६ महिना अगाडी आमा गुमाएका रदेश पनि बिदेशमा सुतेको ओछ्यानबाट ब्युँझिएनन्

shyane.com.np | 7:02 PM | 0 comments

काठमाडौं, असोज २४ – घरमा बुढीआमा र सानो भाइ । बुबा सानैमा बितेकाले रदेश राईको थाप्लोमा आमा र भाइका लागि आफैंले कमाउनुपर्ने बाध्यता आयो । गाउँमा मोटरबाटो पुगेको थिएन । दालचामल र नुनतेलको भारी मान्छे र खच्चडले बोक्नुपर्थ्यो ।

घरखर्च चलाउन रदेशले भारी बोक्ने काम गरे । तर भरिया बनेर घरखर्च थेग्न गाह्रो भयो । रदेशले देशमा गरिखाने अरु उपाय देखेनन् । घरको दुःखले धेरै लेखपढ गर्ने मौका पाएका थिएनन् । भारी बोक्ने बाहेक हातमा अरु सीप पनि थिएन । भारी बोकेर जीवन नचल्ने देखेपछि उनी भारत पसे ।

तर त्यहाँ पनि भनेजस्तो काम र कमाई भएन । आमा र भाइले फकाएर उनलाई भारतबाट घर फर्काए । तर उनको मन गाउँमा अडिएन ।

त्यसपछि पासपोर्ट बनाएर उनी २०७१ वैशाखमा रोजगारीका लागि मलेसिया पुगे । त्यतिबेला उनी जम्मा २० वर्षका मात्र थिए । मलेसियाको पेनाङमा रहेको मेनरा केरजया फास्टेनर्समा काम गर्न पुगेका रदेशको कमाईले घर राम्रैसित चलिरहेको थियो । रदेशले घरखर्चसँगै भाइ र बुहारीको पढाइ खर्च पनि पठाइदिन्थे । आफूले पढ्न नपाएपनि भाइ र बुहारीलाई पढाउने धोको थियो उनको ।

गएको फागुन २० गते रदेशको परिवारमा कसैले कल्पना नगरेको घटना भयोे । आमा रामकुमारी राईले झुण्डिएर आत्महत्या गरिन् । आमाको किरिया गर्न रदेश मलेसियाबाट छुट्टिमा गाउँ आएका थिए । किरिया सकेर गएको चैत २० गते पुनःश्रमस्वीकृति गरेर उनी मलेसिया फर्किए ।

मलेसिया पुगेको पाँच महिनामै रदेशको जिन्दगीमै बज्रपात आइलाग्यो । गएको भदौ २१ गते राती सुतेको ठाउँबाट रदेश ब्युँझिएनन् । घोप्टो सुतिरहेको अवस्थामा साथीहरुले उनलाई भेटे । पोष्टमार्टम रिपोर्टमा ‘एक्युट कोरोनरी सिन्ड्रोम’ अथवा मुटुमा रगतको बहाव कम भएर रदेशको ज्यान गएको उल्लेख छ ।

उनका नजिकका नातेदार हुन खोटाङको खोटेहाङ गाउँपालिका ९ (साविकको लिच्किराम्चे गाविस ९) का २२ वर्षे दिवस राई । दिवस मृतक रदेशका एक मात्र भाइ हुन् । उनै दिवस गएको भदौ २८ गते काठमाडौंको नयाँबानेश्वरमा रहेको वैदेशिक रोजगार प्रर्वद्धन बोर्डको कार्यालयमा भेटिए । मलेसियामा ज्यान गुमाएका दाइको शव लिन एकजना आफन्तको साथ लागेर उनी खोटाङबाट काठमाडौं आइपुगेका थिए ।

