८६ बाट ५२ किलोमा झरेकी सञ्चिता भन्छिन् दुब्लाउन गाह्रो छैन

shyane.com.np | 10:18 PM | 0 comments

‘मोटोपन कसरी घटाउने?’, ‘मोटोपनका कारण चिन्तित हुनुहुन्छ?’

यदि यसो हो भने, तपाईंलाई अभिनेत्री सञ्चिता लुईंटेलको अनुभव गज्जबको टिप्स बन्न सक्छ!

ठ्याक्कै एक वर्षको अन्तरमा दुई बच्चालाई जन्म दिएकी सञ्चिता सुत्केरी भएपछि ८६ किलो पुगेकी थिइन्। अहिले उनको तौल हो– ५२ किलो।

सञ्चिता पहिलेजस्तै देखिन्छिन्। गर्भवती हुनुअघि उनको अनुहारको चमक जस्तो थियो, त्यत्तिकै चमक अहिले देखिन्छ। शरीर उस्तै ‘स्लिम’ छ।

अचेल जहाँ पुगे पनि सञ्चितालाई सौन्दर्य र फिटनेसको रहस्यबारे सोध्ने कोही न कोही भेटिन्छन्। धेरैले भन्दा रहेछन्, ‘पहिले–पहिलेको फिल्म हेर्दा जस्तो देखिनुहुन्थ्यो, अहिले पनि त्यस्तै देखिनुहुन्छ।’

सञ्चितातिर इशारा गर्दै मान्छेहरु खासखुस गर्छन्, ‘कस्तो उज्यालो अनुहार!’

यसो भन्दा सञ्चितालाई खुसी लाग्छ। वास्तवमा उनको सुन्दरता र फिटनेसको राज अरु केही नभइ यही खुसी हो। उनलाई खुसी हुन ठूलो बहाना चाहिँदैन।

‘खुसी हुन आफूलाई प्रेम गर्न जान्नुपर्छ,’ उनी भन्छिन्, ‘आफू जस्तोसुकै होस्, आफ्नो शरीरलाई माया गर्नुपर्छ। आफूलाई विश्वास गर्नुपर्छ। आफैंलाई विश्वास गर्ने मान्छे कहिल्यै दुःखी हुँदैन। म आफ्नो शरीरलाई प्रेम गर्छु। मैले आफू झन्डै ९० किलो पुग्दा पनि कहिल्यै चिन्तित भइनँ। त्यो थिलथिलो शरीरलाई माया गरेँ। यो शरीरलाई अहिले जति माया गर्छु, मोटो भएका बेला त्यति नै माया गर्थें।’

नेपाली फिल्मक्षेत्रमा सञ्चिताको जस्तो अनुहारलाई सुन्दर भन्ने मानक अझै व्याप्त छ। विस्तारै त्यो मानक भत्किने क्रममा रहे पनि आर्यन अनुहार, छरितो शरीर, त्यति दुब्लो पनि हुनुहुँदैन, मोटो शरीर भएकीलाई त नायिकाको रुपमा अझै स्वीकारिँदैन। त्यसैले पर्दामा नायिकाको भूमिका निभाउने अधिकांश अभिनेत्रीहरु अझै पनि यो मानकलाई प्राथमिकतामा राखेर ‘लुक्स मेन्टेन’ गर्छन्।

अधिकांश अभिनेत्रीहरु आमा भइसकेपछि फिल्मक्षेत्रबाट हराएका उदाहरण छन्। फिल्मक्षेत्रमै फर्किए पनि चरित्र अभिनेत्री बनेका छन्। त्यसैले नायिकाको भूमिका निभाउने अधिकांश अभिनेत्रीहरु ढिलो बिहे गर्छन्। घरव्यवहारले गाँज्ने कारण मात्र नभइ ‘शरीर बिग्रने डर’ले पनि बिहे गर्दैनन्। गरिहाले पनि ढिलो सन्तान जन्माउँछन्।

तर, सञ्चितालाई भने यी कुराको डर थिएन। ‘डर भएको भए जम्मा एक वर्षको अन्तरमा दुइटा बच्चा जन्माउने थिइनँ,’ भन्छिन्, ‘मैले भविष्यको चिन्ता लिइनँ। मैले त्यो सिचुएसनसँग इन्जोय गरेँ। म बच्चाहरुसँग रमाएँ। आफ्नै शरीरसँग रमाएँ। बच्चाहरुलाई जति माया गरिन्छ, त्यत्तिकै माया आफ्नो शरीरलाई गर्नुपर्छ भन्ने सिकेँ।’

