नौ वर्षपछि काठमाडौंकी कुमारी देवी फेरिँदै

shyane.com.np | 8:49 PM | 0 comments

काठमाडौंकी ‘कुमारी’ देवी नौ वर्षपछि यसपालि दसैं अवसर पारेर परिवर्तन गरिने भएको छ।

गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले महाअष्टमीको दिन परिवर्तन गर्न लागिएको हो।

‘१२ वर्ष पुगेपछि कुमारी परिवर्तन गर्ने चलन छ,’ वसन्तपुरस्थित कुमारी घरका प्रतिनिधि गौतम शाक्यले सेतोपाटीसँग भने, ‘सामान्यतया महिनावारी सुरु हुने बेला भएपछि कुमारी परिवर्तन हुन्छ।’

तीन वर्ष उमेरमा कुमारी भएकी मतिनालाई राजकीय सम्मानका साथ ‘कुमारी घर’ बाट विदाइ गरिनेछ। अष्टमीको दिन विधिविधानअनुरुप उनको घर फिर्ती तयारी पूरा भएको पारिवारिक स्रोतले बतायो। उनको ठाउँमा प्रतिस्थापन हुने नयाँ कुमारी देवी छनोट प्रक्रिया पूरा भइसकेको छ।

बालिकालाई शक्तिको स्रोत मान्दै देवीका रूपमा स्थापना गरेर पूजा गर्ने यो चलन काठमाडौंको मौलिक परम्परा हो। संसारले नै कुमारीलाई ‘जीवित देवी’ मान्दै आएको छ।

कुमारी छनोटको आफ्नै विशिष्ट विधिविधान हुन्छ।

सामान्यतया तीन वर्ष पूरा भएकी बालिकालाई कुमारी देवीका रूपमा स्थापना गरिन्छ। बीचमा केही नभएको अवस्थामा कुमारीले १२ वर्ष उमेर पुगेपछि अवकाश पाउँछिन्। यो उमेरलाई महिनावारीको अन्तिम चरण मान्दै कुमारी परिवर्तन गर्ने चलन रहेको जानकार बताउँछन्।

काठमाडौंमा कुमारी छनोट शाक्य वंशबाट हुन्छ। यहाँका १८ महाविहारमध्ये शाक्य कूलको निर्धारित लक्षणयुक्त कन्यालाई विधिपूर्वक कुमारी बनाइन्छ।

कुमारी घरका प्रतिनिधि शाक्यका अनुसार देवी परिवर्तनको समय भएपछि झन्डै दुई–तीन महिनाअघि ती १८ विहारमा खबर गरिन्छ। यो काम गोप्य हुन्छ। सूचना प्राप्त भएपछि प्रत्येक विहारले आ–आफ्नो तर्फबाट कुमारी छनोट प्रक्रिया सुरु गर्छ। आफ्नी छोरीलाई कुमारी राख्न इच्छुक वा छोरी कुमारी हुन उपयुक्त देखेका आमाबाबुले विहारसमक्ष इच्छा जाहेर गर्छन्।

सबै विहारबाट मनोनीत भएर आएपछि तिनको चिना राजज्योतिषलाई देखाइन्छ। उनले चिना हेरेर बत्तीस लक्षणयुक्त बालिका छनोट गर्छन्। तलेजु भवानीका पुजारी अर्थात् बडागुरुले पनि कुनै घाउचोट नलागेका र बत्तीस लक्षणयुक्त बालिका छनोट गर्न सघाउने शाक्यले जानकारी दिए।

‘धेरैजसो विहारबाट मनोनीत भएर आएका एक जनाको मात्र चिना हेरे पुग्छ,’ शाक्यले भने, ‘कुनै बेला भने दुई–तीन जनाको पनि हेर्नुपर्छ।’

छानिएकी नयाँ कुमारी देवीलाई उपयुक्त दिनमा पुजारीसहित राष्ट्रप्रमुखकहाँ लगिन्छ। महाअष्टमीको दिन कुमारी देवी परिवर्तन गर्ने भनेर राष्ट्रप्रमुखकहाँ प्रस्ताव राखिन्छ। र, पुरानोलाई राजकीय सम्मानका साथ विदाइ गरेर नयाँ कुमारी प्रतिस्थापन गरिन्छ।