रदेशले काम गर्ने मलेसियाको कम्पनीले शव भदौ ३० गते काठमाडौं आइपुग्ने दिवसलाई जानकारी गराएको थियो । त्यही शव घरगाउँसम्म पुर्‍याइदिनका लागि सहयोगको निवेदन बोकेर दिवस बोर्डको कार्यालयमा तोक लगाउन हाकिमहरुका कोठा कोठा घुम्दै थिए ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको शव बोर्डले निःशुल्क गाउँसम्म पुर्‍याइदिन्छ । शव पुर्‍याउन चार वटा नीजि कम्पनीले जिम्मा लिएका छन् । चाहिएका बेला ती कम्पनीले गाडी उपलब्ध गराउँछन् ।

रदेशको शव लिएर दिवससँगै म पनि खोटाङ जाने भएँ ।

मध्यरात भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसको चहलपहल बाक्लो थियो । दसैँतिहार मनाउन विदेशबाट आउने आफन्तलाई पर्खेर बसेकाहरुको आँखा आगमन कक्षमा थियो । त्यै भिडमा थिए दिवस । उनका आँखा लोलाएका थिए । आमा बितेको ६ महिना मात्रै भएको थियो । आमापछिको एक मात्रै अभिभावक गुमाउँदाको पिडा कस्तो होला भन्ने अनुमान पनि गर्न सकिन्नथ्यो ।

दिवसलाई विमानस्थलको भिडको वास्ता थिएन । विदेशबाट फर्केका आफन्त देखेपछि चिच्याउनेहरुको आवाजले उनी बेलाबेला झस्कन्थे । शव कुरेर बसेका दिवसलाई फोन उठाउँदै त्यहाँ के भइरहेको छ भन्ने जानकारी दिन भ्याइनभ्याई थियो । फुर्सदमा टोलाउँथे । घरीघरी यताउता हिँडिरहन्थे ।

आफन्त कुर्ने ठाउँमा राखिएको विद्युतीय बोर्डमा रातीको साढे १० बजे मलेसियन एयरलाइन्सको विमान ल्याण्ड गरेको जानकारी राखियो । त्यो थाहा पाएपछि दिवस जुरुक्क उठे ।

मृत्यु भएको ९ दिन पछि रदेशले काम गर्ने मलेसियाको कम्पनीले शव नेपाल पठाइदिएको थियो । त्यसअनुसार भदौ ३० गते राती ११ बजे शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु पर्ने हो । त्यसै अनुसार तयारी पनि गरिएको थियो । बोर्डले शव लैजाने गाडी पनि तोकिसकेको थियो । तर विमानले शव मलेसियामा नै छुटाएपछि भोलीपल्ट मात्रै शव नेपाल आइपुग्ने भयो ।

उसै त शोकले गलेका दिवस एक दिन ढिला शव आउने भएपछि छटपटी अरु बढेको थियो । उनलाई अझै पनि शव आउने कुरामा शंका थियो । कतै शव नल्याइदिने पो हुन कि भनेर चिन्ता गरिरहन्थे ।

शव ल्याउने हवाइजहाज ‘ट्रयाक’ गर्दा पेनाङबाट क्वालालाम्पुरमा भने तोकिएकै समयमा पुर्‍याइएको थियो । क्वालालाम्पुरबाट काठमाडौंमा भने त्यसैदिन शव पठाइएन । भदौ ३१ गते राती साढे १० बजे मात्रै रदेशको शव मलेसियन एयरलाइन्सको फ्लाइट नम्बर एमएच ११४ मार्फत नेपाल आइपुग्यो ।

विमानस्थलमा कागजपत्र तयार भइसकेपछि आगमन कक्षको बाटो हुँदै एकजना प्रहरीले यात्रुको लगेज आउने ठाउँ भन्दा भित्र पट्टि लगे । जहाँ जहाजबाट यात्रुका लगेज ओसारिँदै थियो । अलि पर कुनामा सेतो बाकस देखियो । सेतो बाकस बाहिर टाँसिएको मृतकको नाम पढेपछि दिवस मुढो झैं भए ।

