दुवै हात नभएका नायव सुब्बा भन्छन्– गरिखान हातै चाहिन्छ र ?

shyane.com.np | 2:49 PM | 0 comments

कुहिनामुनि दुवै हात छैनन् । जन्मँदै दुवै हात थिएनन् । दुवै हात नभएको बच्चा जन्मेको थाहा पाएपछि गाउँभरि हल्लाखल्ला चल्यो । गाउँकै एक ठालुले यस्तो बच्चा जन्मनु राम्रो होइन, बाँचिहाले पनि यस्तो बच्चाले केही गर्न सक्दैन, सालनाल नकाटी कसैले नदेख्ने ठाउँमा फालिदिनू भन्ने प्रतिक्रिया दिए ।

आमाको मन न हो । त्यसो गर्न कहाँ सक्थिन् । कसैले फालिदेलान्, मारिदेलान् भन्ने डरले आमाले उनलाई काखमै च्यापेर हुर्काइन् ।

दुवै हात नभएकाले बाँचिहाले पनि केही गर्न सक्दैन भन्नेलाई गणेश राईले सवक सिकाएका छन् । कसैले नदेख्ने ठाउँमा फालिदिनू भन्नेले राईको प्रगति नदेखे पनि सुनेका छन् । साबिक काहुले–६ सालम्बु खोटाङ (हाल : जन्तेढुंगा गाउँपालिका–३) निवासी गणेश राई काठमाडौंको बबरमहलमा रहेको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत डिभिजन कार्यालय प्रमुख वसन्तकुमार राईको पीए हुन् ।

उनले कार्यालयीय काम कम्प्युटरमै गर्छन् । लेख्नै परे पनि औंलाविहीन हातले लेख्न सक्छन् । फाइल पल्टाउने, दर्ता चलानी गर्न अरूको सहयोग चाहिँदैन । सेवाग्राहीलाई मुस्कानसहित सेवा दिनुपर्छ भनेर उनी जानकार छन् । उनी कहिल्यै झर्कीफर्की गर्दैनन् । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत डिभिजन कार्यालय प्रमुख राईमात्रै होइन, मुस्कानसहितको सेवा पाउँदा सेवाग्राही गणेशसँग त्यत्तिकै प्रभावित छन् ।

सहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत उनी मिहिनेत गरे सफलताले पछ्याउँछ भन्नेमा ढुक्क छन् । करार सेवामा कार्यरत उनी लोकसेवा तयारीमा जुटेका छन् । निजामती कर्मचारी भएर राष्ट्रसेवक बन्ने सपना साकार पार्न सकिन्छ भन्नेमा द्विविधा छैन ।

नासु गणेश राईको आफ्नै आयस्रोतबाट आफूबाहेक तीन भाइलाई काठमाडौंमा पढाइरहेका छन् । सीमित आयस्रोतले आफूसहित चार भाइ टिक्क गाह्रो भए पनि आत्तिएका छैनन् । उनले भने, ‘सधैं सकारात्मक सोच्छु । सकारात्मक सोचियो भने आइपरेको समस्या समाधान गर्न हिम्मत बढ्छ । सकारात्मक सोच भनेको अचुक औषधि पनि हो ।’ भाइहरूलाई सम्भव भएसम्म लोकसेवा तयारी गर्न लगाउने उनले सुनाए ।

भाइहरूसँग बसे पनि दैनिक जीवनमा मानिसलाई आइपर्ने सबै काम आफैं गर्छन् । खाना पकाउने, लुगा धुन, नुहाउन कसैलाई सहयोग माग्नुपर्दैन । उनले खुट्टाले लेख्न र खान पनि सक्छन् ।

‘अपांगता भएकालाई दयाको पात्र बनाइनुहुँदैन,’ दुवै हात नभएका गणेश राईको तर्क छ, ‘अपांगता भएकासँग पनि योग्यता, सीप र कला छ । त्यहीअनुसार अवसरचाहिँ दिनुपर्छ । अरू केही चाहिँदैन । त्यति भए अपांगता भएकाले गरिखान सक्छन् ।’