जतिबेला सञ्चिताले बिहे गरिन्, त्यतिबेला उनी चल्तीकै नायिकामा दरिइसकेकी थिइन्। पहिलो बिहे असफल भयो। पछि निखिल उप्रेतीसँग दोस्रो बिहे गरिन्। बिहेअघि र पछिका केही वर्ष निखिल फिल्ममा देखिएनन्। सञ्चिता भने चलिरहेकी थिइन्। त्यसैबेला उनको सन्तान जन्मियो। पहिलो सन्तान जन्मिएको ठ्याक्कै वर्ष दिनमा दोस्रो सन्तानले जन्म लियो। त्यो चार वर्ष उनी फिल्मक्षेत्रमै देखिइनन्।

सञ्चिताको भनाइमा उनले त्यो चार वर्ष ढुक्कैले फिल्मक्षेत्रलाई बिर्सिदिइन्। सुत्केरी भएको समयमा पनि सञ्चितालाई गर्भवती, मोटी गृहिणीजस्ता भूमिकामा अभिनय गर्न अफर आएका थिए रे। तर, उनले बच्चालाई नै समय दिइन्।

हामीले हलिउड/बलिउडका अभिनेत्रीका गसिप/समाचार सुन्दै आएका छौं, उनीहरु करियर बिग्रने डरले चाँडै सन्तान जन्माउँदैनन्, जन्माइहाले पनि लामो समयसम्म बच्चालाई स्तनपान गराउँदैनन्। उनीहरुको मान्यतामा यसो गर्दा शरीर बिग्रने, शरीर बिग्रिए करियर बिग्रन्छ!

सञ्चिताको अनुभवले भन्छ, बच्चा जन्माउँदैमा, स्तनपान गराउँदैमा शरीर बिग्रिँदैन। ‘आमाले सन्तानलाई जन्म दिएर मात्र पुग्दैन, पालनपोषण पनि गराउनुपर्छ,’ उनको अनुभव छ, ‘स्तनपान गराएर शरीर बिग्रिँदैन। बरु बच्चालाई जति धेरै स्तनपान गरायो, आमाको शरीर झन् तन्दुरुस्त बन्छ।’

बच्चा जन्मिएको केही वर्षपछि उनले ‘नाईं नभन्नु ल ३’ बाट अभिनयमा ‘कमब्याक’ गरिन्। त्यसमा गर्भवतीको भूमिका थियो उनको। त्यतिबेला उनले तौल घटाउने अभ्यास भर्खरै सुरु गरेकी थिइन्। बीचमा सञ्चिता फेरि मोटाइन्। यसैबीच ‘राधा’ को अफर आयो। त्यतिबेला अहिलेजस्तो ‘स्लिम’ भइसकेकी थिइनन्। अझ, फिल्ममा पनि मोटी युवतीको चरित्र परेकाले मोटोपनले सहयोग नै ग¥यो।

जब दुवै बच्चा स्कुल जान थाले, सञ्चिता आफ्नै शरीरसँग खेल्न थालिन्।

उनले शरीरलाई प्रेम गर्नुपर्छ भनेको त यही पो रहेछ!

राति सकेसम्म चाँडै सुत्थिन्। बिहान साढे चारदेखि पाँच बजेभित्र उठिसक्थिन्। एक लिटर पानी पिउँथिन्। दुधको चिया या कफीमा बन्देज लगाएकी थिइन्। कालो चिया या कफी मात्र उनको ‘मेनु’मा हुन्थ्यो। घरको छत या बाहिर केहीबेर हलुका हिँड्थिन्।

उठिसकेपछि बच्चाका लागि खानपिन तयार गर्थिन् र उठाउँथिन्। उनले सिकेको कुरा हो, बच्चा सुतिरहेको छ भनेर धेरै सुत्न दिनुहुँदैन। बच्चालाई कति निद्रा भए पुग्छ, त्यो ख्याल गर्नुपर्छ।

सन्तान भएपछि सञ्चिताले बुझेको अर्को कुरा हो, सन्तान हुर्काउनु भनेको नयाँ कुरा जान्नु हो। बच्चालाई सिकाउँदा आफूले पनि धेरै कुरा सिकेको उनको अनुभव छ।

त्यो सिकाइ कस्तो थियो भने, बच्चा स्कुल गइसकेपछि बिहान दुई घन्टा ‘फिटनेस सेन्टर’मा बिताउँथिन्। ८६ किलोको शरीर बोकेर फिटनेस सेन्टर धाउन थालेकी उनी बिस्तारै घट्दै गइन्। त्यहाँ मोटोपन घटाउन आउने उनीजस्ता थुप्रै थिए। तर, सञ्चिता र उनीहरुमा फरक के थियो भने, अधिकांशमा मोटोपनको चिन्ता थियो। सञ्चिता भने मोटोपनसँग ‘इन्जोय’ गरिरहेकी थिइन्।

