मृतक दुई युवा युवतीले पानीभित्र पनि सानो बच्चालाई च्यापेर राखेका थिए

shyane.com.np | 9:21 AM | 0 comments

शनिबार विहान ५ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ बांगेमोडस्थित त्रिशूली नदीमा राजविराजबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस डुबेको खबर आएपछि हामी उद्धारका लागि क्षणभरमै तयार भयौं । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम केन्द्रमा कार्यरत हामीहरुको काम नै यथाशक्य चाँडो उद्धारमा खटिनु हो । एकाविहानै सञ्चार सेटमा यस्तो दुुःखद खबर आएपछि हामी आवश्यक सामाग्री बोकेर त्यसतर्फ लाग्यौं ।

हामी सशस्त्र प्रहरी निरीक्षक अजयकुमार थापाको कमाण्डमा १९ जनाको टोली घटनास्थल गएका थियौं । कुरिनटारस्थित हाम्रो तालिम केन्द्रबाट घटनास्थल त्यस्तै ५५ किलोमिटरको दूरीमा पर्छ । हामी त्यहाँ पुग्दा त्यस्तै साढे ६ जति बजेको थियो ।

हामी घटनास्थल पुग्दा त्यहाँको स्थिति अत्यन्तै कारुणिक थियो । यात्रुहरु जताततै छरिएका थिए । सबै यात्रु पीडाले छटपटिरहेका थिए । कतिपय उद्धार र सहयोगका लागि याचना गरिरहेका थिए । उनीहरुको स्थिति हेर्दा अधिकाँश पौडेर नदी किनारमा आउन सफल भएको जस्तो देखिन्थ्यो । कतिपयमा भने आफन्त नभेटिएको पीडा देखिन्थ्यो । केही व्यक्ति भक्कानो छाडेर रोइरहेका थिए ।

हामीले पहिलो काम नदी किनारमा अलपत्र परेका १६ जना यात्रुलाई मुख्य सडकमा ल्यायौं । कसैलाई बोकेर ल्याउनु प-यो भने कसैलाई डो¥याएर । सामान्य घाइते भएका कोही कोही भने आफै हिडेर पनि मुख्य सडकमा आउन सके । मुख्य सडकमा ल्याइसकेपछि उनीहरुलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा पठाउने काम ग¥यौं । यी सबै काम गर्दा विहान सवा ७ बजिसकेको थियो ।

घाइतेहरुलाई उद्धार गरिसकेपछि हामीहरु बसको खोजीमा जुट्यौं । बसको खोजीमा जुट्दा विहानको साढे सात बजिसकेको थियो । हुन त हामीले घाइतेहरुको उद्धारका लागि नदी किनारमा पुग्दा बस देखेका थिएनौं । बस पूरै डुबेको थियो । बस पूरै डुबेकाले कोही पनि यात्रु जीवित नरहेको भन्दै हामी घाइतेहरुको उद्धारमा जुटेका हौं । हुन पनि पानीमा डुबेको मान्छेको दुई तीन मिनेटमै मृत्यु भइसक्छ ।

सशस्त्र प्रहरी बलमा अहिले २० जना तालिमप्राप्त गोताखोरको टोली छ । सो टोली मुलुकका विभिन्न भागमा खटिएको छ । कुरिनटारस्थित हाम्रो तालिम केन्द्रमा भने हामी पाँच जना मात्र गोताखोर छौं । त्यसबेला हाम्रो टोलीमा भने सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार वीरेन्द्रबहादुर कार्की, हबल्दार नरेन्द्रसिंह भण्डारी र म सहित तीन जना गोताखोर थियौं ।

आवश्यक सामानसहित बसको खोजीका लागि हवल्दार भण्डारी र म पानीभित्र छि-यौं । वरिष्ठ हबल्दार कार्की भने आवश्यक सहयोगका लागि बाहिर बस्नु भयो । पानीभित्र पस्दा सुरक्षाका लागि आवश्यक पर्ने सबै सामान हामीले बोक्यौं । पानीमा पस्दा सुट, बुट, नाइफ, मिडल, अक्सिजन, चस्मा लगायतका सामान आवश्यक पर्छ । यी सामानसहित पानीमा पस्दा एक घण्टासम्म पानीभित्रै रहेर काम गर्न सकिन्छ । अक्सिजनले पनि एक घण्टा जति काम गर्छ । तर, पानी अत्यन्तै चिसो भएको, चाँडो चाँडो स्वास फेर्नुपर्ने परेकाले अक्सिजनले ४५ मिनेटभन्दा बढी काम गरेन । अर्काे कुरा, शव निकाल्नु पर्दा श्वास झन चाँडो चाँडो फेर्नुपर्छ । बल पनि अलि बढी नै प्रयोग गर्नुपर्छ । समग्र उद्धारका हामी दुई जना गोताखोरले आठ वटा जति अक्सिजन प्रयोग ग-यौं ।

