कोही कोही केटा त यति मन पर्छ कि भन्न मात्र सकिन्न : मेलिना राई

shyane.com.np | 2:33 PM | 0 comments

पाश्र्वगायनमा जम्दै गरेको नाम हो, मेलिना राई । भारतको दार्जिलिङमा बाल्यकाल बिताएकी मेलिना आफ्नै बुबाको संगीत शिक्षाले गायनमा निखारिएकी हुन् । सयभन्दा बढी गीत गाइसकेकी उनले दर्जनजति फिल्ममा स्वर दिएकी छिन् । फिल्म ‘नाइँ नभन्नू ल–३’ को ‘कम्मरमाथि पटुकी’ बोलको गीतले उनलाई बढी चर्चा दिलायो । ‘पलभरमै खुशी’, ‘डुब्दै गएँ म’, ‘माया मलाई’, ‘छाडी जाने भए जाऊ मायालु’ उनका रुचाइएका गीत हुन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘क्लासिक’मा गायिकाको तर्फबाट उनको एकल स्वर छ । उनीसँग धनबहादुर खड्का र अनिल यादवले गरेको अन्तरंग कुराकानीः

जाडो बढेको छ है !
हो नि । भर्खरै सोलुखुम्बुको लुक्लामा आयोजित कार्यक्रममा सहभागी भएर आ’को । त्यहाँ त असाध्यै जाडो रहेछ । यहाँ पनि त्यस्तै । हुन त म जाडो महिना (डिसेम्बर) मै जन्मिएकी हुँ । तर, पनि जाडो थेग्नै गाह्रो छ ।

गाउने रहर कसरी पलायो ?
मेरो बाल्यकाल भारतको दार्जिलिङमा बितेको हो । १० वर्षको उमेरसम्म म दार्जिलिङमै बाजेबोजुसँग हुर्किएँ । आफ्नो बुबाको अनुहार त मैले १० वर्षपछि मात्र देख्न पाएँ । उहाँ काठमाडौँमा संगीत सिकाउनुहुन्छ, राम्रो संगीतकार हुनुहुन्छ भनेर बोजुले सुनाउनुहुन्थ्यो । मलाई खुशी लाग्थ्यो । किनकि, मेरो मनदेखिको रुचि गायन थियो । सानैदेखि नाच्न र गाउन भनेपछि हुरुक्कै हुन्थेँ । गाउँघरमा आयोजना हुने कार्यक्रममा प्रस्तुति दिन्थेँ । मेरो प्रस्तुति मन पराएर मलाई पैसा दिन्थे । त्यतिबेला असाध्यै खुशी लाग्थ्यो । यतिसम्म कि आफैँ ऐना हेर्दै गाउँथेँ र नाच्थेँ । गाउनभन्दा नाच्नमा मन जान्थ्यो ।

कसरी १० वर्षपछि मात्र बुबासँग भेट भयो ?
म सानैदेखि मावली गाउँमा हुर्किएर हो । बुबाको घरचाहिँ मोरङमा हो । बुबा काठमाडौँमा संगीत सिकाउनुहुँदो रहेछ । १० वर्षपछि मलाई पनि पढाउन भनेर यतै ल्याइयो । अनि, भेट भयो । यता आउनासाथ बुबासँग सिकेँ । उहाँले बिहान ४ बजे नै उठाएर संगीत सिकाउनुहुन्थ्यो ।

पहिलोपल्ट कहिले स्टेज चढ्नुभयो ?
म १२ वर्षकी थिएँ । कक्षा ५ मा पढ्थेँ । काठमाडौँको रसियन कल्चर सेन्टरमा रेडियो नेपालले बालगीत प्रतियोगिता आयोजना गरेको थियो । त्यहीँ नै भएको थियो मेरो पहिलो स्टेज पर्फर्मेन्स । ठूलो भीड र जजका अगाडि गाउनुपर्दा निकै नर्भस भएकी थिएँ । उत्साह पनि थियो । तर, त्योभन्दा बढी डराएकी थिएँ ।

