परिवारै अन्तरजातीय

shyane.com.np | 6:28 PM | 0 comments

–रामकुमार डिसी
‘घर निकाला । गाँउ/टोलबाटै बहिस्कार । सडकको बास । जोडी नै बेपत्ता । हत्या ।’
‘जतिसुकै आधुनिकता किन नभित्रियोस् आफ्नो भन्दा फरक जात, समुदायसँग बिहेवारी गरेकै कारण अझै पनि कयौं नेपाली यस्ता घटनाका शिकार हुनुपर्छ । ‘कालो बादलमा चाँदीको घेरा’ भने झैं यही समाजमा यस्तो परिवार पनि छ, जुन कसैको लागि पत्याउनै गाह्रो पनि हुनसक्छ ।
काठमाडौंकी शशिकला पाण्डेय र ताप्लेजुङका मानबहादुर सुब्बाको पहिलो भेट भाततको नयाँ दिल्लीमा भयो । शशिकला नर्सिङ पढ्न दिल्ली गएकी थिइन् भने मानबहादुर प्रहरीको तालिमका लागि । उनीहरूबीचको भेट पे्रममा बदलियो । ब्राहामण परिवारकी शशिकला र लिम्बू परिवारका मानबहादुरबीच बिहे पनि भयो । यो करिव पाँच दशक अघिको कुरो हो, जनुबेला नेपाली समाज न अहिलेजस्तो शिक्षित थियो, न खुला नै । उ बेला अन्तरजातीय बिहे गर्नु एउटा ‘दुस्साहस’ नै थियो । तर, उनीहरूबीचको बिहे तुलानात्मक रूपमा सहजै भयो । अन्तरजातीय बिहेकै कारण उनीहरूले न घर निकाला हुनुपर्यो, न सडकको बास नै भयो ।

‘बिहेपछि मात्रै श्रीमान्को परिवारसँग भेट भएको थियो । उहाँहरू सबैले सहजै स्वीकार गर्नुभयो’, ७३ बर्षीया शशिकलाले भनिन्, ‘माइती पट्टि चाँही अमाले पछिसम्म पनि स्वीकार गर्नुभएन । सानी आमा र भाइहरूले भने केही सयमपछि स्वीकार गर्नुभएको थियो ।’ उनीहरू मात्र होइन उनका छोराछोरीले पनि उनीहरूकै पथ रोजे । शशिकलाका जेठा छोरा राजीवले पनि अन्तरजातीय बिहै नै गरे । उनको काठमाडौंकै एन्जिला श्रेष्ठसँग विवाहा भयो । एन्जिलाको बुबा–आमाबीच पनि अन्तरजातीय बिहे नै भएको हो । उनकी आमा ठकुरी हुन् भने बुबा नेवार । राजीव र एन्जिलाबीच प्रेम चलेपछि दुबैको परिवारको सहमतिमै उनीहरूको बिहे भयो । एन्जिला आफ्ना छोराछोरीमा नेपालका सबै जातको मिश्रण भएको ठान्छिन् । भन्छिन्, ‘हाम्रा छोराछोरीमा क्षत्री, बाहुन, लिम्बू, नेवार गरी नेपालका प्रायः सबै जातको मिश्रण छ ।’ राजीव अहिले नेपाल प्रहरी प्रधान कार्यालयमा सञ्चार निर्देशनालयका निर्देशक हुन् । एलिना चाहिँ दुई वर्षयता सञ्चारिका समूहमा कार्यक्रम संयोजक छन् । उनीहरूका एक छोरी र एक छोरा छन् ।
शसिकलाका कान्छा छोरा सन्जीवले पनि अन्तरजातीय बिहै नै गरे । उनले बझाङकी प्रभासिंह बिष्टसँग बिहे गरे । क्षत्री परिवारकी प्रभा पनि प्रेम बिहे मार्फत नै लिम्बू परिवारमा बुहारी बन्न आइन् । सन्जीव अहिले नेसनल बैंकिङ इन्स्टिच्यूटमा काम गर्छन् । यो संस्थाले बैंकमा काम गर्ने जनशक्तिलाई तालिम दिने, क्षमता अभिवृद्धि गर्ने काम गर्छ । त्यस्तै प्रभा सनराइज बैंककी मानव संसाधन (एचआर) विभागकी प्रमुख हुन् । उनीहरूका पनि एक छोरी र एक छोरा नै छन् ।
माल्भिका सुब्बा, शशिकला–मानबहादुरकी एकमात्र छोरी हुन् । सन् २००२ की मिस नेपाल समेत रहेकी उनले रियाज श्रेष्ठसँगको प्रेमपछि अन्तरजातीय बिहे नै गरिन् । उनीहरूको अहिले एउटा सानो छोरा छ ।
सुब्बा परिवारको बिहे, नाता सम्बन्ध यतिमा मात्रै सिमित छैन । यही परिवारबाट राणा र गुरुङसँग पनि बिहेवारी भएको छ । ‘हाम्रो नाता सम्बन्ध धेरै फैलिएको छ’, राजीव भन्छन्, ‘मेरो एकजना कजन दिदीले राणासँग बिहे गर्नुभएको छ । अर्कोले गुरुङसँग गर्नु भएको छ ।’

