साली भगाएर काठमाडौँ ल्याएका चर्चित गायक रामजीखाँड भन्छन् डिप लभमा थिएँ, उनैसँग बिहे गरेँ

shyane.com.np | 10:41 AM | 0 comments

रामजी खाँण, लोकदोहोरी गायक

लोक तथा दोहोरी गायनमा रामजी खाँणको पहिचान बेग्लै छ । उनले स्वर भरेका गीत पाँच हजारभन्दा बढी पुगिसकेका छन् । बजार पिटेका उनका गीत औँलामा गनेर साध्य हुँदैन । पछ्यौरी लेऊ बैना, जिम्माल बाउकी छोरी, धरती कुनको आकाश जूनकै हो, यो संसारको रीत, मैले मन पराएको छुलगायत गीत प्रायः लोकदोहारी पारखीलाई कण्ठस्थै होला । स्टुडियोदेखि स्टेजसम्म खाँडको माग व्यापक रह्यो । अहिले पनि उनको क्रेज कम छैन । सांगीतिक क्षेत्रको यो खुड्किलोसम्म आइपुग्दा खाँणको जीवनमा थुप्रै उतार–चढाव आए ।

एसएलसीपछि शिक्षक भएँ
स्याङ्जाको मल्याङकोट–३ स्थित घुर्लीचौरमा जन्मिएँ । गाउँले आमबालबालिकाकै जस्तो मेरो बाल्यकाल रह्यो । आफ्नै गाउँको स्कुलबाट एसएलसीसम्मको अध्ययन सकाएँ । अभिभावकका हामी दुई छोरा हौँ, म जेठो । दिदी–बहिनी पनि नभएकाले सन्तान भनेकै हामी ।

बाबु भारतीय आर्मीको जागिरे हुनुहुन्थ्यो । हाम्रोतिर जुनकुनै खालको भए पनि जागिर गर्न भारत जाने भन्ने चलन थियो । मसँगका साथीहरू पनि एसएलसी सकेपछि कोही लाहुरे हुन गए । कोही पढ्नका लागि काठमाडौंं, पोखरा गए । म भने गाउँमै बसेँ र दुई वर्ष स्कुल पढाएँ ।

त्यसो त सानै उमेरदेखि गीत–संगीतमा पनि रुचि थियो । गाउँ–घरमा गाउँदै हिँड्नु स्वाभाविक नै थियो । तर, व्यावसायिक गायक बन्ने सोच त धेरैपछि मात्रै आयो । ०५६ मा पहिलोपटक गीत रेकर्ड गराएँ, एल्बममै समावेश भयो । काठमाडौं आएर गीत रेर्कड गरेको थिएँ । पछि, फेरि स्याङ्जा नै फर्किएँ । दुई वर्ष पढाउने काम गर्ने पनि संगीतमै केही गर्नुपर्छ भन्ने हुटहुटीले मलाई काठमाडौंतिरै डोहोर्‍यायो ।

साली भगाएर काठमाडौं ल्याएँ
जवान हुँदै गर्दा स्कुले जीवनमै प्रेम प्रस्ताव त धेरै आए । कतिपय युवतीलाई आफैँले पनि प्रेम प्रस्ताव गरियो । त्यो चिठीपत्रको जमाना थियो । चिठीमा प्रेम आदान–प्रदान हुन्थ्यो । चिठीपत्र लेखियो, धेरैले जवाफ पनि फर्काए । कतिपयले मलाई मन पराएर चिठी पनि पठाए । तर, स्कुले जीवन चिठीमै बित्यो । डर पनि उत्तिकै हुन्थ्यो, प्रेमको तरंगले पनि सताउँथ्यो । भेटघाट गर्ने र सम्बन्ध अझ अगाडि बढाउने अवसर जुरेन ।

सानैदेखि रोधी बस्ने, रंग–रमाइलोमा म अगाडि थिएँ । तर, प्रेमबारे मैले धेरै अनुभूति गर्न पाइनँ । चिठीपत्र आदान–प्रदान भए पनि युवतीहरूसँग लामो प्रेमसम्बन्धमा रहन पाइनँ । खासमा म नाताले साली पर्नेसँग मायाजालमा परेको थिएँ । उनीसँग प्रेम गरेको केही महिनामै विवाह भयो । मागेर विवाह गर्ने रहर थियो । तर, परिवार राजी भएन । त्यसपछि उनलाई मेरोबारे धेरै खुल्दुली लागेछ । गाउँ–समाजमा रोधीतिर गाउँने रामजी खाँड भनेर चिनिएकै थिएँ । परिवारले विवाहका लागि सहमति नजनाए पनि उनले मप्रतिको प्रेम त्याग्न सकिनन् । मैले पनि उनलाई खुब मन पराउँथेँ । त्यसपछि भागेर हामी काठमाडौं आयौँ । यो ०५८ को कुरा हो । अहिले दुई छोरा छन् । उनीहरू ७–८ मा पढ्ने भइसके ।

