दाङमा बम समात्ने हवल्दारको यस्तो छ रामकहानी

shyane.com.np | 11:32 AM | 0 comments

असार १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचनका क्रममा एकजना प्रहरी निकै चर्चामा आए । निकै बहादुरीका साथ आफ्नो कर्तव्य निर्वाह गरेकाले उनले चर्चा र लाखौँ नेपालीको धन्यवाद पाएका हुन् । उनी अर्थात्, सल्यान शारदा– १ सिनेनगरका दुर्गाबहादुर राना । दुर्गाबहादुर उनै प्रहरी हवल्दार हुन्, जसले दाङ, तुलसीपुर उपमहानगरपालिका–३ अम्बासस्थित श्री आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको समयमा प्रहार भएको बम हातैले समाएर फ्याँकेका थिए । बम फ्याँकेर सम्भावित दुर्घटनाबाट मतदान गर्न लामबद्ध नागरिकलाई बचाएका दुर्गाबहादुरको बहादुरीको चर्चा त्यसपछि नै चुलिएको हो । उनले बम कसरी फ्याँके, त्यसपछिको चर्चा र उनको व्यक्तिगत जीवनबारेकृष्ण आचार्यले तयार पारेको सामग्री आजको नयाँ पत्रिकामा छापिएको छ ।

केही नसोची बम समातेर फ्याँकेँ
बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । ७ बजेदेखि नै मतदाता आउने जाने क्रम चलिरहेको थियो । उहाँहरूको सुरक्षाका लागि हामी २५ जना सुरक्षाकर्मी खटिएका थियौँ । दुई घण्टा शान्तिपूर्ण ढंगले मतदान चल्यो । त्यसपछि करिब साढे ९ बजे मतदानस्थलमा कतैबाट कसैले बम प्रहार गर्यो । मोटर साइकलमा आएका अज्ञात व्यक्तिहरूको समूहले मतदान स्थललाई टार्गेट गरेर बम फ्याँकेको थियो । मतदान गर्न लाम लागेका महिला र पुरुषको लाइनको बीचमा आएर उनीहरूले फ्याँकेको बम खस्यो । बम भुइँमा खस्नासाथ आवाज आयो । म बमदेखि करिब एक मिटरको दूरीमा थिएँ । त्यो बम नै हो भन्ने आँकलन गर्न मलाई समय नै लागेन । त्यो सकेट बम थियो । जुन जलिरहेको थियो । केही सेकेन्डमै विष्फोट हुनेवाला थियो । मैले केही नसोची त्यसलाई हातले समातेर २५ मिटर पर खाली ठाउँमा फालेँ । बम भुइँमा खसेको ५ सेकेन्डभित्र मैले फालिसकेको थिएँ होला । कतिपय मिडियामा भुइँमा नखस्दै समातेको भन्ने पनि आएछ । तर, त्यो सत्य होइन ।

मतदानका लागि बुथमा करिब चार सय मतदाता हुनुहुन्थ्यो । बुथलाई मेन प्वाइन्ट बनाएर बम फालिएकाले त्यहाँ ठूलै क्षति हुन सक्थ्यो । मलाई बमको विषयमा केही जानकारी भएकाले समयमै फ्याक्न सकेँ र धेरैको ज्यान बचाउन सफल भएँ ।

पड्किएपछि बल्ल होस खुल्यो
मेरैअगाडि बम देखेपछि मेरो होस नै हराएको थियो । मैले केही कुरा सोच्नै सकेको थिएन । मलाई यो बम हो र केही समयमा पड्किन्छ भन्ने कुरा मात्र याद थियो । त्यसैले हतार नगरी त्यसलाई फ्याँके । बम खाली ठाउँमा गएर पड्किएपछि बल्ल मेरो होस खुल्यो । बम खसेकै भुइँमा पड्किएको भए, या मेरो हातमै पड्किएको भए मेरो के हालत हुन्थ्यो होला ? भन्ने सोचेँ । त्यसो भएको भए मलगायत त्यहाँ धेरैको ज्यान जान सक्थ्यो । कति घाइते हुन्थे । योबाहेक मलाई खुसी पनि लाग्यो । किनकि, मैले मलाई दिइएको जिम्मेवारी निभाएको थिएँ । म त्यहाँ मतदाताको जिउज्यानको सुरक्षाका लागि खटिएको थिएँ । यस्तो अवस्थामा आफ्नो ज्यानै दिएर भए पनि उहाँहरूको सुरक्षा गर्नु मेरो कर्तव्य हो । जसलाई मैले पूरा गरेँजस्तो लाग्छ ।