गौतम शाक्यका अनुसार कुमारी हुने बालिका त्यस्तो बत्तीस लक्षणयुक्त हुनुपर्छ, जुन गौतम बुद्ध र चक्रेश्वर राजामा थियो।

‘कुमारी हुन कपाल लामो र कालो हुनुपर्छ। अनुहार गहुँगोरो, तेजिलो, दाँत पूरा भएको, निडर, शरीरमा दाग नभएको, हेर्दा चिटिक्क परेको, नाक सलक्क परेको, आँखा तेजिलाजस्ता विशेषता हुनुपर्छ,’ शाक्यले भने, ‘यी लक्षण चिनामा भेटिएपछि बल्ल राजज्योतिषले स्वीकृती दिन्छन्।’

कुमारी कथा

कुमारी देवीसँग काठमाडौंका धेरै जात्रा र पर्व जोडिएका छन्। इन्द्रजात्रा, घोडेजात्रा, मच्छिन्द्रनाथ जात्रा लगायत गरी १३ पटक कुमारीघरबाट देवीको रथायात्रा निकालिन्छ। अन्य नेवारी चाडपर्वमा पनि उनको रथयात्रा हुन्छ। काठमाडौं महानगरपालिकाले कुमारी देवीलाई मासिक ४० हजार र सरकारबाट ७ हजार रूपैयाँ उपलब्ध गराउने चलन छ।

कुमारी देवीको परम्परा लिच्छिविकालदेखिकै हो। कुमारीघर निर्माण र रथयात्रा थालनीको व्यवस्था भने २ सय ५८ वर्षअघि राजा जयप्रकाश मल्लले गरेका हुन्।

कुमारी संस्कृतिविद् दुर्गा शाक्यका अनुसार अन्न र जलका देवता रातो मच्छिन्द्रनाथको नेपाल (काठमाडौं) प्रवेशसँगै कुमारी प्रतिस्थापन गर्ने परम्परा बसेको हो। मच्छिन्द्रनाथलाई काठमाडौं ल्याउँदा कोदुवाल दह आइपुगेपछि उनले भनेछन्, ‘कुमारी प्रतिस्थापन नभएसम्म म बुङमती प्रवेश गर्दिनँ।’

त्यसपछि तान्त्रिक बन्धुदत्त बज्राचार्यले आफ्नै छोरीलाई बुङमतीमा कुमारीका रूपमा प्रतिस्थापन गरेको किम्बदन्ती छ ।

बुङमतीमा आजभन्दा १४४० वर्षअघि नै कुमारी परम्परा बसेको दुर्गाले आफ्नो पुस्तक ‘हाम्रो संस्कृतिमा देवी तुलजा र कुमारीको स्थान’ मा लेखेकी छन्। उनले कलिगत सम्बत ३६७६ मा रातो मच्छिन्द्रनाथको काठमाडौं प्रवेश भएको किताबमा उल्लेख गरेकी छन् । अहिले कलिगत सम्बत ५११६ हो ।

यसैअनुसार लिच्छवि राजा गुणकामदेवले कन्या केटीलाई कुमारी बनाई पूजा गर्ने परम्परा बसाएको दुर्गाको किताबमा छ।

मल्लकालमा काठमाडौं, पाटन र भक्तपुर तीनै राज्यमा दरबारको राजकीय कुमारी र टोलटोलमा स्थानीय कुमारी थापना गरी नित्य पूजा गर्ने परम्परा सुरु भएको पाइन्छ।

काठमाडौं उपत्यकामा तान्त्रिक पद्धतिअनुसार विधिवत थापना गरिनेमध्ये वसन्तपुरको ‘राजकीय’ कुमारी ‘जीवित देवी’ का रूपमा विश्वप्रसिद्ध छ। यसअतिरिक्त नित्य पूजा हुने कुमारीमा मूबहाः, क्वाबहाः, तानाबहाः, किलागः, चाबहिल, टोखा, हःबहाः, सोनिम्ह, एकान्त, वने लाय्कू, टिबुक्छेँ, बुङमती र त्रिशूली कुमारी छन्।

वसन्तपुरको घरमा प्रतिस्थापित कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीकका रूपमा समेत मानिँदै आएको छ।