विदेशीसँग पनि बिहे
ब्राहमण, क्षेत्री, ठकुरी लिम्बु, नेवार र गुरुङ गरी नेपालका ६ जातसँग बिहेबारी मार्फत नाता सम्बन्ध जोडेको सुब्बा परिवारबाट विदेशीसँग पनि बिहे भएको छ । उनका नातेदारहरूले विदेशीसँग समेत बिहे गरेका छन् । ‘एक जना भान्जीले अमेरिकनसँग बिहे गरेकी छिन् । भान्जाले सिंगापुरकी केटीसँग बिहे गरेका छन्’, सन्जीव भन्छन्, ‘दशैंमा हाम्रो जमघट हुँदा चार जात छत्तीस वर्ण मात्रै होइन विदेशी समेत भेटिन्छन् । हाम्रो विस्तारित परिवार एकै ठाँउमा भेला हुँदा मिनी नेपाल नै बन्छ ।’ अरुले भन्ने गरेजस्तो साँच्चिकैको ‘कल्चरल भेराईटी’को आफूहरूले अनुभव गर्न पाएको बताउँछिन् । ‘अरुले कल्चरल भेराइटी भनेर मुखले मात्रै भन्छन् । हामीले यसको साँच्चिकै अनुभव गर्न पाएका छौं’, उनले सुनाइन्, ‘सबै मुखैले मात्रै बोल्छन् । हामीले गरेरै देखाएका छौं ।’

सजिलै एडजस्ट
विभिन्न जातीय समुदायको भए पछि संस्कारमा केही भिन्नता हुन्छ । अझ एउटै परिवारमा चार/पाँच समुदायबाट आउँदा ‘एडजस्ट’ हुन अफ्ठ्यारो हुनु पनि स्वभाविक हो । सुब्बा परिवारमा सबैभन्दा पहिले अन्तरजातीय बिहे गरेकी शशिकला भने आफूले त्यस्तो कुनै अफ्ठ्यारो महसुस गर्न नपरेको बताउँछिन् । ‘मलाई त केही पनि अफ्ठ्यारो परेन । माइतीमा जुन संस्कारमा हुर्केकी थिएँ, त्यही संस्कार अहिले पनि चलिरहेको छ’, उनले आफ्नो अनुभव बाँडिन्, ‘बुहारीहरूले आफ्नै संस्कार गर्छन् । हामी पूर्णरूपमा श्रीमान्को संस्कारमा पनि गएका छैनौं । माइतीको संस्कारमा पनि गएका छैनौं ।’ उनी बुहारीहरूलाई पनि आफूले पूर्ण स्वतन्त्रता दिएको बताउँछिन् । ‘बुहारीहरू सबैलाई आफ्नो संस्कार अनुसार गर्न छुट छ । हाम्रो एकदम मोर्डन घर हो । त्यस्तो बाध्यता, दबाव भन्ने कुरा केही पनि छैन’, उनी भन्छिन्, ‘बुहारीहरू मेरा साथी जस्तै हुन् । छोरी भन्दा पनि बुहारीसँग मेरो बढ्दा निकटता छ ।’ त्यसमा उनकी कान्छी बुहारी प्रभाको सहमति छ । ‘उहाँको परिवार अलिकित आधुनिक खालको हो । यो गरे त्यो नगर भनेर रोक्ने, छेक्ने काम हाम्रो परिवारमा हुँदैन’, प्रभाले भनिन् । श्रीमतीको कुरामा सन्जीवले थपे, ‘संस्कार, जात, धर्मका आधारमा हाम्रो परिवारमा यस्तो हुनुपर्छ भनेर केही छेकवार छैन । त्यही भएर कसैले पनि केही महसुस गर्नुपर्दैन ।’