आफू सानो छँदा कस्तो गायिका बनूँ भन्ने लाग्थ्यो ?
म दार्जिलिङमा हुँदा उदय र मनिला सोताङका गीत असाध्यै सुन्थेँ । उहाँहरूका गीत त्यहाँ असाध्यै हिट थिए । मनिला दिदीको स्वरले मलाई मोहित बनाउँथ्यो । त्यतिबेला गायिका सिन्धु मल्ल पनि निकै लोकप्रिय हुनुहुन्थ्यो । अंकलहरू मलाई ‘भोलिपर्सि मेलिना पनि सिन्धु मल्ल जस्तै हिट हुन्छ’ भन्नुहुन्थ्यो । खुशी लाग्थ्यो । म भने गायिका साधना सरगमलाई आइडल मान्छु । उहाँका गीतहरू धेरै सुन्छु ।

यतिबेला पाश्र्वगायनमा सम्भावना बोकेकी गायिकाको नाम लिँदा तपाईंको नाम छुट्दैन । तपाईंले कहिल्यै सोच्नुभएको थियो फिल्ममा यसरी गीत गाउँछु भनेर ?
मेरो लक्ष्य नै गायिका बन्ने थियो । त्यही भएर कुनैबेला गाउँछु भन्ने त थियो । तर, अचम्मको कुरा के भने म सानो छँदा जब टीभीमा फिल्म हेर्थें, यस्तो स–साना मान्छे कसरी अटेको होला भन्ने लाग्थ्यो ? बोजुलाई प्रश्न पनि गर्थें । फिल्मका गीतमा देखिने हिरो–हिरोइनले नै त्यो गीतलाई गाएको जस्तो लाग्थ्यो । अहिले ती कुरा सम्झिँदा हाँसो लाग्छ ।

आफूलाई कहिलेदेखि गायिका बनेजस्तो लाग्यो ?
२०६५ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गायन प्रतियोगितामा प्रथम भएपछि । दर्शकमाझ नभए पनि संगीत क्षेत्रभित्र अलिअलि चिनिन थालेकी थिएँ ।

दर्शकमाझ चाहिँ कहिलेबाट चिनिएजस्तो लाग्यो ?
‘छाडिजाने भए जाऊ मायालु’ मेरो पहिलो रुचाइएको गीत हो । मैले एउटा कार्यक्रममा दिएको प्रस्तुतिबाट प्रभावित भएर विनोद खम्बुले गाउन दिनुभएको गीत थियो त्यो । युट्युबमा अपलोड भएको यो मेरो पहिलो म्युजिक भिडियो पनि हो । यहीबाट दर्शकमाझ चिनिएँ ।

तपाईंले पहिलोपल्ट फिल्ममा ‘ब्रेक’ पाएको गीत चल्यो । तर, तपाईं त्यति चर्चित हुनुभएन है ?
हो । मैले पहिलोपल्ट संगीतकार ताराप्रकाश लिम्बूमार्फत फिल्म ‘नोभेम्बर रेन’को ‘पलभरमै खुशी’ गीतबाट पाश्र्वगायनमा ‘ब्रेक’ पाएकी हुँ । तर, यो गीतमा गायिका रजिना रिमाल र म गरी दुईजनाको स्वर थियो । त्यसैले म ‘नोटिस’ भइनँ । स्टेजतिर म यो गीत गाउने गर्छु । त्यतिबेला कतिपयले अर्काको गीत गायो भन्ने ठान्छन् । त्यही भएर म आफैँ जानकारी गराउने गर्छु ।

धेरै नयाँ गायक–गायिकाले फिल्ममा ‘ब्रेक’ पाउन निकै संघर्ष गर्नुपरेको बताउँछन् । तपाईंले चाहिँ कसरी अवसर पाउनुभयो ?
मलाई ‘बेबी आई लभ यू’ भन्ने गीत असाध्यै मन पथ्र्यो । रोमान्टिक थियो । बुझ्दै जाँदा यो गीतको संगीत ताराप्रकाश लिम्बूले गर्नुभएको रहेछ । त्यसपछि म उहाँको फ्यान भएँ । मैले उहाँलाई फेसबुकमा ‘एड’ गरेँ । मैले ‘म मेलिना राई, गीत गाउँछु’ भनेर आफ्नो परिचय दिएँ । उहाँले ‘नाम सुनेको छु, भेटौँ न त’ भन्नुभयो । त्यसपछि मैले भेटेँ । उहाँले सुरुमा मलाई सोसाइटी एफएमको जिंगल गाउने मौका दिनुभयो । मेरो भोकल उहाँलाई मन परेछ । त्यसपछि एकदुईवटा कलेक्सन एल्बममा पनि गाउन दिनुभयो । अनि, ‘नोभेम्बर रेन’मा सेकेन्ड लिड गायिकाका रूपमा गाउने अवसर मिल्यो ।