यससँग सम्बन्धित अर्को किम्बदन्ती पनि दुर्गाले उल्लेख गरेकी छ।

विसं १३८१ मा सिमरावनगढका राजा हरिसिंहदेव तुलजा भवानीसहित नेपाल (हाल काठमाडौं उपत्यका) आएका थिए। त्यसै बेला हरिसिंहदेवकी रानी देवलदेवीले भादगाउँको दरबारमा तुलजा भवानी स्थापना गरेकी थिइन्। त्यसपछि मल्ल राजाहरूले तुलजा भवानीलाई इष्टदेवीका रूपमा मान्न थाले।

मल्ल राजाहरूसँग एक प्रकारको तान्त्रिक यन्त्र थियो। त्यसको शक्तिद्वारा उनीहरू तुलजा भवानीसँग प्रत्यक्ष वार्ता गर्थे रे। राजकाजसम्बन्धी सरसल्लाह लिन्थे रे। र, समयसमयमा पासासमेत खेल्थे रे।

एकदिन राजा त्रैलोक्य मल्लकी छोरी गंगादेवीले तान्त्रिक यन्त्र खोलेर हेरिछन्। त्यो यन्त्र कुनै स्त्रीले हेर्न हुँदैनथ्यो रे। तुलजा भवानीले रिसाएर राजालाई भनिछन्, ‘अबदेखि तिमीहरूले मेरो प्रत्यक्ष दर्शन पाउने छैनौ। बरु म कुमारीका रूपमा आई तिमीहरूलाई आवश्यक सल्लाह दिनेछु।’

यति भनेर उनले आदेश दिइछन्, ‘शाक्य कूलकी कन्यालाई कुमारी बनाउनू।’

अनि, तुलजा भवानी अन्तर्ध्यान भइन् रे।

पछि कान्तिपुरका अन्तिम मल्लराजा जयप्रकाशलाई एक रात सपनामा कुमारीबाट आज्ञा भयो रे, ‘तिम्रो राज्यभोग समय समाप्त हुन लाग्यो, आफ्नो राज्य अवधि बढाउने इच्छा भए मेरो लागि स्थायी बासस्थान बनाइदिनू र रथयात्रा चलाउनू। यति गरे तिम्रो राज्यभोग १२ वर्ष बढ्नेछ।’

जयप्रकाश मल्लले सपनामा पाएको त्यही आदेशअनुसार विसं १८१३ फागुनमा कुमारीघरको जग हालेको भनाइ छ। यसको निर्माण ६ महिनापछि १८१४ भदौमा पूरा भएको थियो।

उनले त्यसै वर्षबाट कुमारी, गणेश र भैरव रथयात्रा सुरु गराए। कुमारीघर व्यवस्थापन र कुमारीको रेखदेख निम्ति चिताइदारको व्यवस्थासमेत गरे।

र, यसैको प्रभावले जयप्रकाशको राज्यकाल १२ वर्ष थपियो भन्ने भनाइ छ।

‘मल्लकालमा नयाँ सिक्का निकाल्दा कुमारीलाई चढाइसकेपछि मात्र चलनमा ल्याइन्थ्यो,’ दुर्गा भन्छिन्, ‘कुमारीकै नाउँबाट देशमा आयव्ययको लेखापरीक्षण गर्ने कुमारी चोक अड्डा स्थापना भएको थियो।’

यो अड्डा ‘महालेखा परीक्षक’ का रूपमा प्रचलित छ।

‘बालबालिकाको हृदय पवित्र हुन्छ। छल, कपट, राग, द्वेषको भावना हुँदैन। त्यसैले, तुलजा भवानीले कुमारीको रूप धारण गरेकी हुन्। र, शाक्य कूलकी कन्यालाई कुमारी बनाएर तुलजा भवानीको प्रतीकका रूपमा पूजा गर्ने चलन चल्दै आएको हो,’ दुर्गाको भनाइ छ।

कुमारीको दिनचर्या

कुमारी देवीको दिनचर्या व्यवस्थित हुन्छ। यसको चाँजो निम्ति छुट्टै परिवारको व्यवस्था हुन्छ, जसलाई चिताइदार भनिन्छ।