तर, यसमा माल्भिकाको भने फरक अनुभव छ । फरक संस्कार÷संस्कृतिका कारण ‘एडजस्ट’ गर्नलाई केही अफ्ठ्यारो महसुस गर्नुपरेको अनुभव उनले बाँडिन । ‘कल्चर नै मिल्दैन । एडजस्ट गर्नलाई पनि धेरै अफ्ठ्यारो हुँदो रहेछ’, उनको भनाइ छ, ‘राम्रोसँग कुरा गर्दा उहाँहरूले पनि धेरै बुझिदिनु भयो । कति कुरामा मैले पनि कम्प्रोमाइज गरेँ ।’ छोरी, बुहारीलाई लिम्बू समुदायमा बढी स्वतन्त्रता दिने तर नेवार समुदायमा त्यस्तो नभएकाले केही समयस्या आएको उनको मत छ । ‘मेरो माइतीको कल्चरमा महिलाहरूलाई धेरै भूमिका दिइन्छ । उहाँहरू(श्रीमान्)कोमा चाँही पुरुषहरूले धेरै प्राथमिकता पाउँछन् । महिलालाई खाली भान्सामा मात्रै सिमित गरिन्छ’, उनी भन्छिन्, ‘चाडपर्वका बेला पुरुष रमाइलो गर्दै हिड्ने तर महिलालाई चाँही तल्लो स्तरमा राख्ने हुन्छ । महिनावारी हुँदा छुवाछुत गर्ने प्रचलन अझै पनि छ । जुन हाम्रोमा छैन । त्यही कुराले हामीलाई समस्यामा पार्ने हो ।’ उनका श्रीमान रियाज भने बुहारी लिम्बू समुदायकी भएर भन्दा पनि आमा–बुबाले पेशाप्रति चित्त नबुझाएको बताए । ‘बुवा–आमाको सुमा केही अब्जेक्सन थियो । पछि त्यो क्लियर भयो’, उनले भने, ‘खासमा बुबा–आमा भन्दा पनि मिडियामा हुनुहुन्छ भन्नेमा आपत्ति हो । पेशाप्रति असहमति हो । त्यो पनि मिडिया नबुझेर हो ।’
यस्तोमा कसरी मिल्छ त ? माल्भिकाको जवाफ छ, ‘मैले यस्तो कुरामा मतलव गर्न छोडेँ । छोरा जन्मिए पछि उसलाई असर गर्ने कुरामा मात्रै मैले केयर गर्छु । अरु कुरामा मतलव नै गर्दिन ।’