मासिक आठ सयको डेरामा बसेँ
काठमाडौं प्रवेश त गरियो । तर, यहाँ कोही आफन्त थिएनन् । कता बस्ने, कसरी व्यवस्थापन गर्ने भन्ने समस्या थियो । ढल्कुमा मैले भनेजस्तै कोठा भेटेँ । मेरो आर्थिक समस्या टार्न त्यो कोठा उपयोगी बन्यो । भाडा जम्मा मासिक आठ सय रुपैयाँ मात्रै थियो ।

केही समय घरबाट ल्याउने, खर्च चलाउने र आफूले पनि गुजारा चलाउने क्रम जारी रह्यो । आफूले काम गरेर कमाएको पैसा सकेसम्म जोगाउँथेँ । किनभने, पैसा जम्मा गरेर एल्बम निकाल्ने उद्देश्य थियो । एल्बम निकालियो पनि । तर, त्यतिखेरका केही एल्बम ‘फ्लप’ भए।

मेरा गीत के बिक्नू रु त्यतिबेला त राजु परियारका गीत चल्थे । राजु परियारबाहेक केही सीमित कलाकारको स्वर मात्रै बिक्थ्यो । अधिकांशको एल्बममा राजु परियारकै स्वर हुन्थ्यो । त्यो मारमा म पनि परेँ । मेरो स्वर कम्पनीहरूले लिँदैनथे । म गीत लिएर कम्पनीमा पुगेँ भने पनि स्वरमा राज परियार नै ल्याउन भन्थे । आफूलाई केही पैसा आउँछ भने राजु दाइकै स्वर राखौँ न त भन्ने निर्णयमा पनि पुगेँ । चारवटा जति एल्बममा त उहाँकै स्वर राखेँ । तर, ती एल्बम पनि घाटामा गए ।

बाँच्न गाह्रो भएपछि दोहोरी साँझमा काम गरेँ
काठमाडौंमा बाँच्नै गाह्रो हुने भयो । मासिक आठ सय भाडा तिर्न पनि मुस्किल भयो । घरबाट सधँै पैसा ल्याउन सम्भव पनि भएन । आखिर मध्यमवर्गीय परिवार न थियो । भएको केही पैसा एल्बम निकाल्दा खर्च भयो । गोजी रित्तिँदै गएपछि अब के गर्ने भन्ने तनावले सताउन थाल्यो ।

दोहोरी गाउने कला भएकाले दोहोरी साँझ जागिरको उत्तम विकल्प हुन्छ भन्ने ठानेँ । काम पनि सुरु गरेँ । तर, त्यहाँ पनि पारिश्रमिक राम्रो हुँदैनथ्यो । तर, कहिलेकाहीँ ग्राहकबाट टिप्स पाइन्थ्यो । त्यही टिप्सले जीवन धान्ने मेसो मिलाएँ । ती दिन फर्किएर सम्झिँदा त अहिले सपनाजस्तै लाग्छ ।

दोहोरी साँझमा गीत गाएर डेरामा पुग्दा झन्डै उज्यालो हुन्थ्यो । सुतेर उठ्दा दिउँसो १२ बज्थ्यो । कोठामा खानेकुरा हुँदैनथ्यो । साथीभाइले खाजा खान बोलाए भने जान्थेँ, नत्र कति समय भोकै पनि बसियो । हाम्रो समाज र पारिवारिक पृष्ठभूमि लाहुरे हुन जाने, जागिर खाने नै हो । सांगीतिक क्षेत्रमा लाग्दा परिवार पनि खुसी थिएन ।

दुबईको भिसा लाग्यो गायनमा पनि चलेँ
अरूमाझ चिनिन झन्डै १० वर्ष लाग्यो । त्यो १० वर्षलाई मैले पीडादायी वर्ष भन्छु । ०५६ देखि गीत गाउँदै आए पनि ०६३ सम्म कुनै सफलता मिलेन । मेरा समकालीन धेरै साथीहरू कतिपय लाहुरे भइसकेका थिए । कतिपयले पोखरा, बुटवलतिर घर बनाइसकेका थिए ।

गाउँघरमा समेत ‘फलानोको छोराले यस्तो प्रगति गर्‍यो, तर फलानोको छोरोले केही गर्न सकेन’ भन्ने चर्चा चल्थ्यो । घर गएँ भने फर्किने वेला आमासँग बाटो खर्च माग्नुपर्ने वा चामल बोकेर आउनुपर्ने अवस्था थियो । घरमा अनेक कुरा गर्छन् भनेर दसैँ–तिहारमा समेत घर जान मन नलाग्ने अवस्था थियो । त्यो १० वर्षको अवधिमा निकै निराश अवस्थामा पुगेको थिएँ ।

केही सीप नलागेपछि संगीतको रहर गरेर मात्रै के गर्नू रु मैले हार खाएँ । पारिवारिक सल्लाहमा विदेश जाने निर्णय गरेँ । दुबई जान भनेर मेनपावरमा पासपोर्ट पेस गरेँ । भिसा पनि आयो । तर, संयोग नै भन्नुपर्छ, विदेशको भिसा पनि लाग्नु र मैले गाएको ‘पछ्यौरी लेऊ बैना’, ‘देउरालीको भट्टी पसल’ बोलका गीतले सफलता पाउनु एकैपटक भयो । मैले तत्काल भिसा क्यान्सिल गरिदिएँ । मेरो राम्रो भएपछि परिवारबाट विदेश जाने दबाब पनि आएन । मेरा ती गीत चलेका हुँदैनथे भने यतिवेला म विदेशतिरै हुन्थेँ होला ।