काजमा खटिएको थिएँ दाङ
स्थानीय तहको चुनावका लागि म काजमा दाङ गएको थिएँ । खासमा मेरो दरबन्दी काठमाडांै, सामाखुसीमा थियो । चुनावको सुरक्षामा खटिनुअघि म एक मन्दिरको सुरक्षामा खटिएको थिएँ । म ०६० सालदेखि प्रहरी संगठनमा आबद्ध छु । सुरुदेखि नै काठमाडौं छु । महानगरीय प्रहरी कार्यालयले दिएको जिम्मेवारी मैले सफलताका साथ निभाइरहेको थिएँ । प्रहरी संगठनमा आबद्ध भएदेखि मेरो कार्यक्षेत्र काठमाडौं नै छ । नेपालगन्ज तालिम केन्द्रबाट छनोट भएर आएपछि मलाई काठमाडौं खटाइएको हो । त्यसपछि जेजे जिम्मेवारी दिइएको छ, मैले त्यसलाई निभाउँदै आएको छु । यसअघि मेरो कहीँकतै चर्चा पनि भएको थिएन । न मैले चर्चा पाउने त्यस्तो कुनै काम नै गरेको थिएँ । भनौँ भने त्यस्तो कुनै अवसर पनि पाएको थिइनँ । तर, दाङमा मैले केही गर्ने मौका पाएँ र गरेँ पनि । जसबाट म निकै सन्तुष्ट छु ।

चारैतिर वाहवाही भयो
तुलसीपुरको घटनापछि चारैतिर मेरो चर्चा भइरहेको छ । जुन चर्चा अहिलेसम्म पनि छ । धेरैले फोन गरेर बधाई दिनुहुन्छ । मलाई निकै खुसी लाग्छ । प्रहरी सेवामा लागेपछि पाउनुपर्ने भनेको पनि यही कुरा होजस्तो लाग्छ । केही गरौँ, सबैले चिनून्, चर्चा होस् र सम्मान पाइयोस् भन्ने सबैको चाहना हुन्छ । कतिपय गलत कामले पनि चर्चामा आएका छन् । तर, हामीले देश र जनताका लागि केही गरेर चर्चामा आउन सक्नुपर्छ ।

मतदान केन्द्रमा मतदाताको ज्यान बचाएपछि मलाई तत्काल त्यहाँ उपस्थितहरूले धन्यवाद दिनुभयो । साँझ मतदान सकेपछि फूलमालाले सम्मान गरेर मलाई नगरपरिक्रमा गराइयो । गृहमन्त्री, चिफसाब, गण प्रमुख, मेट्रो प्रमुख, डिआइजीहरूले फोन गरेर बधाई तथा धन्यवाद दिनुभयो । त्यतिवेला मलाई साँच्चिकै संगठनले दिएको जिम्मेवारी पूरा गरेँछु भन्ने लाग्यो ।

त्यो दिन त मलाई फोनमा बोल्ने फुर्सद नै थिएन । पत्रकारहरूले उत्तिकै फलो गरिरहनुभएको थियो । गृहमन्त्रीले फोन गरेर, ‘ल तिमीलाई बधाई छ । धेरै साहसी काम गरेका छौ,’ भन्नुभयो । पछि म काठमाडौं आएपछि उहाँसँग भेट पनि भयो । त्यसवेला पनि उहाँले मेरो खुलेर प्रशंसा गर्नुभयो । त्यस्तै, मैले महानगरीय प्रहरी कार्यालयबाट पनि सम्मान पाएँ ।

जुन जिम्मेवारी दिइन्छ, निर्वाह गर्छु
म अहिले परराष्ट्र मन्त्रालयमा छु । यहाँ मैले मन्त्रीज्यूको सुरक्षाको जिम्मेवारी पाएको छु । परराष्ट्रमा मन्त्रीज्यू आएसँगै सुरक्षा चाहियो भनी माग गरिएको रहेछ । संगठनले त्यहाँ मलाई खटायो । यसमा तुलसीपुरको घटनाले पनि केही प्रभाव पारेको छजस्तो लाग्छ । आफूले यति ठूलो जिम्मेवारी पाउँदा निकै खुसी छु ।