आफ्नो नाम ठेगानामा दाइको मृत शरीर लाहाछाप गरेर बाकसमा आएको देखेपछि उनी न बोल्न सके न रुन । निधारबाट चिटचिट पसिना आए । दिवससँग बोल्ने शब्द पनि थिएन । मलेसियामा दाइ सुतेको सुत्यै भएको खबर सुनेदेखि नै उनको आँखाबाट धेरै आँसु बगिसकेको थियो । ६ महिनाको अन्तरमा भएका दुवै जना अभिभावक गुमाएका थिए उनले ।

प्रक्रिया पूरा गरेर अध्यागमनबाट शव बाहिर निकाल्दा मध्यरात भइसकेको थियो । बा १७ च ७८६४ नम्बरको बोलेरो पिकअप रदेशको शव बोकेर मध्यरातमा विपि राजमार्गको बाटो हुँदै काठमाडौंबाट खोटाङका लागि हुँइकियो । दाइको शवसँगै बसेका दिवसले गाउँमा बडीआमालाई ‘दाइलाई अगाडि लाएर ल्याउँदैछु, भोली आइपुग्छु । बाकस सहित लाश ११४ किलोको छ, बोक्ने मान्छे अलि धेरै पठाउनु,’ फोन गरेर खबर गरे । फोन राखिसकेपछि भक्कानिए । धेरैबेर सुँक्कसुक्क गरिरहे ।

आमाको मृत्युको शोकले दिवसको ज्यानमा हाडछाला मात्र बाँकी छ । अनुहारमा हाँसो हराएको छ । सानैमा आमाको साथमा छाडेर बुवा स्वर्गे भएपछि आमा मात्र सहारा थिइन् । साँझ सँगै खाना खाएर सुतेकी आमालाई दिवसले बिहान ओछयानबाटै घर छेउको चुवाको बोटमा झुण्डिएको देखे ।

एकातिर आमा गुमाउनुको पिडा, अर्कातिर पोष्टमार्टमका लागि शव गाईघाट पुर्‍याउन दिवसले अनेक झन्झट बेहोर्नुपर्‍यो । खर्चबर्चको समस्या त थियो नै । बोकेर उदयपुरको बस्तीपुरसम्म लगेपनि त्यहाँबाट शव लैजानका लागि गाडी पाउन समेत मुश्किल परेको थियो ।

त्यसैले पोष्टमार्टम पछि आमाको शव घर फर्काउन सकेनन उनले । शव पुर्न जमिन पनि सजिलै पाएनन् उनले । भनसुन गरेर एक सामुदायिक वनभित्र आमालाई ‘मट्टि’ (शव जलाउनेहरुले दागबत्ति दिए जसरी पुर्नेहरुले मट्टि दिने चलन छ) दिएर उनी किरिया बार्न गाउँ आए । त्यसैले दिवसले दाइको शव भने गाउँमै लैजाने निर्णय गरेका थिए । गाउँलेलाई मृतक दाइको अनुहार देखाएर आफनै बारीमा राख्ने उनको योजना थियो ।

विमानस्थलबाट शव खोटाङ पुर्‍याउने जिम्मा पाएका थिए मकवानपुरको हेटौंडा ५ का प्रेमबहादुर कार्कीले । ४३ वर्षे प्रेमबहादुरले गाडी चलाउन थालेको २२ वर्ष भयो । यतिका वर्षमा उनले अनेक खालका यात्रुवाहक र मालवाहक गाडी चलाए ।

पछिल्ला १५ वर्षदेखि उनले विदेशबाट ल्याइएका शव बोक्ने पिकअप चलाउन थालेका हुन् । सुदूरपश्चिमको कञ्चनपुरमा शव पुर्‍याएर अघिल्लो दिन मात्रै काठमाडौं आइपुगेका प्रेमबहादुरको बाटो कटाउने मेलो थियो, लोक दोहोरी गीत ।