तपाईंलाई धेरैले चिनेको ‘कम्मरमाथि पटुकी’बाट हो । यो गीत गाउने अवसर चाहिँ कसरी जुर्यो नि ?
मैले ‘नयन’ नामको कलेक्सन एल्बममा ताराप्रकाश लिम्बूको संगीतमा गाएको थिएँ । सोही एल्बममा संगीतकार वसन्त सापकोटोले पनि संगीत गर्नुभएको रहेछ । एल्बमको विमोचनमा हामी सबै पुगेका थियौँ । त्यहाँ मैले गाएको म्युजिक भिडियो देखाइएको थियो । वसन्त सरलाई मेरो स्वर मन परेछ । उहाँले सोही हलबाट संगीतकार ताराप्रकाशलाई फोन गरेर मेरो बारेमा सोध्नुभएछ । म त्यहीँ नजिकै थिएँ । अनि, तारा दाइले मलाई चिनाइदिनुभयो । वसन्त सरले ‘नानी तिम्रो स्वर एकदम राम्रो लाग्यो, तिमीलाई सुहाउने खालको एउटा गीत छ, भोलि नै डमी लिन आऊ’ भन्नुभयो । यसरी नै यो गीत गाउने मौका जुरेको हो ।

अहिले गायन पनि दुई भागमा विभाजित देखिन्छ, एउटा स्टेज र अर्को प्लेब्याक । तपाईंलाई कस्तो गायिका हुन मन छ ?
मलाई प्लेब्याक, आधुनिक र पप गीत गाउन मन पर्छन् । ‘लोक टच’ भएका गीत पनि मन पर्छन् । धेरैले मलाई यस्तै गीतमा स्वर सुहाउँछ भन्छन् । म भने आफूलाई यही धारको गायिका भन्न रुचाउँदिनँ । सबै खाले गीत गाउन रुचाउँछु ।

भर्खरै बेलायतमा सांगीतिक यात्रा गरेर फर्किनुभएको छ । त्यहाँ कस्तो ‘रेस्पोन्स’ पाउनुभयो ?
दुई महिना यूके बसेर फर्किएँ । आधा दर्जनभन्दा बढी कार्यक्रममा सहभागी भएँ । मैले त्यति धेरै आशा गरेकी थिइनँ । तर, सोचेभन्दा बढी नै पाएँ । जे होस्, मलाई माया गर्ने स्रोताहरू थुप्रै हुनुहुँदो रहेछ ।

तपाईं हेर्दा पनि आकर्षक हुनुहुन्छ । गीत पनि राम्रो गाउनुहुन्छ । कुन हदसम्मका फ्यान झेल्नुभएको छ ?
फ्यान अनेक किसिमका भेटेँ । कोही आदर गरेर बोल्छन् । कोही जिस्काउँछन् भने कोही प्रेम प्रस्ताव नै राखिहाल्छन् । फेसबुकमा धेरै नै साथी हुन्छन् । सबैलाई ‘रिप्लाई’ गर्न पनि सकिँदैन । सबैले यो कुरा बुझ्दैनन् । रिप्लाई नआउँदा अनेकथरी लेखेर पठाउँछन् । तर, मैले पागल टाइपको फ्यान जो ‘म तपाईंबिना मर्छु, तपार्इंका लागि यो गर्छु, त्यो गर्छु’ भन्ने चाहिँ भेटेकी छैन । म अझै चिनिएको छुइन । धेरै गर्न बाँकी छ, चिनिन बाँकी छ जस्तो लाग्छ ।

नेपालमा कलाकारिताको ‘स्कोप’ छैन भन्छन् । गीत गाएर बाँच्न सकिएला त ?
अवश्य बाँच्न सकिन्छ । मलाई त स्कोप छ जस्तो लाग्छ । धेरै अग्रजहरू बाँचिरहेका पनि छन् । सच्चा मन लगाएर संगीतमा लाग्ने हो भने भविष्य छ । ‘यसमै मर्छु कि गर्छु’ भनेर लाग्यो भने बाँचिन्छ । हरेस खानु हुँदैन । एल्बम चाहिँ बिक्न छाडेका छन् । त्यही पनि स्टेज र रेकर्डिङबाट राम्रो कमाउन सकिन्छ ।

