२४ वर्षीय सरिताले कलेजो दिएर ५७ वर्षीय बाबुलाई बचाइन्
भक्तपुर, साउन १ – उखानै छ, ‘बाबुआमाको कलेजोको टुक्रा हुन छोराछोरी । छोराछोरीको कलेजोको टुक्रा हुन् बाबुआमा ।’ यो उखान यथार्थमा परिणत भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १२ लगनटोलकी २४ वर्षकी सरिता महर्जनले माथिको भनाईलाई यथार्थमा परिणत गर्नुभएको हो ।
आइतबार मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा गत असार १८ गते आफ्नै कलेजो दिएर ५७ वर्षका बाबु हिराकाजी महर्जनलाई बचाउने साहिली छोरी सरिताले बाबुआमा पनि कलेजोको टुक्रा हुन् भन्ने भनाईलाई चरितार्थ पार्नुभएको हो ।कलेजो प्रत्यारोपण पछि हिराकाजीले भन्नुभयो– ‘मैले जीवनको आशा मारिसकेको थिएँ, अब बाँच्दिन भन्ने लागेको थियो, तर छोरीले आफ्नै कलेजो काटेर दिन तयार भइन्, त्यसैले मैले नयाँ जीवन पाएँ, अहिले निकै खुसी भएर घर फर्कदैछु ।’
२०७२ बैशाखको महाभूकम्पले घर चर्कायो, त्रास बढायो, त्यसपछि रक्सी पिउने बाँनी लागेकै कारण कलेजो खराब भएको बताउँदै उहाँ भन्नुहुन्छ–‘भूकम्पको डरले पिउने बाँनी लगायो, त्यसैले कलेजो सिध्यायो, अब कसैलाई रक्सी नखाने सल्लाह दिन्छु म ।’
डेढ वर्ष अघि हिराकाजीलाई कलेजोसम्बन्धि रोग लागेको छ भनेर परिवारले थाहा पाएपछि उनको उपचार मनमोहन हृदयरोग केन्द्र महाराजगञ्जमा भइरहेको थियो । त्यहाँका चिकित्सकहरुले कलेजो प्रत्यारोपणको लागि भारतमा जान सल्लाह दिए । तर भारतमा एक करोड ५० लाख रुपैयाँ लाग्ने बताएपछि मध्यमवर्गीय यो परिवारका लागि यति रकम जुटाउन सक्ने आँट नै भएन । त्यसैले परिवारले आशा मारिसकेको थियो ।
उपचारमा भौतारिने क्रममा निदान अस्पताल पुगियो, त्यहाँ हिराकाजीको परिवारको भेट कलेजो विशेषज्ञ डा. दिपेश गुरुवाचार्य, डा.पुकारचन्द्र श्रेष्ठसँग भयो । त्यसपछि सुरु भयो मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा दोश्रो कलेजो प्रत्यारोपण । जसका कारण महर्जनको नयाँ जीवन पाउनुभयो । छोरी सरिताले भन्नुभयो ‘बुबालाई बचाउँने ठूलो इच्छा थियो, भारतमा साढे एक करोड रुपैयाँ लाग्ने भनिए पछि आशा मारेपनि यहाँ झण्डै २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण गर्न सकिने कुरा भए पछि बुबालाई बचाउँन मैले आफै कलेजो दिने निर्णय गरे ।’
महर्जनको परिवारमा छोरा छैन, चार वटी छोरी, दुई वटीको विवाह भैसक्यो । हिराकाजीले चलाउँदै आएको नेवारी आजा घर पनि विरामी परेपछि बन्द भयो, छोरीले चलाउँदै आएको बुटिक पनि महिनौदेखि बन्द छ, घरमा कमाउने कोही छैन । छोरी सरितालाई चिन्ता छ त अब आमाको । दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि विगत दुई वर्षदेखि हिराकाजीका श्रीमती ५२ वर्षकी मञ्जुको मृर्गौलाको डायलोसिस हुँदै आएको छ, अब उहाँको मृर्गौला प्रत्यारोपण गर्ने अर्को समस्या छोरीको सामु छ ।
सरिता भन्छिन् ‘बुबालाई त बचायौ, अब आमाको चिन्ता छ, आमाको लागि मृर्गौलाको खोजी गर्दैछौ, घरमा कमाउने कोही नहुँदा आर्थिक समस्या चुलिएको छ, बुबालाई नियमित औषधि खुवाउन र आमाको मिर्गौला प्रत्यारोपण कसरी गर्नु भन्ने चिन्ताले सताई रहन्छ ।’
कलेजो प्रत्यारोपणमा संलग्न डा.दिपेश गुरुवाचार्य सरिताको मानसिक शक्ति र परिवार प्रतिको मायाका कारण हिराकाजीले दोश्रो जीवन पाएको बताउनुहुन्छ । केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ नेपाल मै पहिलो पटक गत मंसिर २२ गते सुरु भएको कलेजो प्रत्यारोपण अहिले दोश्रो पटक सफल भएको बताउनुहुन्छ ।
कलेजो प्रत्यारोपणका लागि विदेशमा एक करोडदेखि एक करोड ५० लाख रुपैयाँसम्म लाग्ने भए पनि नेपालमा भने केन्द्रले २० देखि २५ लाख रुपैयाँमा कलेजो प्रत्यारोपण गर्न सफल भएको उहाँ बताउनुहुन्छ । डा. श्रेष्ठ ‘विश्व मै जटिल मानिने कलेजो प्रत्यारोपण केन्द्रले सफलतापूर्वक दोश्रो पटक सम्पन्न गरेको छ, अब केन्द्रले प्रत्येक महिना कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ, यसका लागि तत्काल दुईजना विरामी तयारी अबस्थामा छन् ।’
भारतको नयाँदिल्लीस्थित म्याक्स हस्पिटलबाट आएको चिकित्सकको टोली र नेपालका डा. पुकारचन्द्र श्रेष्ठ, डा. छेतेन शेर्पा, मोहनदेव भण्डारी, डा. प्रविण जोशी, डा.दिपेश गुरुवाचार्य, डा. सम्र्पूणमान तुलाधर, डा. सुवास आचार्य, डा. आरती राईलगायतका टोलीले कलेजो प्रत्यारोपण गरेको हो । यसअघि गत मंसिर २२ गते दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विशेषज्ञहरूको टोली र नेपालको चिकित्सक टोलीले भक्तपुर सूर्यविनायकका ३६ वर्षीय बलराम नागाको नेपाल मै पहिलोपटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको थियो ।
कार्यक्रममा सांसदद्धय प्रेम सुवाल, रामेश्वर ढुङ्गेल, पूर्व उद्योग मन्त्री महेश बस्नेतले मानव मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले पुर्याएको सेवाको प्रशंसा गर्दै यसको विकास र बिस्तारका लागि आवश्यक पहल गर्ने बताउनुभयो । ujyaaloonline
http://ift.tt/eA8V8JCategory: news
0 comments