महिलाहरु पनि कुनै कुरा मा कमी छैन्न :यि तन्नेरी केटीहरु जो आइफोन र म्याक बनाउँछन्

shyane.com.np | 6:58 PM | 0 comments

कल्पना बलामीलाई धेरैले सोध्छन्, ‘तपाईंले कम्प्युटर इञ्जिनियरिङ कहाँबाट गर्नुभयो?’

उनी मुसुक्क हाँस्दै जवाफ दिन्छिन्, ‘म इञ्जिनियर होइन।’

सोध्ने मान्छे विश्वास गर्दैनन्।

‘भन्नुस् न, नेपालबाटै गर्नुभा कि, इन्डियाबाट?’

उनी हाँस्छिन् मात्र।

फेरि सोध्छन्, ‘इञ्जिनियरिङ नगरे पनि ट्रेनिङ त लिनुभाको होला नि?’

उनी लजाउँदै भन्छिन्, ‘मैले कतै ट्रेनिङ पनि लिएको छैन, यहीँ काम गर्दै सिकेको हुँ।’

सोध्ने मान्छे अझै पत्याउँदैनन्।

कल्पनाले यस्तो प्रश्न सामना गरेको चार वर्ष भयो, जब उनले अमेरिकी कम्पनी ‘एप्पल’ का ल्यापटप र मोबाइल मर्मत गर्न थालिन्।

‘सबै मेरो पढाइ कति हो, कहाँ पढेको भनेर सोध्नुहुन्छ, सही जवाफ दिँदा पनि पत्याउनुहुन्न,’ २८ वर्षीया कल्पनाले भनिन्।

सही जवाफ के भने, उनी न कम्प्युटर इञ्जिनियर हुन् न तालिमप्राप्त प्राविधिक।

उनी स्कुल ‘ड्रप–आउट’ हुन्, एप्पलका जन्मदाता स्टिभ जब्सजस्तै।

मकवानपुर, अप्पुडोलकी कल्पनाले गाउँमा ९ कक्षा पढ्दा–पढ्दै स्कुल छाडिन्। काठमाडौं आएपछि फेरि ९ मै भर्ना हुन चाहन्थिन्। पाइनन्। उनीसँग ८ कक्षा पास गरेको सर्टिफिकेटै थिएन।

यही अलमलमा जागिर खोज्न थालिन्।

एप्पलका ल्यापटप, मोबाइल मर्मत गर्ने ‘म्याक सपोर्ट’ ले रिसेप्सनिस्ट मागेको थियो। उनले आवेदन दिइन्।

जागिर सुरु भएपछि बल्ल थाहा पाइन्, उनको काम फोन उठाउनु मात्र होइन रहेछ। ल्यापटप र मोबाइल बनाउन सहयोग पनि गर्नुपर्दो रहेछ। उनले एप्पलका उत्पादन बनाउन त के, चलाएकीसम्म थिइनन्।

‘सुरुमा त डराएँ, केही नबुझेर त्यसै खंगरङ्ग परेँ,’ कल्पनाले सम्झिइन्, ‘टेक्निसियन दाइहरूले सहयोग गर्नुभो, उहाँहरूले बनाएको हेर्दा हेर्दै सिकेँ। मान्छेले जुन लाइनमा काम गर्छ, त्यसबारे केही थाहा नभए पनि रुचि बस्दै जाँदो रैछ। काममा हात हालेपछि गर्न सक्छु भन्ने आँट आउँदो रैछ।’

‘आज म म्याक, आइफोन र आइप्याडका सफ्टवेयरदेखि हार्डवेयरसम्म सबै काम गर्छु।’
कान्तिपथस्थित म्याक सपोर्ट।

हुन त महिलाले ल्यापटप वा मोबाइल बनाउनुलाई ठूलो नमान्न सकिन्छ। अरूजस्तै काम त हो नि भनेर बेवास्ता गर्न सकिन्छ। हामी पनि गर्थ्यौं होला, सहरमा यस्ता प्राविधिक महिला प्रशस्त देखिएका भए।

यसैको टुंगो लगाउन हामी न्यूरोड गयौं।

अचेल पिपलबोटबाट आरबी कम्प्लेक्ससम्मको सडक ‘मोबाइल रिपेयर सेन्टर’ मा बदलिएको छ। प्रत्येक घरका सटरमा मर्मतकेन्द्र खुलेको छ। हामीले लगभग आधा दर्जन पसल चहार्यौं। अहँ… एउटैमा महिला प्राविधिक भेटिएनन्। शोरूममा बस्नेहरू थिए, तर डेस्कमा बसेर मोबाइलका मसिना पुर्जा सम्हालिरहेका महिला आँखा र महिला हात हामीले देखेनौं।