तपाईं अभिनय पनि गर्नुहुन्छ क्यारे ?
अहँ गर्दिनँ ।

तीजको गीतमा त कम्मर मर्काई–मर्काई नाच्नुभएको थियो नि ?
ए त्यसको कुरा गर्नुभएको ? त्यो त निर्देशक शान थापाको ढिपीले गर्दा प्रयास गरेकी हुँ । तर, मेरो अभिनेत्री बन्ने चाहना होइन । अभिनयमा ‘फिल’ दिन सक्दिनँ जस्तो लाग्छ, जति संगीतमा दिन सक्छु ।

अहिले त देखिने र आफूलाई चिनाउने जमाना छ । तपार्इं त लुकाउने कुरा गर्दै हुनुहुन्छ ?
त्यस्तो होइन् । मैले भिडियोहरूमा ‘लिपसिंक’ त दिने गरेकी छु नि । त्यसबाटै आफू चिनिन्छु जस्तो लाग्छ । आफैँ डान्सिङ नम्बर गाएँ भने त्यसमा नाच्न पनि सक्छु ।

तपाईंलाई सबै हँसिली भन्छन् । कहिल्यै रिसाउनुभएको छ ?
यसो भन्दा तबलाबादक प्रमोद उपाध्यायको याद आयो । उहाँले एकपटक भन्नुभएको थियो, ‘मेलिना पनि रिसाउँछे र ? रिसाएको त देखेको छैन ।’ अरूले मलाई हँसिली नै देख्छन् । तर, खासमा म असाध्यै बढी रिसाउँछु । मलाई घरमा बढी ‘इरिटेसन’ हुन्छ । म्युजिकमा त रमाउने भएकाले रिस उठ्दैन ।

गाउनबाहेक अरू के गर्न मन पर्छ ?
म भ्रमण गर्न औधी रुचाउँछु । यो मेरो दोस्रो रुचि हो । त्यसैले म आफूलाई ‘लक्की’ ठान्छु । किनकि, नयाँ–नयाँ ठाउँमा गाउने अवसर मेरा लागि भ्रमण पनि हुने गर्छ । त्यसपछि पेन्टिङ पनि हल्का मन पर्छ । म सिर्जनाका कुरामा बढी मज्जा लिन्छु ।

आर्यन सिग्देलको फिल्म ‘क्लासिक’मा त तपाईंलाई ठूलै अवसर मिलेछ नि !
हो नि । ताराप्रकाश लिम्बूको एकल संगीत रहेको यो फिल्ममा एउटा अनप्लगसहित तीनवटा गीत गाउने मौका पाएकी छु । यो फिल्मको ‘फिमेल सिंगर’ भनेको म मात्रै हो ।

प्रेमगीत मन पराउनुहुन्छ । प्रेम अनुभव चाहिँ छ कि छैन ?
त्यो त छैन । मैले बिहे गर्ने समय त धेरै टाढा छ । सफलताको शिखरमा पुग्न त अझै बाँकी छ । करिअरलाई शिखरमा पु¥याएपछि मात्र बिहे गर्छु ।

जीवनमा कसैलाई प्रेम नगरे पनि गर्न मन त लाग्यो होला, कोही त मन पर्यो होला ?
मन त पर्छन् नि । कोही कोही त यति मन पर्छन् कि भन्न मात्र सकिन्न । तर, जो मन पर्छ उसको र मेरो बाटो नै फरक भइदिन्छ । मेरो लक्ष्य नै फरक भइदिन्छ । कसैको व्यवहार मन पर्छ । तैपनि आफूलाई सम्हाल्छु । किनकि, दायाँबायाँ नगरी शिखरमा पुग्नु छ ।

तपाईंको ‘फ्रेम’मा हुनेवाला श्रीमान् कस्तो होस् भन्ने छ ?
ह्यान्डसम होस् । आफू होची भए पनि ऊ चाहिँ अग्लो होस् । मलाई धेरै नबोल्ने, गम्भीर र इमानदार टाइपको केटा मन पर्छ । चुलबुले केटामा फिटिक्क आँखा जाँदैन । पढाइ चाहिँ सामान्य भए पुग्छ । (साभार : शुक्रवार साप्ताहिक)

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update