गीत सुन्दै गाडी चलाइरहँदा डालीमा बाँधिएको शव ठिकठाक भए नभएको हेर्न उनी बेलाबेला पछाडि फर्कन्थे । अनि एक्सिलेटर अरु दबाउँथे । बाँधिएको शव फर्किएर हेर्नुपर्ने गरीको घटना रहेछ उनीसँग ।

भएछ के भने, एकपटक विदेशबाट आएको शव लिन काठमाडौंमा मृतकका आफन्त नआएपछि उनी एक्लैले रातसाँझ गरेर पुर्‍याउन लैजाँदै रहेछन् । थानकोट कटेपछि घुम्तीमा शव राखिएको बाकस अर्को पट्टि पल्टियो । ‘लाश झरेको भए मैले त्यो मध्यरातमा के गर्थे हुुँला, अथवा लाश खसेर मैले थाहा नपाएको भए के हुन्थ्यो,’ उनले एकै सासमा सुनाइभ्याए । सानैमा घरबाट भागेर हिँडेका प्रेमबहादुरले रहरले यो काम रोजेका होइनन् । अब त उनलाई बानी परिसकेको छ ।

उदयपुर जिल्लाको रसुवाघाट पुग्न ७० किलोमिटर कच्चि सडक समेत गरेर झण्डै ४ सय किलोमिटर यात्रा गर्नुपर्ने थियो । गाडीले शव रसुवाघाटसम्म मात्रै पुर्‍याउन सक्थ्यो । किनभने खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा रहेको अस्थायी बेलिब्रिज बर्खाका कारण निकालिएको थियो ।

गीत सुन्दै एकोहोरो गाडी चलाइरहेका प्रेमबहादुरलाई सोधें, दाइ भोली कतिबेला पुगिएला ? प्रेमबहादुरले पनि टुंगोको कुरा गरेनन् । मोटर चल्न सक्ने देशका धेरैजसो कच्चि सडक शव बोकेर छिचोलीसकेका प्रेमबहादुरका लागि उदयपुरको गाईघाटदेखि रसुवाघाटसम्मको यात्रा नयाँ थियो ।

विपि राजमार्ग अन्तर्गत खुर्कोटको घुम्तीमा गाडी हुँइकिदै गर्दा प्रेमबहादुर फुसफुसाए, ‘भाइ, लाश बोकेको गाडी कम दौडिन्छ । दुई टन बोक्ने यो गाडीमा एउटा लाश बोक्दा १० टन बोकेजस्तो भारी हुन्छ । हिँड्दाहिँड्दै बाटो दुई वटा देखिन्छ । खोला तरेपछि पछाडि फर्केर हेर्नुहुँदैन, आँखाले के के भ्रम देख्न सक्छ ।’

महिनामा ५ देखि १० वटासम्म शव गाउँगाउँमा पुर्‍याउने प्रेमबहादुरले १५ वर्षमा विदेशबाट बाकसमा प्याक भएर फर्केका कति युवालाई गाउँसम्म पुर्‍याए त । प्रश्न गरेको धेरैबेरसम्म उनले जवाफ फर्काएनन् । हुन पनि उनले कति शव ओसारे, त्यसको हिसाव राखेका थिएनन । राख्न जरुरी पनि ठानेनन उनले ।

बरु उनले मृतकका आफन्तले गर्ने सहयोग र असहयोगका बारेमा चर्चा गरे । कतिले गरेको व्यवहारले अहिले पनि उनको चित्त कुँडिन्छ । कतिले दुःख देखेर दया गरे, उनीहरुको प्रशंसा गरे । यो डेढ दशकमा उनलाई शव पुर्‍याउने बानी परिसकेको छ । रातदिन नभनी भोकभोकै, अनिदोमा गाडी पछाडि शव बोकेर हजारौं किलोमिटर गाडी चलाएर हिँडेको अनुभव छ ।