समाजसेवामार्फत आफूजस्तै अपांगता भएकाको सेवा गर्ने लक्ष्य बनाएका उनले दुःखेसो पोखे, ‘अपांगता भएकाको नाममा छुट्याइएका सरकारी÷गैरसरकारी सुविधा साङ्गले उपभोग गर्दै आएका छन् । त्यो रोकिनुपर्छ ।’ खोटाङ सेवा समाज हङकङले ४५ हजार रुपैयाँसहित सम्मान गरेकोबाहेक अपांगताको नाममा उनले आजसम्म केही सुविधा लिएका छैनन् ।

कार्यालयीय समयबाहेकको समय उनले कसरी सदुपयोग गर्लान् ? ‘साहित्यमा अभिरुचि छ । लेख्थें पनि । बीचमा छुट्यो । पुनः साहित्यलेखनलाई निरन्तरता दिन्छु । अपांगता भएकाको जीवनी पढ्न मन लाग्छ । त्यस्तो किताब पढ्दा आफूलाई उत्प्रेरणा मिल्छ,’ उनले भने, ‘आफूजस्तैले संसार हल्लाएका छन् । उनीहरूले के÷के गरिरहेका छन् भनेर इन्टरनेटमा खोजी÷खोजी पढ्छु ।’

साइँला छोराको प्रगति देखेर गणेशका बुवा काजीमान राई, आमा जयकुमारी राई खुसी छन् । उनीसम्बद्ध कार्यालय पुगेका सेवाग्राही उनीदेखि त्यत्तिकै प्रभावित छन् । तपाईंबाट हामीले धेरै कुरा सिक्नुपर्छ भनेर सेवाग्राहीले प्रतिक्रिया दिँदा उनलाईं भविष्यमा केही गर्नैपर्छ भन्ने प्रेरणा मिल्दोरहेछ ।

खोटाङको दिक्तेलमा सिकेको पहिले तीनमहिने आधारभूत र पछि एड्भान्स कम्प्युटर ट्रेनिङले कार्यालयीय काममा सघाएको छ । कम्प्युटर सिक्न प्रबन्ध मिलाइने खोटाङ विकास मञ्चले उनलाई ठूलो गुन लगाएको हो ।

संवत् २०६६ मा दोस्रो श्रेणीमा एसएलसी गरेका उनले चिसापानी उच्च माध्यमिक विद्यालय चिसापानी खोटाङबाट १२ कक्षासम्मको पढाइ पार लगाएका हुन् । दिक्तेल बहुमुखी क्याम्पसमा स्नातक तह भर्ना भएका उनी बीचमै काठमाडौं पसे । उनलाई काठमाडौं ल्याउन स्व. मिलन राईले विशेष सहयोग गरेका थिए । समाजसेवी भैरव राईको उत्तिकै सहयोग थियो । झन्डै वर्ष दिन भैरवकै घरमा आश्रय लिए । घरबाट भाइहरू काठमाडौं आएपछि ललितपुरको लगनखेलमा बस्दै आएका छन् ।

आफूलाई यहाँसम्म ल्याइपुर्याउने सांसद विशाल भट्टराई, गोपीकृष्ण खड्काको योगदानलाई कहिल्यै बिर्संदैनन् । कम्प्युटर सिक्न जाँदा तिमीले सक्दैनौ भन्नेहरूलाई पनि उनले सम्झेकै छन् । भन्छन्, ‘उनीहरूले त्यसो नभनेका भए कम्प्युटर सिक्न उत्साहित हुने थिइनँ कि ।’

थाङ्का आर्टसम्बन्धी चार महिना तालिम गरेका उनले दुई कक्षा पढ्दासम्म खुट्टाले लेख्थे । विद्यालयमा बेन्च बसेर लेख्नुपर्ने बाध्यता भएपछि औंलाविहीन हातले लेख्न अभ्यास गरे । नभन्दै सफल भए । उनले औंलाविहीन हात र खुट्टाले लेख्ने र खानासमेत खान सक्छन् ।©Ratopati.com

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update