जात भन्दा मानवता ठूलो
कुनै जात, धर्म, सम्प्रदाय भन्दा पनि मानवता सबैभन्दा ठूलो हुने सुब्बा परिवारको बुझाइ छ । सन्जीव भन्छन्, ‘हाम्रो परिवारको पहिचान भनेको हामी खाँटी नेपाली हो । हाम्रो मूल पहिचान नेपाली हो । हामीलाई कुनै क्रिश्चियन, मुश्लिमसँग रिस उठ्दैन । मान्छेलाई मान्छेकै रूपमा लिनुप¥यो ।’ उनले आफ्ना छोराछोरीको नाम समेत मानव र मानवी राखेको बताए । ‘हामीले बच्चा जन्मिनु भन्दा पहिले नै छोरा भए मानव, छोरी भए मानवी नाम राख्ने निर्णय गरेका थियौं’, उनी भन्छन्, ‘पहिले छोरीको जन्म भयो । नाम मानवी राख्यौं । छोराको मानव राखेका छौं । किनभने हामी मानव हौं । हाम्रो धर्म नै मानवता हो ।’
एन्जिला पनि यसमा सहमति जनाउँछिन् । भन्छिन्, ‘हामी हिन्दू पनि मान्छौं, क्रिस्चियन, बौंद्ध, इसाई सबैलाई मान्छौं । हरेक समूदाय, जात र धर्मलाई समान भावले हेर्छौं । मानवता हाम्रो लागि सबथोक हो ।’

माल्भिकाले आफूहरूले जात भन्दा पनि माया हेरेर विवाह गरेको बताइन् । ‘हामी जातलाई होइन मायालाई हेर्छाैं । जात भनेको समाजले बनाएको कुरा हो’, उनको प्रष्ट मत छ, ‘परिवारमा हामी अधिकांशको प्रेम विवाह नै हो । कसैले पनि जात हेरेर बिहे गरेको छैन ।’

लिवरल भए समस्या आउँदैन
एकअर्कालाई आत्मासात र सम्मानसँगै अलिकति ‘लिवरल’ भइदिए अन्तरजातीय विवाह गर्दा कुनै समस्या नहुने सुब्वा परिवारको अनुवभ छ । ‘परिवार अलिकति लिवरल भइदिँदा सबैकुरालाई आत्मसाथ गर्न सजिलो हुनेरहेछ । छेकवार गरेपछि विद्रोह हुनु स्वभाविक हो नि’, प्रभा भन्छिन् । सन्जीवको पनि त्यस्तै धारणा छ । ‘अन्तरजातीय बिहेबाट हामीले सिकेको भनेको एकअर्कालाई आत्मसात र सम्मान गर्नु नै हो’, उनले प्रष्ट पारे,‘ भिन्न संस्कारलाई स्वीकार र सम्मान गर्दा समस्या नहुने रहेछ ।’ राजीवलाई चाँही यसमा समझदारी ठूलो कुरो हो भन्ने लाग्छ । ‘सबैभन्दा ठूलो कुरा त समझदारी हो । मेरै जात, धर्म ठूलो हो भन्ने भन्दा पनि हामी सबै ठूलो हो भन्ने हिसाबले हेर्ने हो भने एउटा समझदारी हुन्छ ।’ त्यो समझदारी कसरी हुन्छ त ? राजीव आफ्नो घरको अनुभव सुनाउँछन्, ‘हाम्रो घरमा कहिलेकाँही दशैंमा ओखर फुटाउने कुरामा पनि विवाद हुन्थ्यो । आमाहरूको ओखर फुटाउने तरिका एउटा छ । बुबाहरूको अर्को । त्यसलाई पनि दुबैको अनुसार गदिएपछि समस्या नै हुदैन्थ्यो । आफ्नो पनि नछोड्ने नयाँलाई पनि पूर्णरूपमा नलिने । मझदारको बाटोमा बस्ने हो भने सबैलाई मिलाउने वातावरण बन्छ ।’
माल्भिकालाई अन्तरजातीय बिहे गरेर भन्दा पनि मान्छेको सोचाइले समस्या हुन्छ भन्ने लाग्छ । ‘फरक समुदायबाट बुहारी ल्याउँदैहुनुहुन्छ भने उहाँहरूलाई केही समय दिनुहोस् । एडजस्ट हुनलाई समय लाग्छ । सबैकुरा एकैचोटी थोपर्ने कोसिस पनि नगर्नुहोस्’, उनको सुझाव छ, ‘आफ्नो घर छोडेर आउनु भनेकै गाह्रो कुरा हो । यो बेला भावनात्मक रूपमा पनि निकै गाह्रो हुन्छ । त्यो बुझिदिनुपर्छ । सहज वातावरण बनाइदिनुपर्छ ।’

(नागरिक परिवारबाट साभार)

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update