पहिला कस्ती थिएँ, अहिले कस्ती भएँ,’

shyane.com.np | 10:07 AM | 0 comments

श्रावण १६, २०७४- कसैको जिन्दगी कति रहस्यमय छ भन्ने थाहा पाउन लक्ष्मी राना मगरलाई हेरे पुग्छ। उनी नियतिको विचित्र लीला भोगिरहेकी छन्। ऐना हेर्दा झस्किन्छिन्। आफूले आफैंलाई नचिने झैं लाग्छ। ‘पहिला कस्ती थिएँ, अहिले कस्ती भएँ,’ उनी भन्छिन्, ‘हुन त अब बानी परिसक्यो। यो रूप, यो एक्लो संसार सबै पचिसक्यो।’

लक्ष्मी एक समयकी व्यस्त नृत्यांगना हुन्। स्टेज सोका लागि देश/विदेश डुल्थिन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा काम पनि गरिन्। नेपाली सांस्कृतिक नृत्य उनको विशेषता थियो। मारुनी, टप्पा, झ्याउरे, स्याब्रु, मैथली सबै प्रकारका लोक नाचमा अब्बल थिइन्। ‘ताण्डव, चर्या (वज्रयोगिनी) र झ्याउरे नाच्दा बढी खुसी हुन्थेँ,’ उनी भन्छिन्, ‘नाच्ने दिन फेरि कहिले आउला?’

लक्ष्मीका दुवै मृगौला खराब छन्। यस्तो भएको बाह्र वर्ष पुगिसक्यो। हप्ताको दुईचोटि डाइलासिस गराउँछिन्। शरीर सुकेनास भएको छ। अनुहारको रङ गाढा हुँदै गएको छ। कुराहरू बिर्सिन थालेकी छन्। तर, आत्मबल भने अझै डगमगाउन दिएकी छैनन्। उनलाई हेर्ने/सुन्ने जोकोही मान्छे नै उत्प्रेरित भई फर्किन्छन्।

‘यस्तो अवस्थामा पनि उहाँ कन्फिडेन्ट हुनुहुन्छ,’ लक्ष्मीलाई सहयोग गरौं भनेर चितवनदेखि काठमाडौं आएकी विन्दु सिंजाली मगरले भनिन्, ‘उहाँबाट धेरै कुरा सिकेँ।’ विन्दुले लक्ष्मीलाई उपचारका लागि दुई लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेकी छन्। त्यसो त यति बेला ‘लक्ष्मी राना बचाऊ अभियान’ नै चलाइएको पनि छ।

टीकाथली, ललितपुरकी बासिन्दा हुन् लक्ष्मी। हुन् होइन, थिइन्। त्यहाँको जायजेथा सबै उपचारका लागि बेचिसकिन्। राजधानीका मुख्य–मुख्य चार ठाउँमा जग्गा जोडेकी थिइन्। तीसहित निर्माणाधीन घर र वीरगन्जको सम्पत्ति सबै बेच्नुपर्‍यो। आफू रित्तिएपछि हात फैलाउन पनि बाध्य भइन्। ‘म जस्तो मान्छे माग्ने भएकी छु,’ आँखा टिलपिलाउँदै उनी बोल्छिन्, ‘आफ्नो खुट्टामा आफैं उभिएकी, स्वाभिमानी मान्छे थिएँ।’

नृत्यबाटै धेरैको मन जितेकी थिइन् उनले। तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याको सिफारिसमा आफू पहिलो पटक फ्रान्समा कार्यक्रम गर्न गएको सम्झन्छिन्। ‘उहाँहरूले मेरो नाम लिनुभएको थियो रे,’ लक्ष्मी भन्छिन्, ‘त्यहाँ ठूलो कार्निभल थियो। सयभन्दा बढी देशका नाच देखाइए। मैले नेपाली लोक नाच प्रस्तुत गरेँ।’ उनलाई साल्सा, ज्याज जस्ता मोर्डन डान्स पनि आउँथे, गर्थिन्।
कार्यक्रम सकिएपछि मान्छेहरू उनलाई भन्थे रे, ‘तिम्रो नाचले गुजबम्प्स निकाल्यो। कम्प्युटरजस्तै खुट्टा चाल्दिरहेछौ, कति छिटोछरितो नाच्न जानेकी।’ ती दिन, त्यस्ता प्रतिक्रिया अहिले सपना झैं भएका छन् उनका लागि। अब त उनी उकालो हिँड्न पनि सक्दिनन्। पुराना कुरा सम्झिएर घोरियो भने श्वास बढ्छ, मन अत्तालिन्छ। ‘चिन्ता लिनै हुन्न,’ उनले भनिन्, ‘हाइपरटेन्सन भएर जिउ पूरै सुन्निन्छ।’

लक्ष्मीका बाबा–आमा उनी सानै छँदा बिते। भाइ पाल्ने अभिभारा १२/१३ वर्षकी लक्ष्मीमाथि आइपर्‍यो। नाच्न सिपालु थिइन्। यसैलाई व्यवसाय बनाउने सोचिन्। प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षार्थी हुँदै जागिर पाएपछि उनका सुखका दिन ब्युँतिए। भाइको बिहे गरिदिइन्। सम्पत्ति जोड्न थालिन्।

‘सोह्र/सत्र वर्षकी हुँदादेखि मलाई पनि बिहेको अफर आउन थाले,’ उनी सम्झन्छिन्, ‘तर, त्यो बेला मेरा लागि गोल्डेन एज थियो। काम राम्रो भइरहेकाले घरजम गर्नपट्टि लागिनँ।’ तीस नाघेपछि बिहे गर्ने सोच रहेछ उनको। तर, तीस पुग्न नपाउँदै रोगले समात्यो।

लक्ष्मीको जीवनमा अनेक पीडा आइपरे। अभिभावक गुमाएपछि उनको एउटै सहारा भाइ थिए। छ वर्षअघि भाइ पनि परलोक भए। बुहारी र भदाभदै छन्, वीरगन्जमा। फुपूहरू काठमाडौंमै छन्। तर, उनलाई आफन्तले छोडिदिएका छन्। बालाजुमा एक कोठा भाडामा लिएकी छन्, एक्लै बस्छिन्।

नृत्य क्षेत्रमा लागेकाहरू महादेवलाई गुरु मान्छन्। नृत्यका राजा, नटराजको दर्शन गर्ने इच्छा रहेछ लक्ष्मीलाई। चितवनबाट आएकी विन्दुलाई उनले पशुपति लगिदिन आग्रह गरेकी रहिछन्। शनिबार दिउँसो पशुपतिनाथलाई ढोगेर आएकी लक्ष्मी खुसी देखिन्थिन्। ‘मृगौला प्रत्यारोपण गर्न खोज्दै छु,’ ४१ वर्षे लक्ष्मीले भनिन्, ‘मरिन्छ कि बाँचिन्छ, थाहा छैन। महादेवसँग शक्ति मागेकी छु। विन्दु बहिनीजस्ता मान्छे थपिए भने अवश्य बाँच्छु।’

source:kantipur.ekantipur

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update