफ्नो गृहजिल्ला पनि भएका कारण मलाई थप जिम्मेवारी बोध पनि भयो,’ खेम भन्छन् ।

भरतपुर बिमानस्थल सफा गरिरहेका उनले आफ्नो कामबाट सरोकारवालाहरुको ध्यान खिच्न सफल भए ।

दैशकै एकमात्र अन्तराष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सफा गर्ने आकांक्षा पलाउनुमा भने उनको ब्यक्तिगत अनुभव पनि जोडिएको रहेछ ।

‘अष्ट्रेलियाबाट नेपाल फर्किने क्रममा बिमानस्थलमा झरेपछि मेरी श्रीमतीले लगाइरहेको लुगा फेरेर कुर्तासुरुवाल लगाउन चाहिन् । तर, चेन्जिङ रुम पनि नभएको र शौचालय पनि एकदमै फोहर भएका कारण उनले लुगा फेर्न पाइनन्’, खेम सम्झन्छन्, ‘त्यो घटना नभएको भए पनि म काम त गर्थें, तर, केही महिना ढिलो भने हुन सक्थ्यो होला ।’

एयरपोर्ट सफा गर्ने चाहना र चेत उनमा पलाए पनि त्यसलाई मूर्तरुप दिन एउटा दरिलो सहयात्रीको आवश्यकता थियो । आफू पनि गैरआवाशीय नेपाली भएकोले गैरआवाशीय नेपालीहरुको संस्था गैरआवाशीय नेपाली संघका बरिष्ठ उपाध्यक्ष भवन भट्ट उनको पहिलो रोजाइमा परे ।

त्यसपछि उनले एनआरएनएका उपाध्यक्ष भट्टलाई फोन सम्पर्क गरे । ‘म पनि एनआरएन, उहाँ एनआरएनएको उपाध्यक्ष । मैले उहाँलाई आफ्नो अभिभावक मानेर सम्पर्क गरेको हुँ,’ उनी भन्छन् ।

उनले फोन गर्दा भट्ट जापानमा गाडी चलाउँदै रहेछन् ।

‘उहाँले गाडी साइड लगाएरै मसँग कुरा गर्नुभयो । भरतपूर विमानस्थल सफाइ बारेको एउटा भिडियो युटुबमा थियो, उहाँले गाडी साइड लगाएर त्यो भिडियो हेर्नुभएछ,’ खेमले प्रष्ट पारे ।

भट्टले सहयोग गर्ने बचन र प्रतिबद्धता जनाएपछि उनले एयरर्पोट सरसफाइको आफ्नो प्रस्ताव ७२ घण्टामै तयार पारे । भट्टले त्यसलाई एनआरएनएको फराकिलो मञ्चको प्रयोगद्धारा नेपालका सम्बन्धित अधिकारीहरुकोमा पुर्याए । र, तत्कालिन पर्यटन मन्त्री, पर्यटन सचिव, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थालका महाप्रबन्धकलगायतको सहयोगमा उनले नेपालको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थलको सरसफाइको जिम्मेवारी लिए ।

एनआरएनएका बरिष्ठ उपाध्यक्ष भट्टको संयोजकत्वमा पर्यटन प्रबद्र्धन समिति छ । त्यो समितिले अतिथि देबो भबः कार्यक्रम संचालन गरिरहेको छ । सो कार्यक्रम अनुसार प्रत्येक गैरआवाशीय नेपालीले एक बर्षमा कम्तिमा ३ जना आफ्ना विदेशी साथीलाई नेपाल घुम्न पठाउनु पर्नेछ ।

उपाध्यक्ष भट्टले अथिति देबो भबः कार्यक्रमबाट आर्थिक सहयोग गर्ने ब्यवस्था मिलाइ दिए । नेपाल पर्यटन बोर्डले पनि केही आर्थिक सहयोग गर्ने ब्यवस्था मिलाइयो । यही आर्थिक स्रोतबाट खेम शर्माको कम्पनीले बिमानस्थल सफाइको काम गरिरहेको छ ।

कसरी संभव भयो महसुस गर्ने गरी एयरपोर्टको सफाइ ?

खेमले के त्यस्तो जादु चलाए, जसले मानिसहरुले एकाएक अनुभुति गर्ने गरी एयरपोेर्ट सफा भयो ? के उनले जिम्मेवारी लिनुभन्दा अघि त्रिभुवन बिमानस्थलमा सरसफाई सम्बन्धि कुनै काम नै हुँदैनथ्यो त ?

यहाँनिर पत्रकार विजयकुमारका शब्दहरु याद आउँछन् । उनले कतै भनेका वा लेखेका छन्, ‘संसारमा ठूलो कुरा भन्ने नै हुँदैन । स–साना कुराको योग हो ठूला कुरा हो ।’

खेम आफैं पनि एयरपोर्ट सफा हुनुको ठूलो जस लिन चाहदैंनन् । हामीले दिनु पनि हुँदैन । नेतृत्वको अक्षमताले सँधै पिल्सिएका कारणले होला, हामी सँधैं ‘गान्डिभ’ धारी ‘अर्जुन’ वा ‘विजयधनुष’ धारी ‘कर्ण’ आएर हामीलाई मुक्ति देओस् भन्ने नै सोच्छौं । नेतृत्वले गर्ने स–साना सुधार हाम्रो प्रतिबद्धतामै पर्दैन ।

