विमान दुर्घटनामा परेर पनि मृत्युलाई जितेकी एयरहोस्टेस प्रज्ञाको अठोट – ‘अझै माथि उड्नु छ ‘

shyane.com.np | 2:13 PM | 0 comments

२०७४ जेठ १३ गते। दिउँसोको १:३० बजे आकाश धुम्म थियो। गोमा एयरको विमान कार्गो लिएर लुक्लातर्फ उड्यो। प्लेन ल्यान्डिङका लागि लुक्लाको २ सय मिटर लामो दुरीको रनवेमा नटेकी नजिकैको रुखमा ठोक्कियो। विमानमा यात्रु थिएनन्। पाइलट, को-पाइलट र परिचालिका अर्थात् प्रज्ञा महर्जन।

***
भोजमा थिए प्रज्ञाका आमाबुबा दुवै। अफिसमा विश्वकर्मा पूजाको भोज खाँदै गर्दा घाँटी खसखसाएपछि आमालाई लाग्यो- ‘केही नराम्रो हुँदैछ’।
गुलाफ महर्जनले मनमा लागेको कुरा सुनाइन्, ‘चपाउँदै गरेको समयबजी निल्न नसक्ने गरी पीरो भयो घाँटी। के थाहा छोरी नै आपतमा परी भन्ने।’

अचानक ज्वाइँले फोन गरे र भने दिदी प्रज्ञाको आज फ्लाइट छ? समाचारमा नाम पो आएको छ त।

भिडमा भएकी उनलाई ज्वाइँको कुराको त्यति होस् भएन। इन्टरनेसनल एभिएसनको लागि फर्म भरेकी छोरीको नाम निस्केछ भन्ने पो लाग्यो। तर, घटना फरक थियो र अकल्पनीय पनि। ज्वाइँले प्रज्ञाको बुबालाई पनि फोन गरेर गोमा एयरको विमान दुर्घटनामा परेको खबर दिए। सबैजना आत्तिन थाले।

टिभीमा विस्तृत जानकारी आएको थिएन। तर, गुलाफ महर्जन बेहोसीको अवस्थामा पुगिसकेकी थिइन्।

पत्नीलाई सम्हाल्न ईश्वरले भने, ‘कार्गो प्लेनमा छोरी जाँदैन। हाम्रो छोरी होइन।’

ईश्वरमानको पनि मन त कहाँ मानेको थियो र? इन्टरनेट चहारे। छोरीको फोटो देखेपछि उनी पनि धर्मराए।

***

सन् १९७२ मा सर्बियाबाट चेकोस्लोभाकिया उडेको प्लेन दुर्घटनामा पर्‍यो। डोलास डिसी -९ मा रहेका सम्पूर्ण यात्रु सहित क्रुमा रहेका पाइलट र को पाइलटको निधन भयो। भाग्यबस् २१ वर्षकी परिचारिका जीवित रहिन्।

सन् २०१६ मा परिचारिका भेस्ना भुलोभिकको निधन भयो। उनको निधनको खबर समाचार बन्यो। किनकि उनी दोस्रोपटक मरिन्। त्यसअघि सन् १९७२ भएको सो दुर्घटना पछि उनले आफू मरेर बाँचेको जनाएकी थिइन्। उडिरहेको प्लेनमा आगो लागेपछि १० हजार मिटर माथिबाट खस्दा पनि उनले ज्यान गुमाइनन्। साँचो अर्थमा दोस्रो जीवन पाएकी थिइन् भेस्नाले।

बिबिसीले जनाए अनुसार भेस्ना प्लेनको टेन कोनमा अड्किएकी थिइन्। भयानक दुर्घटनामा परेकी उनले आपतकालीन सहयोगका लागि चिच्याउँदा स्थानीय ब्रुनो हंकले उनको उद्दार गरे। समयमा अस्पताल पुर्‍याए पनि उनी १० दिन कोमामा रहिन्।