उनको भनाइमा फिल्मक्षेत्रमा नायिकाको भूमिकामा फर्किने हतारो थिएन। त्यो हतारोमा आफ्नो शरीरलाई रातारात घटाउने सोच उनको थिएन। उनको मनमा मोटोपन घटाउनुपर्छ भन्ने त थियो, तर यो समयमा यति किलोमा झार्नैपर्छ भन्ने अठोटचाहिँ थिएन। उनी त व्यस्त बन्न चाहन्थिन्। उनलाई लाग्थ्यो, व्यस्त भइराख्नु भनेको खुसी आर्जन गर्नु पनि हो।

‘मैले म हिरोइन हुँ र मैले आफ्नो वेट मेन्टेन गर्नुपर्छ भन्ने दबाव मनमा राखेर तौल घटाएको होइन,’ उनी भन्छिन्, ‘म गर्भवती हुँदा मोटाउँदैछु भन्ने थाहा थियो। त्यतिबेला पनि मेरो मनमा म हिरोइन हुँ भन्ने आएन। मलाई आमा बन्दैछु भन्ने मात्र महसुस भयो। मैले शरीरलाई उसकै गतिमा मोटाउन दिएँ। पछि पनि म अभिनेत्री हुँ र मैले तौल घटाउनुपर्छ भन्ने सोचेको होइन। शरीरमा के भइरहेको छ ख्याल गर्नुपर्छ र त्यसैसँग खेल्नुपर्छ। यसबीचमा मैले के सिकेँ भने बिरामी हुँदा पनि शरीरसँग खेल्न सकिन्छ।’

जब सञ्चिताको मोटोपन घट्दै गयो– फिटनेस सेन्टरमै उनी उदाहरणको पात्र बनिन्। धेरैले ‘कति चाँडै मेन्टेन गरेको’ भन्न थाले। ‘खुसी भनेको यस्तै बेला मिल्थ्यो,’ उनी भन्छिन्, ‘जब अरु मान्छे मेरो बारेमा कुरा गर्थे मलाई खुसी लाग्थ्यो।’

करिब ६ महिनाबीचमै सञ्चिताको मोटोपन घट्यो र उनी लगभग पहिलेकै अवस्थामा फर्किइन्। तर, उनले ‘फिटनेस अभ्यास’ बाटै शरीरलाई यो अवस्थामा ल्याएकी भने होइनन्।

फिटनेस अभ्यासमा जति रमाउँथिन्, उनी आफू एक्लै हुँदा पनि अनेक क्रियाकलाप गरिरहन्थिन्। फुर्सद हुँदा कि किताब पढ्थिन्, कि फिल्म हेर्थिन्। त्यो आफैंसँगको खेल थियो, आफूलाई व्यस्त बनाउने खेल।

उनले यसबीचमा गहिरोसँग बुझिन्, मन र शरीरबीच ठूलो सम्बन्ध छ। मानसिक रुपमा स्वस्थ÷अस्वस्थ जे भए पनि त्यो शरीरमा देखिन्छ। शरीरको स्वस्थता/अस्वस्थताले मनलाई पनि असर पार्छ। जस्तो अहिले अधिकांश मानिसमा देखिएको मोटोपनले उनीहरुलाई मानसिक रुपमा विचलित बनाएको छ। मोटोपनले निम्त्याउने रोगहरु त छँदैछन्। ती रोगले मनलाई झनै प्रभाव पार्ने भइहाले।

बच्चाहरु स्कुल जानुअघि र स्कुलबाट फर्किइसकेपछि उनको खेलमा दुई साथी थपिन्थे। आफूसमेत तीन खेलाडी घरमा अनेक खेल खेल्थे। रमाउँथे।

त्यो खेल कस्तो भने, सञ्चिता आफ्नो र बच्चाका लागि खाना बनाउँथिन्। बच्चाहरु पनि उनको खेलमा सहभागी हुन्थे। जस्तो– उनी रोटी बेल्न थाल्थिन्, दुई बच्चा हानथाप गर्दै रोटी बेल्न खोज्थे। सञ्चिता पालैपालो सिकाउँथिन्। सञ्चिताले बुझिन्, सन्तान हुर्काउनु भनेको उनीहरुलाई पढाउनु पनि हो। आमाबाटै उनीहरुले घरव्यवहारका कुरा सिक्छन्। सञ्चिताका यस्ता क्रियाकलापमध्ये अधिकांश खानपानसँग सम्बन्धित थिए। सञ्चिता एक व्यक्तिको खेलले तीन व्यक्ति स्वस्थ भए।

मोटोपन घटाउने नाममा उनले कहिल्यै खाना खान छोडिनन्। खानपानका लागि उनले त्यति खर्चिलो विधि रोजेकी पनि होइनन्। उनले अपनाएको विधि पुरै घरायसी विधि हो।