विहान सबेरै भएकाले पानी अत्यन्तै चिसो थियो । छुँदा पनि हातै ठिहि-याउने । पानी धेरै सङ्लो पनि थिएन, धेरै धमिलो पनि थिएन । जस्तोसुकै भएपनि पानीभित्र छिर्नै पथ्र्याे । पानीभित्र पसेको केही समयमै हामीले बस भेट्टाइहाल्यौं । सो बस पानीको सतहबाट झण्डै २० फिट जति गहिराईमा डुबेको थियो । हुन त त्रिशूली नदीमा डुबेका कतिपय बस, ट्रक र पूर्वगृहमन्त्री माधव घिमिरे सवार स्कारपिओ जीप अझै भेट्न सकिएको छैन । कतै यो बस पनि फेला नपर्ला कि भन्ने डर पनि हामीमा थियो । तर, यस्तो भएन, हामीले समयमै बस फेला पार्न सक्यौं ।

हामीले पानीको जुन गहिराईमा बस भेटेका थियौं, त्यहाँ पानीको बेग तिब्र थिएन । बेग तिब्र भएको भए बस भेट्न पनि मुस्किल पथ्र्यो । भेटिहाले पनि उद्धारका लागि सारै गाह्रो हुन्थ्यो । पानीको बेग तिब्र भएको भए शवहरु बग्न पनि सक्थे ।

हामीले बस भेट्दा बसको अगाडीपट्टिको क्याविनको भागको सिसा फुटेको थियो । हामी फुटेकै भागबाट बसभित्र पस्यौं । पानीभित्र झण्डै डेढ मिटरसम्म प्रष्ट देखिन्थ्यो । यसले हामीलाई मृत शरीर खोज्न धेरै समय लागेन ।

बस भेटियो, बसभित्र पनि हामी पस्यौं । तर बसभित्रको स्थिति अत्यन्तै दयनीय थियो । बसभित्र मृत शरीर जताततै देखिन्थ्यो । कतिपय शव त एकमाथि अर्काे खप्टिएको । धेरै त एकले अर्कोलाई हातमा समातेको जस्तो अवस्थामा थिए ।

बसभित्र सबैभन्दा दर्दनाक र जीवनभर बिर्सिन पनि नसकिने एउटा घटना के थियो भने एक जना युवक र एक जना युवती सानो बच्चालाई बीचमा राखेर एकले अर्कालाई अंगाले मारेको अवस्थामा थिए । ती तीन ओटै शवलाई हामीले अलग अलग नगरिकन बाहिर निकाल्यौं । तीन ओटा शवलाई सँगै निकाल्दा बाहिर बसेका कतिपय अचम्ममा पनि परे । कारण के हो भने, केटा केटी दुबैले बच्चालाई च्यापेको । यो दृश्य अहिले पनि पटक पटक सम्झिरहेको छु ।

हामीले पानीभित्र बस भेट्दा कतिपय सिटहरु भाँचिएका थिए । धेरै जसो सिसा फुटेका थिए । बसभित्रबाट शव निकाल्नु पर्ने भएकाले कतिपय सिसा हामीले पानीभित्रै फुटायौं पनि । सामान्य अवस्थाका शव बाहिर निकाल्न हामीलाई दुई तीन मिनेट पनि लागेन । तर, सिटले च्यापिएका, अड्किएका मृत शरीर निकाल्न अलि समय भने लाग्यो । एउटा पुरुषको शव निकाल्न भने हम्मे हम्मे नै प¥यो । त्यो शव दुई ओटा सिटको चेपमा अड्किएको थियो । त्यो शव निकाल्न झण्डै आधा घण्टा नै लाग्यो । त्यो शव निकाल्न झण्डै २० मिनेटसम्म हामी पानी भित्रै रह्यौं ।

पानीभित्र पसेका हामी दुई जनालाई ३१ वटा मृत शरीर निकाल्न साँझको चार नै बज्यो । त्यसपछि सो बसलाई डोरीले बाँधेर अन्य साथीहरुको सहयोगमा नदी किनारमा ल्याउन सफल भयौं ।

मलाई के लाग्छ भने घटनास्थलको प्रकृति र पानीभित्र बसको अवस्था हेर्दा केही व्यक्तिलाई बगाएको पनि हुन सक्छ । बसका सिसाहरु फुटेकाले पनि यो अनुमान गरिएको हो । अर्काे कारण के हो भने, बसका सिसा फुटेर उछिट्टिएका १६ व्यक्ति त जीवित पनि फेला परेका छन् ।

मैले बंगलादेशबाट तीन महिना लामो गोताखोर तालिम लिएको छु । सो तालिमका क्रममा म पानीको सतहबाट एक सय ८० फिट मुनीसम्म गएको छु । साँच्चै भन्नु पर्दा गोताखोर तालिम गर्न सहज छैन । ज्यानकै बाजी मार्नु पर्छ । हामीसँग गोताखोर तालिम गरेका कतिपय साथीहरुको कानै नसुन्ने समस्या पनि देखियो । यो ‘रिकभर’ हुन पनि वर्षाैं लाग्दो रहेछ । विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा –
कार्यरत सशस्त्र प्रहरी बलका जवान डिल्ली भट्टराईको अनुभूति राजधानीबाट

The post मृतक दुई युवा युवतीले पानीभित्र पनि सानो बच्चालाई च्यापेर राखेका थिए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update