***
तिब्बती बौद्ध धर्म गुरु पेमा छोरडोनले भनेकी छिन्, ‘तिमी आकाश हौ। बाँकी जे जति छन् सबै क्षणिक मौसम हुन्।’

पेमाको यो भनाइ भेस्नाको जीवन र मृत्यु बीचको परिस्थिति र त्यसपछि सिर्जना भएका घटनाहरुलाई व्याख्या गर्छ। भेस्ना आकाश बनिन् र बाह्य मौसमी अवस्थालाई सहिन् मात्र। महत्वपूर्ण कुरा उनी कोमामा बस्नुले, केही वर्ष प्यारालाइज्ड हुनुले उनको भविष्यलाई असर गरेन।
उनले प्यारासुट बिना ३३,००० फिट माथिबाट झरेर पनि बाँच्ने पहिलो व्यक्ति बनेर गिनिज बुकमा नाम लेखाइन्। अर्को महत्वपूर्ण कदम परिचारिका बनेर काममा फर्किन्।

भाग्यले उनलाई हिरो बनायो।

***

प्रज्ञा महर्जन अर्की भेस्ना भुलोभिक बन्न चाहन्छिन्।

दाहिने खुट्टा, दुवै हत्केला र मेरुदण्ड भाँच्चिएको छ। शल्यक्रिया गरेको चार साता बित्दा पनि उनी हिड्न सक्ने भएकी छैनन्। किनकि शरीरको कुनै पनि अङ्गलाई दवाव दिने अवस्था छैन। जीवनको अबको इनिङ्स पुन: परिचारिका बनेर बिताउन चाहन्छिन्।

भयानक प्लेन दुर्घटनामा परेर पनि मृत्युको अगाडि बलियो साबित भइन् प्रज्ञा।

***
क्याप्टेन पारसकुमार राई र को-पाइलट श्रीजन मानन्धर*को ज्यान जोगिएन। क्याप्टेनको त उद्दार लगत्तै निधन भयो।

‘त्यो दिन काठमाडौं ल्याएको भए कोपाइलट बाँच्थे सायद,’ प्रज्ञा मलिन मुद्रामा त्यो दिन सम्झिन्छिन्।

धुम्मिएकै आकाश भए पनि मौसम धेरै बिग्रिएको थिएन। उनका अनुसार क्याबिनबाट केही प्राविधिक गडबडीको सूचना आएको थियो। अचानक प्लेन भिरमा जोत्तियो।

‘प्लेनमा उड्दा उड्दैको अवस्थाबाट स्ट्रेचरमा गुड्दा गुड्दैको अवस्था अनुभूत गरेँ। आत्तिएको थिएँ। अरु के भयो व्याख्या गर्न शब्द छैन,’ प्रज्ञाले होसमा आउँदाको अवस्था सुनाइन्।

उद्दार भए पनि मौसम खराबीका कारण हेलिकप्टर चार्टर हुन सकेन। लुक्ला अस्पतालमा उपचार गर्दा गर्दै पाइलटहरुको ज्यान गएको खबरले धेरैलाई अत्याएको थियो।

‘मेरो पनि उपचार गर्न ढिला हुने त होइन?,’ चोटको दुखाइभन्दा मृत्युको भयले भयभित थिइन् उनी। भन्छिन्, ‘परिवार बाहेक केही सम्झिन र सोच्न सक्ने अवस्था नै थिएन।’

मौसमले यसरी साथ दिएन कि मनाङ एयरको हेलिकप्टर इएमएस सेवासहित चार्टरको लागि तयारी अवस्थामा रहे पनि उडान हुन सकेन।
‘शरीरमा दुखाईले गाँजेको थियो।’