खासमा मैले यहाँ मन्त्रालयमा को र कस्ता व्यक्ति आउँछन् हेर्ने, मन्त्रीलाई भेट्न आएका मान्छेलाई फलो गर्ने, वेटिङ रुममा राख्ने, उहाँहरूलाई सुरक्षा दिने, सचिव, उप–सचिवलाई सहयोग गर्ने जिम्मेवारी पाएको छु । संगठनका सरहरूले ‘तिमीले साह्रै राम्रो काम गरेका छौ, तिम्रो उचित मूल्यांकन हुन्छ’ भन्नुभएको छ । तर, मेरो कुनै स्वार्थ छैन । न त मेरो कुनै माग नै छ । जेका लागि, जहाँ खटाइन्छ, जुन जिम्मेवारी दिइन्छ त्यो निर्वाह गर्न म सधैँ तयार छु ।

पढ्न नसकेर प्रहरीमा लागेँ
मेरो जन्म ०३६ सालमा सल्यान शारदा– १ सिनेनगरमा भएको हो । मैले एसएलसीसम्म त्यही पढेँ । म पढाइमा खासै तेज थिइनँ । जसोतसो ०५६ सालमा एसएलसी पास गरेँ । एसएलसीपछि आइए पनि भर्ना भएँ । तर, पढाइ राम्रो भएन । ब्याक लाग्यो । सामान्य गाउँले परिवारमा जन्मिएको मान्छे भएकाले मेरो त्यस्तो ठूलो कुनै सपना थिएन ।

घरपरिवारले भने पढाइमा ध्यान दिनुपर्छ भन्नुहुन्थ्यो । तर, नसकेपछि अब के गर्ने भन्ने चिन्ता भयो । परिवारका सदस्यले पनि मेरो चिन्ता गर्न थाले । गाउँमा कुनै कुराको स्कोप थिएन । त्यति नै वेला प्रहरीमा जागिर खुल्यो । मैले निवेदन दिएँ । नेपालगन्ज तालिम केन्द्रमा बाँकी प्रक्रिया पूरा गर्नुपर्ने भयो । र, म छनोट भए । खासमा म पढ्न नसकेर प्रहरीमा लागेको हुँ ।

छोराछोरीलाई धेरै पढाउने मन छ
मेरो घरमा बुवाआमा, श्रीमती, दुई छोरा र एक छोरी छन् । सबै सल्यानमै बस्छन् । सुरुका दिनमा घरपरिवारबाट टाढा हुँदा कस्तो जागिर खाएँछुजस्तो लाग्थ्यो । तर, बिस्तारै बानी पर्दै गयो । जनताको जिउधनको सुरक्षा गर्दा मलाई छुट्टै मजा लाग्न थाल्यो ।

पछि परिवारभन्दा देश र आफूभन्दा आफ्नो जिम्मेवारी महत्वपूर्ण लाग्न थाल्यो । र, असन्तुष्टिका पोकाहरू फुट्दै गए । मेरा दुई छोरामध्ये एउटाले अहिले काठमाडौंमै बसेर अकाउन्ट विषयमा १२ को परीक्षा दिएको छ । एउटा छोरा र छोरी भने गाउँमै छन् । कान्छो छोरो ८ र छोरी ३ कक्षामा पढ्छन् । मलाई उनीहरूलाई धेरै पढाउने मन छ । आफूले पढ्न नसके पनि पढेर उनीहरू ठूलो मान्छे भएको हेर्न मन छ । इच्छा, चाहनाअनुसार जे–जस्तो पढ्छु भन्छन्, दुःख गरेर त्यसैअनुसार पढाउने संकल्प लिएको छु । राम्रो विषय, राम्रो कलेज र राम्रो ठाउँमा पढाउन थेरै खर्च लाग्छ । तर, पनि दुःख गरेर छोराछोरीलाई शिक्षित बनाउन चाहन्छु ।

जनताको सुरक्षा गरिरहन चाहन्छु
मेरो त्यस्तो कुनै विशेष सपना छैन । मलाई संगठनले दिएको जिम्मेवारी पूरा गर्न पाए पुग्छ । सधैँभरि यसैगरी जनताको जिउ–धनको सुरक्षा गर्न पाइरहूँ भन्ने लाग्छ । यसमा नै म खुसी र सन्तुष्ट छु । साथीहरूलाई पनि चतुर्याइँपूर्वक ड्युटीमा खटिनुस् भन्न चाहन्छु । हामी प्रहरीको जिम्मेवारी भनेकै देश र जनताको सुरक्षामा खटिने हो । त्यसमा हामी कटिबद्ध भएर लाग्नुपर्छ । म जीवनभर जनताको जिउ–धनको सुरक्षा गरिरहन चाहन्छु ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update