‘खै होला कि, याद भएन, मैले सुनेको चाहिँ छैन,’ महिला प्राविधिक छन् कि छैनन् भनेर सोध्दा एक मर्मतकेन्द्रका कर्मचारीले भने, ‘भए पनि निकै कम होलान्।’

कान्तिपथको ‘म्याक सपोर्ट’ भने फरक थियो।

त्यहाँ काम गर्ने आठ जना प्राविधिक सबै महिला हुन्।

उनीहरू आँखा चिम्सा पार्दै ल्यापटप र मोबाइलमा घोत्लिरहेका हुन्छन्। मसिना पुर्जालाई उस्तै मसिनो पेचकसले खोलखाल पारिरहेका हुन्छन्। बेलाबेला अप्ठ्यारो समस्या आए एकअर्कासँग सरसल्लाह गर्छन्। त्यतिले पनि हल ननिस्के यु–ट्युब भिडियो हेर्छन्। वा, एप्पलकै सर्भिस स्टोरमा गएर मर्मतको तरिका पढ्छन्।

उनीहरूमा चार समानता छन् — सबै १८ देखि २२ वर्षका हुन्। कोही इञ्जिनियर होइनन्। सबैले यहीँ आएर सिकेका हुन्। र, रिसेप्सनबाटै जागिर सुरु गरेका हुन्।

त्यसो भए, रिसेप्सनमा आएका महिलालाई प्राविधिक काममा लगाउनुको कारण के? न ती इञ्जिनियर हुन्! न तालिमप्राप्त प्राविधिक! हप्तौं वा महिनौं सिकाएर प्राविधिक बनाउनमा कम्पनीले के उपलब्धि देखेको छ?
प्रसन्न श्रेष्ठ।

सुरुआतबाटै सुरु गरौं।

म्याक सपोर्टको स्थापना सन् १९९४ मा भएको हो, जतिबेला स्टिभ जब्स ‘एप्पल’ बाट बाहिरिएका थिए।

प्रसन्न श्रेष्ठ र सुदर्शन खड्का पनि ‘मिप्स’ नामक कम्प्युटर कम्पनीबाट बाहिरिए। र, आफ्नै ‘म्याक सपोर्ट’ खोले।

त्यो समय अन्तर्राष्ट्रिय स्तरमै एप्पलको बजार खस्किएको थियो। नेपालमा त अझ यसका प्रयोगकर्ता नगन्य थिए। विदेशी आयोजनाका अधिकारी र नेपाल घुम्न आएका पर्यटकबाहेक स्थानीय स्तरमा म्याकबुक भनेको चिनिने नाम थिएन। आइफोन त बनेकै थिएन।

बजार सानो भए पनि कम्पनीलाई आर्थिक समस्या परेन, प्राविधिकको समस्या भने सुरुदेखि झेल्नुपर्यो।

‘विन्डोज’ कम्प्युटरकै चल्ती रहेको बेला म्याकमा हात बसेका प्राविधिक भेट्न मुश्किल थियो। प्रसन्न र सुदर्शनले सोचे, तालिम नै दिनुपर्ने भएपछि महिला प्राविधिक किन उत्पादन नगर्ने?

‘मैले एउटा किताबमा पढेको थिएँ– जुन अफिसमा ५० प्रतिशत महिला र ५० प्रतिशत पुरुष हुन्छ, त्यहाँको ‘प्रोडक्टिभिटी’ (उत्पादकत्व) अरूको भन्दा बढी हुन्छ,’ प्रसन्नले महिला प्राविधिक रोज्नुको कारण खुलाउँदै भने, ‘हामीले ‘ट्राई’ गर्ने निर्णय गर्यौं। आखिर केटाहरू राख्दा पनि नयाँलाई तालिम दिनैपर्थ्यो, त्यसो भए केटीहरू नै किन नराख्ने?’

यहाँनिर एउटा समस्या पर्यो।

ल्यापटप मर्मत गर्ने महिला खोज्दा कसैले रुचि देखाएनन्।

उनीहरूले ‘आइडिया’ फुराए।

रिसेप्सनमा काम गर्ने महिलाको आवेदन मागे। विज्ञापन आउनासाथ ह्वारह्वर्ती आवेदन परे। तिनैबाट छानिएकी हुन्, कल्पना।

‘मलाई पहिलो दिन नै सरहरूले भन्नुभयो– तिम्रो काम यहाँ रिसेप्सनमा बसेर फोन उठाउने मात्र होइन, विस्तारै प्राविधिक काम सिक्दै जाऊ, हात बसाल्दै जाऊ, पछि तिमीलाई पूरै प्राविधिकतिर सार्छौं,’ कल्पनाले सम्झिइन्, ‘मैले हुन्न भन्न सकिनँ, कसरी भनुँ, जागिरको सवाल छ।’