झिसमिसे बिहानै धनुषाको ढल्केबरमा चिया खान गाडी रोकियो । प्रेमबहादुरले निन्द्रा भगाउन चापकल पेलेर अनुहारमा पानी छम्किए । चिया पिएर उदयपुरको गाईघाट पुग्दा ७ बजिसकेको थियो । त्यहाँ नास्ता गरेर हिँडेपछि घाम टाउको माथि आइपुग्दा चुरे डाँडाहरु पार गर्दै गाडी साउने पुगेको थियो ।

गाईघाटमा नास्ता गरेपछि दिवस र म शवको छेउमा सँगै बस्यौं । भेट भएको चार दिनसम्म उनी उतिसारो खुलेका थिएनन् । मसित बोल्ने कुरा पनि त थिएनन् होला उनीसित । २२ वर्षकै उमेरमा दिवसका अघिल्तिर दुःखका सगरमाथाहरु उभिएका थिए । अभिभावक बिनाको भविष्य अँध्यारो मात्रै देखिरहेका थिए होलान् । शवको छेउमा उनीसँगै बसेपछि भने अलि खुल्न थाले ।

लेखान्तमा पनि विश्वास गर्ने दिवस अहिले उनको भगवानसित रिसाएका छन् । ‘दाइले ३ वर्षसम्म ब्रत बस्नुभयो । मैले पनि सुख आउला भनेर इश्वर सम्झेर २ वर्षसम्म ब्रत बसें । खै के भयो र । अहिले आएर यस्तो भयो । अब म इश्वर मान्दिन ।’

दाइसित बिताएका सुख भन्दा धेरै दुःखको कथा छ उनीसित । धेरै रात भोकभोकै सुतेको अनुभव छ । आफूजत्रै भारी बोकेर थुप्रै उकाली ओराली नापेको कथा छ । ‘दुःख पनि कति गरियो गरियो । दुई छाक राम्ररी खान पाइएन । राम्रो लाउन पाइएन । बाकसमा सुतिरहेका दाइको पिठ्यँमा अहिले पनि ढाकरले बनाएका खत छन् ।’ छेवैको कफिन देखाउँदै उनले भने ।

आमाको किरिया गर्न मलेसियाबाट आएका बेला भेट भएका रदेशले दिवसलाई भनेका थिए, बुहारी र तँ राम्रोसित पढ्नु । खर्चको चिन्ता नलिनु, म पठाइदिउँला । अब दिवसका लागि त्यो बाटो बन्द भएको छ । सम्झेर उनले एकफेर सुस्केरा हाले । रित्तिएजस्तो लाग्ने आँखाको चेपबाट आँसु रसाए ।

त्यतिबेला शव बोकेको गाडी दूधकोशीको मुहान पछ्याउँदै आँपटारको पोखरी बजार पुग्यो । त्यहाँ पुगेपछि केही खानेकुरा खाउँ भन्दै चालक प्रेमबहादुरले घ्याच्च गाडी रोके । काठमाडौंबाट हिँडेको १२ घण्टा भइसकेको थियो । उनले भात खान भने मानेनन्, रोटी तरकारी खाएरै छाक टारे । भने ‘भात खायो भने गाडी चलाउँदा निन्द्रा लाग्छ ।’

पोखरी बजारबाट कच्चिबाटो छिचोल्दै रसुवाघाट पुग्दा दिउँसोको २ बजिसकको थियो । अब गाडीको यात्रा सकियो । चालक प्रेमबहादुरलाई त्यहीबाट फर्काउनु पर्ने थियो । शव पुर्‍याएको भन्ने प्रमाणका लागि वैदेशिक रोजगार प्रर्वद्धन बोर्डबाट पठाइएको कागजमा छाप लगाउँदा दिउँसोको ३ बजिसकेको थियो ।

भोलिपल्ट अर्थात असोज २ गते प्रदेश नम्बर २ को स्थानीय तहको चुनाव थियो । त्यसदिन प्रशासनले अनुमति दिएका बाहेक अरु गाडी चल्न पाउँदैनथे । कच्चिबाटो छिचोल्दै त्यसै रात काठमाडौं नपुग्ने पो हो कि भनेर चालक प्रेमबहादुरलाई संशय मान्दै गाह्रोसाह्रो पर्ने पो हो कि भनेर सोधें ।