पछ्यौरी लेऊ बैनापछि हरेक गीतले चर्चा पाउँदै आए । जुन गायो उही गीत चल्न थाल्यो । सफलताले बिस्तारै पछ्याउँदै गयो । त्यसपछि आजसम्म पछाडि फर्किनुपरेको छैन । अहिलेसम्म झन्डै पाँच हजार गीत रेकर्ड गरिसकेको छु ।

गीत हिट भएपछि भ्याई–नभ्याई भयो
मैले एकपछि अर्को हिट गीत गर्दै गएँ । धेरै सर्जकले मेरा लागि गीत बनाउन थाल्नुभयो । व्यावसायिक रूपमा अरूको एल्बममा गीत गाउन मलाई भ्याई–नभ्याई भयो । गीत गाउन बोलाएपछि मैले गाउनैपथ्र्यो । यही बीचमा कतिपय धेरै राम्रा गीत गाएँ । तर, कतिपय गीत गुणस्तरीय थिएनन् । जानाजान पनि कतिपय गीत स्विकार्नुपर्ने भयो । अत्यन्तै चर्चा बटुलेपछि गीत छनोट गरेर गाउन थाल्यो भने घमण्डी भयो भन्नेहरू निस्किने रहेछन् । अर्कोतर्फ, जति नै चर्चा कमाए पनि एउटा गीत गाएर पाउने भनेको बढीमा १० देखि १५ हजार रुपैयाँ मात्रै थियो ।

नेपालको हकमा चलेका कलाकारले गीत छानेर गाउँछु, बार्गेनिङ गर्छु भनेर बस्ने अवस्था नै छैन । यदि त्यसो गरियो भने गुजारा चलाउन सकिन्न । यहाँ थोरै लगानीमा गीत तयार गर्न चाहनेहरूको भिड छ । त्यही भएर जति धेरै गाइयो उति धेरै आम्दानी हुन्छ भनेर स्टुडियोमा धेरै समय व्यस्त हुनुपर्ने बाध्यता छ । मैले पनि त्यही गरेँ, ढाँट्नुपर्ने केही छैन । यसो हुँदै गर्दा कुनै दिन यस्तो पनि अवस्था आयो कि, मैले एकै दिन नौवटा गीतसम्म गाएको छु । रामजी खाँडलाई गीत गाउँदा १० हजार तिर्नुपर्छ भने म सित्तैमा गाइदिन्छु भन्ने कलाकारको पनि बिगबिगी छ । यसले गर्दा पनि गुणस्तरीयभन्दा मात्राको हिसाबमा बढी गीत बजारमा आएका छन् ।

कुनै पनि कलाकारले मिहिनेत गर्न छाड्नुहुन्न
स्टेज कार्यक्रम कतिपय कलाकारका लागि बाच्ने आधार भएको छ । स्टेजतिर म पनि खुबै व्यस्त छु । विदेशतिरको स्टेजबाट स्वदेशबाट भन्दा धेरै नै पारिश्रमिक आउँछ । तर, सीमित कलाकारले विदेश पुग्ने अवसर पाउँछन् । नेपाली सांगीतिक क्षेत्रमा गुणस्तरीय सिर्जना अगाडि आउन बजार व्यवस्थित हुन आवश्यक छ । प्रविधिको विकास तीव्र छ । सुरुमा मैले गीत गाउँदा क्यासेट चक्का बिक्री हुन्थ्यो । बिस्तारै सिडीको जमाना आयो । पेनड्राइभ हुँदै अहिले युट्यब, इन्टरनेटबाट निःशुल्क गीत–संगीत सुन्न पाउने अवस्था छ ।नयाँ पत्रिकाले छापेको छ ।

यसले सांगीतिक क्षेत्रमा लगानी गर्न खोज्नेहरूलाई निराश बनाएकै छ । जतिसक्दो सस्तो मूल्यमा गीतसंगीत तयार पारौँ भन्नेको भिड बढ्नु भनेको गीतसंगीतमा गुणस्तरीयता कम हुँदै जानु हो । वर्षौंको संघर्षपछि चर्चा बटुलेका मजस्ता कलाकारदेखि प्रविधिको प्रयोगबाट एकाएक चर्चामा आएकाहरू पनि छन् । जति नै प्रविधिको विकास भए पनि कलाकारले मिहिनेत गर्न भने छाड्नुहुन्न । कलाकारको मिहिनेतले नै नेपाली सांगीतिक क्षेत्रलाई अझ उर्बर बनाउँछ ।

The post साली भगाएर काठमाडौँ ल्याएका चर्चित गायक रामजीखाँड भन्छन् डिप लभमा थिएँ, उनैसँग बिहे गरेँ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update