नेतृत्वले गर्ने लक्ष्यदार भाषण र त्यस्ता भाषण गर्नेले बटुल्ने जनमतले हाम्रो नेतृत्वप्रतिको दृष्टिकोण र उनीहरुप्रतिको आकांक्षा उजागर गर्छ । ‘बाराक ओबामा, नरेन्द्र मोदी वा यस्तै कुनै नेता हाम्रो देशमा हुनुपर्छ । र, उनीहरुले देशलाई एकाएक बिकासको डौडमा लैजान्छन्’, भन्ने आकांक्षा नेपालमा कुनै नौलो होइन ।

तर, काम त स–साना कुरा सुधारेरै हुने हो । एयरपोर्ट सफाइ त्यसैको पछिल्लो उदाहरण हो । ‘त्यहाँका कर्मचारीहरु पहिले पनि त्यतिकै मेहेनतका साथ काम गरिरहेका थिए, मैले त सामान्य ब्यवस्थापन मात्रै गरेको हुँ,’ खेम भन्छन् ।

वास्तवमा खेमले सरसफाइको जिम्मेवारी लिनुभन्दा पहिले जति कर्मचारी थिए, अहिले पनि त्यति नै छन् । कर्मचारी संख्यामा खासै परिवर्तन भएको छैन ।

‘हामीसँग २५/३० जना कर्मचारी छन्’, उनी भन्छन् ।

खेमले गरेको पहिलो काम भनेको सरसफाइ गर्ने कर्मचारीको मनमा आफ्नो कामप्रति सम्मान जगाउनु रहेछ । काम सानो र ठूलो हुँदैंन भनेर हामीले सँधैं सुनिआएकै कुरा हो । तर, आत्मसात भने सँधैं गर्दैनौं ।

जब खेम आफैं घुँडा धसेर त्यहाँका सिसा र भुँइ टल्काउन थाले तब अन्य कर्मचारीहरुमा पनि आफ्नो कामप्रतिको सम्मान जागृत हुनु स्वभाविकै हो ।

महसुस हुने गरी सरसफाइ हुनुमा केही प्राबिधिक पक्षहरु पनि रहेछन् । सफाइ गर्नका लागि नेपालमा प्रयोग भइरहेका परम्परागत उपकरणहरु भन्दा फरक उपकरण र ‘केमिकल’हरुको प्रयोग गरिएको रहेछ ।

‘सफाइ त पहिले पनि भैरहेको थियो । तर, अन्तर्राष्ट्रियस्तरको थिएन । फरक केमिकलहरु र उपकरणको प्रयोगले राम्रो नतिजा ल्याउन सघाएको मात्रै हो,’ खेम भन्छन् ।

अर्को महत्वपूर्ण प्रबिधिक पक्ष भनेको राति गरिने सरसफाई (आफ्टर आवर क्लिनिङ) पनि रहेछ । एयरपोर्टमा पहिले सरसफाई गर्ने कर्मचारीहरु बिहान ६ बजेदेखि राति ११ बजेसम्म खटिने रहेछन् । त्यो समयमा यात्रुहरुको चापका कारण राम्रोसँग सफाइ गर्न कठिनाइ हुनु स्वभाबिकै थियो । अहिले सफाइको समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म हुन्छ ।

‘आफ्टर आवर क्लिनिङ’मा कुनै अवरोध नआउने हुनाले मस्तसँग काम गर्न पाइने र नतिजा आउने खेमको अनुभव छ । ‘दिनमा गर्ने सफाइ भनेको त फोहर टिपन टापन गर्ने मात्र हो,’ उनी भन्छन् ।

सरसफाइको आर्थिक आयाम

सरसफाइ भनेको वातावरण र मानव स्वास्थ्यको बिषय मात्र नभएर आर्थिक संभावना भएको क्षेत्र पनि हो । उदाहरणको लागि अष्ट्रेलियामा सरसफाइको क्षेत्र भनेको तेस्रो वा चौथो ठूलो आर्थिक क्षेत्र हो, जहाँ हजारौं रोजगारी सृजना भएका छन् । हरेक कार्यालय, रेष्टुरेन्ट, संघ संस्थालयायतको बजेटको महत्वपूर्ण हिस्सा सरसफाइले ओगटेको हुन्छ ।

उच्च बेरोजगारीे दर रहेको र रोजगारीका लागि दैनिक हजारौं नागरिक बिदेश जाने समस्या रहेको नेपालमा सरसफाइको क्षेत्रले धेरै रोजगारी सृजना गर्न सक्छ । तर, यसका लागि राष्ट्रिय सरसफाइ मापडण्ड बन्नु जरुरी रहेको खेमको बुझाइ छ ।

‘हरेक जिल्लामा सरसफाइ अधिकृतहरु खटाइनुपर्छ, जसले सबै सार्वजनिक संस्थाहरुको सरसफाइको अनुगमन गर्छन् र सरोकारवालाहरुलाई सरसफाइमा बिशेष ध्यान दिन बाध्य तुल्याउछन्’, उनी भन्छन् ।

एनआरएनएको औचित्य पुष्टी

एनआरएनएको बारेमा नेपालमा केही भनाइहरु चर्चित छन्ः बिदेशमा दाम कमाएर नेपालमा नाम कमाउन आएकाहरु, कुरा धेरै र काम थोरै गर्ने जमातहरु आदि ।

तर, नेपाल पस्ने एकमात्र बिमानस्थललाई अन्तर्राष्ट्रियस्तरको सरसफाइ गरेर एनआरएनएले आफूलाई कुरा मात्र नभएर काम पनि गर्ने संस्थाको रुपमा दह्रोसँग उभ्याएको छ । साथै, नेपालका अधिकारीहरुलाई पनि अवसर र सहयोग पाए बिदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्न सकिने सन्देश पनि दिएको छ । -क्लिकमान्डुबाट

http://ift.tt/2v1wIc5

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update