***

यता प्लेनको पार्टपुर्जा कुच्चिएको फोटो सार्वजनिक भएको थियो सामाजिक सञ्जालमा।

‘भूकम्पपछिको अवस्था भन्दा भयानक भयो मनमुटु,’ आँखाभरी आँशु बनाएकी गुलाफले सम्झँदै भनिन्, ‘हामी छोरीको अफिस जान तयारी गर्दै थियौं, फोन आयो।’

अनपेक्षित – फोनमा प्रज्ञाले भनिन्, ‘ड्याडी म ठीक छु। अब मौसम सफा भएपछि उपचारका लागि काठमाडौं आउने।’

एकैछिनअघिको तनाव र पीडामा केही भए पनि मलम लाग्यो।

प्रज्ञाको आवाज सुन्नु उनको आमाबुवाको लागि जादु झै भयो। एकैछिनअघिको अवस्था एकाएक परिवर्तन भयो। अर्थात् प्याराडाइम सिफ्ट।

स्टेसन अफिसर टासी शेर्पाले मौसमी खराबीका कारण प्रज्ञालाई ल्याउन ढिला हुने भनेपछि पूरा परिवार र आफन्तका लागि त्यो जेठ १३ को चकमन्न रातको कुनै अर्थ रहेन।

‘रातभर झिमिक्क नगरेका आँखाले भोलिपल्ट बिहान छोरीलाई देखेपछि केही आराम पायो,’ गुलाफ निकै भावुक सुनिइन्, ‘स्ट्रेचरबाट छोरीले आँशु झार्दै हामीलाई हेरेपछि म भक्कानिएर रोएँ।’

ग्राण्डी अस्पतालका इमर्जेन्सी हेड अजय सिंह थापा र इएमएस हेड संजयराज कार्कीको नेतृत्वमा जेठ १४ गते बिहानै प्रज्ञालाई ग्राण्डी अस्पताल ल्याइयो। उनको एक्सटर्नल उपचारका लागि केही दिन आइसियुमा उपचार भयो। र चार साताअघि मात्र पहिलो शल्यक्रिया स्पाइन फ्र्याक्चरको गरियो। त्यसको एक सातापछि हात र खुट्टाको शल्यक्रिया।

***
प्रज्ञाको स्पाइन सर्जरी सम्हालेका डाक्टर विनोद बिजुक्छे भन्छन्, ‘उनको हातमा प्रेसर दिन मिल्दैन। नत्र उनी वाकरको सहायतामा हिड्ने भइसक्थिन्।’

चिकित्सकका अनुसार ठाउँ छोडेर च्यातिएको उनको स्पाइनलाई शल्यक्रियाले जोडेको छ। जसले सम्भावित नसामा पर्नसक्ने असर पनि टारेको छ। बिजुक्छे स्वयम् खुसी छन् प्रज्ञाको रिकभरी देखेर।

‘मेरो उद्देश्य हरेक प्यसेन्टको जिन्दगी अस्वस्थ हुनुअघि जस्तो थियो त्यस्तै बनाइदिने हो,’ उनले भने, ‘प्रज्ञाको हकमा पनि म सफल हुन्छु। उसले पहिलेजस्तै काम गरेको देख्न पाउनेमा ढुक्क छु।’

स्पाइन बाहेकको अन्य दुई शल्यक्रिया चक्रराज पाण्डेले गरेका हुन्।

प्रज्ञा नजिकै बसेर उनको अवस्था बुझिरहेका बिजुक्छेले उनलाई सोधे, ‘तिमी फेरि एयर होस्टेस भएर फर्कने होइन त?’