‘लाश बोकेर हिँड्ने गाडीलाई फरक पर्दैन । रोकिहाले भने यी यो कागज देखाउँछु,’ छाप हालेको कागज देखाउँदै उनले जवाफ दिए । त्यतिभनेर उनी ‘हाँसी खुसी जिन्दगी चल्छ, मेहनत गरे नेपालमै सुन फल्छ,’ सायरी लेखिएको गाडी चलाएर आएकै बाटो फर्किए ।

रसुवाघाट छेवैमा लिच्किराम्चेबाट शव लिन आएका युवाहरु भेटिए । गाडीमा शव देखिपछि सुरुमा उनीहरु के गर्ने कसो गर्ने भन्नेमा असमञ्जसमा परेका थिए । दूधकोशीको झोलुङ्गे पुल तारेर दुई घण्टाको ठाडो उकालो बाटो हुँदै शव बोकेर घरसम्म लगियो । शव आइपुग्ने थाहा पाएर सबै गाउँले भेला भएका थिए । आफन्त र छिमेकीहरुको रुवाबासी थियो ।

घरमा गर्नुपर्ने संस्कार पूरा गरेपछि बाकस नखोलीकनै तीन डिल माथि खनिएको खाल्डोमा सतगत गर्न खटमा बाँधेर लगियो । घरमा जम्मा भएका आफन्त र गाउँलेहरु भिड हटेको छैन । घाम डुबिसक्दा बाकस खोल्न थालियो ।

बाकस खोल्दाखोल्दै अँध्यारो झर्न थालेपछि शव पालैपालो गरी छिटोछिटो हेरेर खाडलमा हालियो । सुरुमा दिवसले दाइलाई ‘मट्टि’ दिए । त्यसपछि आफन्त र गाउँलेहरुले माटो ढुंगाले छोपछाप पारे । छिमेकी र आफन्तको चर्को रुवाई कम हुँदै गयो । भतिजको अनुहार अन्तिम पटक हेर्न आएका ७० वर्षे रदेशका बडाबा मोहनबहादुर राईले कपाल खौरिए र बरखी बारे ।

भदौ ३० गते शव आएको भए ३१ गते नै घर पुर्‍याएर सतगत गर्ने कर सबै संस्कार सक्ने दिवस र उनका छिमेकी तथा आफन्तले योजना बनाएका थिए । किनभने दिवसलाई गाउँका बुढापाकाहरुले भनेका थिए, ३१ गते काम सकिएन भने ‘दोमासे’ हुन्छ । अथवा मृत्यु भएकै महिनामा सतगत गरिसक्नु पर्छ ।

तर शव महिनाको अन्तिम दिन मध्यरातमा ल्याइएकाले दोमासेमा नै संस्कार गर्नुपर्‍यो । भदौ २१ गते मलेसियाको पेनाङमा निधन भएका रदेश असोज १ गते आफू जन्मेको गाउँको माटोमा मिले ।

रदेशको शवलाई माटोभित्र लुकाइएको दुई दिन पछि बरखी बारेका मोहनबहादुर एकघण्टाको बाटो छिचोलेर भतिजको आत्मालाई बाटो लगाउन आइपुगे । जोखाना सुनेर रात छर्लङ्गै पारेका उनले बेला बेला नाक्छोङ (राई जातिको पूजारी)लाई भन्थे, ‘बाँच्नेहरुसँग मन नदुखाओस्, मन बुझाएर आफ्नो बाटो लागिदिनु भन्दिनु ।’

साभार: उज्यालो अनलाइन

The post ६ महिना अगाडी आमा गुमाएका रदेश पनि बिदेशमा सुतेको ओछ्यानबाट ब्युँझिएनन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update