दिन सुरुआत कुमारीको नित्य पूजा गर्न सर्जाम व्यवस्थाबाट हुन्छ। कुमारीघरमा रहेका सबै देव–देवीलाई चढाउन भोगको प्रबन्ध मिलाइन्छ। नित्य पूजा निम्ति कुमारीलाई नुवाइधुवाइ गराउने, कोरीबाटी गरेर वस्त्र पहिराउने र शृंगार गर्ने काम हुन्छ।

कुमारीको शृंगार आध्यात्मिक भावनाले परिपूर्ण हुन्छ। त्रिनिनयन र त्रिकोणात्मक रातो टीका लगाउने परम्परा छ। पूजाको निम्ति त्रिकोण मुद्राको आसनमा बसालिन्छ।

‘वज्रयान परम्परामा रातो वर्णसहितको त्रिकोण मुद्रामा अलौकिक शक्ति रहेको वर्णन छ,’ दुर्गा शाक्यले आफ्नो पुस्तकमा लेखेकी छन्।

कुमारीले रथयात्रा तथा अन्य अवसरमा पहिरिने आभूषण पनि विशिष्ट हुन्छन्। यसमा रातो र सक्कली तासको चौबन्दी चौलो र जामा, शिरमा जालीदार रातो धागो, मौलिक र कलात्मक तायो, त्रिकोण आकारको साधारण र नवरत्नजडित मुकुट, तुलसी पत्ता लच्किएको सिंगुली माला (नरमुण्ड मला) प्रमुख छन्। जन्त्रका माला, घुंघुरु, बाला, चुरा, जभि, नागमाला र बेरुवा औंठी पनि लगाइन्छ।

शृंगार र बिहानको नित्य पूजापछि भोजनको समय हुन्छ।

भोजन तयार गर्दा शुद्धतामा विशेष ध्यान पुर्याउनुपर्ने गौतम बताउँछन्। कुमारी देवीलाई चिताइदारबाहेक अरूले पकाएको खुवाइँदैन। कहीँकतै लसपस नहोस् भनेर ख्याल गर्नुपर्छ।

भोजन तयार गर्न छुट्टै भोजनगृहको व्यवस्था छ। त्यो कोठा सफासुग्घर गरेर चोखो बनाइएको हुन्छ। त्यहाँ चिताइदार परिवारबाहेक अरू छिर्न पाउँदैनन्। पकाउने पनि चिताइदारहरू नै हुन्। भोजनमा साकाहारी र मांसाहारी सबैखाले परिकार हुन्छन्। कुखुराको मासु र अन्डा भने चल्दैन।
कुमारीलाई इन्द्रजात्रा, पूजाआजा वा विशेष समारोहमा चाँदीको थालमा खुवाइन्छ। अरू बेला पित्तलको थाल प्रयोग हुन्छ।

भोजनपछि पालो आउँछ, पढाइलेखाइको।

दिनहुँ १२ देखि ४ बजेको समय पढ्न छुट्टयाइएको हुन्छ। यस अवधिमा कौशी तोषखाना र गुठी संस्थानद्वारा नियुक्त सरकारी शिक्षक आएर कुमारीलाई पढाउने गर्छन्। २०३५ सालसम्म ‘प्राइभेट’ कक्षा सञ्चालन गरिन्थ्यो। त्यसयता सरकारी पाठ्यक्रमअनुसारै पढाइँदै आएको छ। स्कुलमा जसरी औपचारिक शिक्षा दिइन्छ, यहाँ पनि त्यही लागू हुन्छ।

कुमारीलाई पढाउन दिनहुँ एक जना शिक्षक आउने गर्छन्। विषयअनुसार शिक्षक फरक पर्छ।

कक्षा सकिएपछि कुमारी अरू सामान्य केटाकेटीजस्तै क्यारम बोर्ड, ब्याडमिन्टन लगायत खेल्ने गर्छिन्। त्यसपछि केही बेर भक्तजनलाई दर्शन दिएर बेलुकी ८ बजेतिर खाना खुवाइन्छ।

सामान्यतया ९ देखि साढे ९ बजे सुत्ने समय हुन्छ।

सेतोपाटीबाट

The post नौ वर्षपछि काठमाडौंकी कुमारी देवी फेरिँदै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update