सहमति जनाउनु अघि उनको नजर बुबाआमातिर मोडिन्छ।

उनको एक्सप्रेसनमा आमाबुवा मुस्कुराइरहे।

‘हो।’

विस्तारै उनले टाउको हल्लाइन्।

आमा गुलाफ महर्जन भने डराएकी छिन्।

‘म त पहिलेदेखि नै छोरीलाई यस्तो डरमर्दो काम नगर भन्थेँ। तर मान्दै मान्दैन,’ गुलाफ थप बोल्न खोज्दै थिइन्।

उनको कुरा काटेर प्रज्ञाको बुबा ईश्वरमानले भने, ‘होइन जिन्दगी चाहे जसरी बाँच्न दिनुपर्छ। मर्नै लेखेको रहेछ भने त बाटोमा हिड्दा ठेस लागेर पनि लडिन्छ र मरिन्छ।’

***

कालिमाटीको बर्नहार्ट कलेजबाट प्लस टू पूरा गरेपछि एभिएसन ट्रेनिङ सुरु गरेकी थिइन् प्रज्ञाले। हरेक दिन कीर्तिपुरबाट पुतलीसडकको फ्लाइटेकसम्म आएर तीन महिने कोर्स पूरा गरिन्।

‘मैले त त्यतिखेरै रिसेप्सनिस्टको जागिर खोजिदिन्छु। ब्याचलर्स पढ्दै काम गर्नु प्लेनमा त डर हुन्छ भनेकै हुँ। तर, छोरीको रहरले मेरो कर हार्‍यो’, उनले भनिन्।

साथीको दिदी निकै राम्री लाग्थ्यो प्रज्ञालाई। हरेकपटक उसको घर जाँदा एयरहोस्टोजको ड्रेसमा उनको लुक्स खुबै खुल्थ्यो। तिनैले एयर होस्टेस बन्न उत्साही पनि बनाइन्।

‘दिदीले नै मलाई यो फिल्डमा राम्रो छ, रमाइलो छ, मान्छेसँग इन्टरयाक्सन हुन्छ, धेरै ठाउँ डुलिन्छ भनेर मलाई हौसला दिनु भएको थियो,’ बेडमा रेस्ट गरिरहेकी उनले सुनाइन, ‘दिदी मेरो अझै पनि आइडल हो।’

अर्को कठोर दुर्भाग्य : उनको आदर्श यो दुनियाँमा छैनन्।

२०७० फागुन ४ गते १५ यात्रु बोकेको नेपाल एअरलाइन्सको विमान दुर्घटना भयो। अर्घाखाँची जिल्लाको खिदिममा भएको दुर्घटनामा परेर ३ क्रु मेम्बर सहित सम्पूर्णको निधन भयो। तीनै १८ मध्ये एक थिइन् परिचारिका मीना महर्जन। मीना अर्थात् उनको आइडल।

नेपाल वायुसेवा निगममा आवद्ध उनी निकै राम्री थिइन्। प्रज्ञा सम्झिन्छन्, ‘अनुहार मात्र होइन बानी र मान्छेसँग बोल्ने शैलीले म प्रभावित थिएँ।’

तर त्यस दिन मीना सहित पोखराबाट जुम्लातर्फ उडेका सम्पूर्ण यात्रुहरुको गन्तव्य मोडियो।

प्रज्ञाको अठोट भने हडबडाएन। मीनाबाट प्रभावित उनले ट्रेनिङ लिइन् र दुई वर्षयता गोमा एयरका लागि परिचारिका भइन्। सँगै बिबिएस तेस्रो वर्षको परिक्षा पनि दिँदै थिइन् उनी।

दुर्घटना नभएको भए यही वर्ष सबै विषयको परीक्षा भ्याउँथिन्। दुर्भाग्य परीक्षा परेको दिनहरुको लागि अफिसमा बिदा लिएपनि जिन्दगीले लिएको भयानक परीक्षामा उनी सामेल हुनपर्‍यो। र उनी सफल ठहरिइन्।

‘दुर्घटना भयो भन्दैमा उद्देश्य नै पूरा नगर्नु त? ,’ उनी प्रश्न गर्छिन्, ‘म त भाग्यले बाँचे। जिन्दगीमा अझै धेरै रिस्क लिनु छ। अझै माथि उड्नु छ।’

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update