‘मोटोपन घटाउन खाना नखानु हुँदै होइन,’ उनी भन्छिन्, ‘शरीरलाई जसरी व्यस्त बनाउनुपर्छ, मुखलाई पनि त्यत्तिकै व्यस्त बनाइराख्नुपर्छ। म दिनको चार/पाँचपटकसम्म खान्छु। साथीहरुले पार्टीमा बोलाउँदा म आफूलाई खुलेर खान रोक्दिनँ।’

यतिका वर्षको अनुभवका आधारमा अब सञ्चिता फिटनेस र खानपानको टिप्स दिन सक्ने भइसकेकी छन्। उनको भनाइमा पार्टीमा टन्न खाए पनि पछुतो मान्नुहुँदैन। बरु त्यसको भोलिपल्ट के खाने के नखाने भन्ने छुट्याउन सक्नुपर्छ। सके व्रत बस्नु तर, पानी प्रशस्त पिउनु। नसके फलफूल या हलुका खाना खानु। अनुहारमा चमक ल्याउन सञ्चिता नियमित फलफूल खान्थिन्।

अहिले सञ्चिता ढुक्कले भन्न सक्छिन्, मोटाउन या दुब्लाउन केही गाह्रो छैन। ‘गुनगुन भन्ने फिल्ममा पछिल्लो लुक्समा देखिँदैछु, अर्थात् मेरो तौल घटेपछिको पहिलो अभिनय हो,’ उनले थपिन्, ‘म अहिले पुरा विश्वासका साथ भन्न सक्छु, मलाई ९० किलो बन्नुपर्ने भूमिका आयो भने पनि म सजिलै मोटाइदिन सक्छु।’

मोटोपनको चिन्तामा बसेकालाई सञ्चिताको यो भनाइ आँट हुन सक्छ! उनको भनाइमा मोटोपन घटाउनु भनेको एउटा ठूलो लक्ष्य प्राप्तिसरह हो। जसरी लक्ष्य पुरा गर्न बिभिन्न योजना बुनिन्छ, मोटोपन घटाउनुछ भने त्यसरी नै योजना तय गर्नुपर्छ। तर, धेरै महत्वाकांक्षी बन्नुहुँदैन। आफूले सोचेअनुसारको भएन भने चिन्तित बन्नुहुँदैन। यो लक्ष्य प्राप्त गर्ने बुँदाहरु हुन्– पहिले आफ्नो समयतालिका बनाउने। त्यसमा उठ्ने समय तोकिनु सबैभन्दा महत्वपूर्ण कुरा हो। आफ्नो निद्राअनुसार सुत्ने र उठ्ने अनुशासन बनाइनुपर्छ। उठिसकेपछि र सुत्नुअघिको समय आफूलाई व्यस्त बनाइराख्ने। यसमा खानपानको भूमिका महत्वपूर्ण हुने सञ्चिताको भनाइ छ। शरीरको ख्याल गर्नेहरुले कुन खानामा कस्तो तत्व पाइन्छ र त्यो खाँदा शरीरलाई के प्रभाव पर्छ, त्यो जान्नुपर्छ। सकेसम्म घरमै बनाएर खानु राम्रो। उनको अनुभवमा यसका थुप्रै फाइदा छन्। जस्तो– आफू व्यस्त भइन्छ। आफैंसँग खेलिन्छ। ध्यान एकत्रित गर्न सघाउ पुग्छ। खाना पकाउने कला जानिन्छ। र, अर्को महत्वपूर्ण कुरा त स्वस्थ खाना भइहाल्यो। कुन खाना कसरी पकाएर खाँदा शरीरलाई फाइदा/बेफाइदा के गर्छ त्यो भने जान्नुपर्ने उनको बुझाइ छ। रोग नलागे पनि बेला–बेला स्वास्थ्य जाँच गराइराख्नुपर्ने उनको सुझाव छ।

‘यी सबै गर्नु सजिलो काम होइन,’ सञ्चिताको अनुभव छ, ‘तर, गाह्रो पनि फिटिक्कै छैन। मलाई पनि सुरुका दिनमा अल्छी लागेको थियो। जब मैले आफूलाई अनुशासनमा राखेँ, सुरुका दिन गाह्रो थियो। तर, विस्तारै म त्यससँग रमाउन थालेँ। धेरैलाई मैले गरेको यो विधि खर्चिलो र झन्झटिलो लाग्ला। खर्चिलोको कुरा गर्ने हो भने आममानिसले आफ्नो खानामा जति खर्च गर्छन्, त्योभन्दा बढी गरेकै छैन। झन्झटिलोको कुरा गर्दा, सुरुका दिन मात्र झन्झटिला हुन्, केही दिनमै रमाइला दिन सुरु भइहाल्छन्।’

साभार : सेतोपाटी

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update