उनी लगभग छ महिना रिसेप्सनमा बसिन्। यसबीच म्याक खोलेर अन्तरकुन्तर चहारिसकेकी थिइन्। त्यसका पाटपुर्जासँग अभ्यस्त भइसकेकी थिइन्। र, कतिपय सामान्य समस्या आफैं हल गर्न थालिसकेकी थिइन्।
कल्पना बलामी।

रुचि नहुँदा नहुँदै हात हालेको काममा आज सिपालु हुँदा कल्पना गर्व मान्छिन्।

‘मलाई म्याक वा आइफोनको जस्तोसुकै समस्या हल गर्न सक्छु जस्तो लाग्छ,’ उनले भनिन्, ‘नयाँ समस्या आयो भने सबभन्दा पहिला आफैं खोतल्ने प्रयास गर्छु। के भएको होला भनेर अनेक तरिकाले सोच्छु। अनेक तरिकाले ट्रायल गरी हेर्छु। कुनै न कुनै तरिका काम लागिहाल्छ।’

यसैगरी सिक्दै, गल्ती गर्दै, बिगार्दै, बनाउँदै आफूलाई तिखार्दै आएकी कल्पना म्याक सपोर्टकी सबभन्दा ‘सिनियर’ प्राविधिक हुन्। यहाँ आएपछि उनले आफ्नो छुटेको पढाइ फेरि सुरु गरिन्। महिला स्कुल चाबहिलबाट एसएलसी दिइन्। अहिले ब्रिलियन्ट मल्टिपल क्याम्पसमा १२ कक्षा पढ्दै छिन्।

कल्पनाले कम समयमै प्राविधिक काममा हात बसालेको देखेर सबभन्दा खुसी भए, प्रसन्न।

‘मैले यहाँ इञ्जिनियरलाई काम लगाउने कुरा भएन, उनीहरू टिक्न पनि सक्दैनन्,’ उनले भने, ‘तालिम नै दिनुपरेपछि महिलालाई किन नदिने भन्ने आइडियाले काम गर्यो।’

त्यसयता कम्पनीले रिसेप्सनमा महिला कर्मचारी माग गर्दै उनीहरूलाई प्राविधिक बनाउँदै आएको छ। सुरुका दिनमा यहाँ केटा मात्र काम गर्थे। विस्तारै केटा–केटी आधा–आधा भए। करिब तीन वर्ष भयो, केटी मात्र छन्। नयाँ आउनेलाई कल्पनाले पनि तालिम दिने गर्छिन्।
कविता राई।

कविता राई उनैले हुर्काएकी नयाँ प्राविधिक हुन्।

उनी यहाँ आएको डेढ वर्ष भयो।

व्यवस्थापनकी विद्यार्थी उनी रिसेप्सनकै निम्ति आवेदन दिँदा छानिएकी थिइन्। आउनेबित्तिकै म्याक र आइफोन बनाउनुपर्छ भन्ने थाहा पाउँदा रन्थनिइन्।

‘सुरुमा एकैचोटि ल्यापटप खोलिनँ। केही महिना त रिसेप्सनमै बसेँ। त्यसपछि मलाई अर्काले बनाएको हेर्न लगाइयो। मेरो कामै अर्काले ल्यापटप बनाएको दिनभरि हेरी बस्नु थियो। एकदिन अचानक सरले ‘कविता आज तिमी यो (म्याक) खोल’ भन्नुभयो,’ कविताले सम्झिइन्।

त्यस दिन पहिलोपटक म्याकको पेच खोल्दा उनका हात थर्थर कामेका थिए। त्यति महँगो सामान बिग्रिएला कि भन्ने उनलाई डर थियो।

‘बिग्रेला भनेर डराउनुपर्दैन, यो बिग्रेकै चिज बनाउन ल्याएको हो, तिमीले झन् बिगार्यौ भने हामी बनाइहाल्छौं,’ त्यस दिन प्रसन्नको भनाइ सम्झँदै कविताले भनिन्, ‘ढुक्कसँग खोल, यस्ता सामान जति खोलखोल पार्छौ, उति हात बस्दै जान्छ।’

कविताले त्यसै गरिन्।

‘साथीहरू म्याक, आइफोनको कुरा गर्छन्, म त्यही चिज बनाउँछु भन्ने सुन्दा छक्क पर्छन्,’ उनले भनिन्, ‘अलि अलि त प्राउड (गर्व) को कुरा पनि हो नि हैन?’

बढी गर्व त प्रसन्नलाई छ– म्याक र आइफोनजस्तो उच्च प्रविधियुक्त ‘ग्याजेट’ मर्मतमा महिला प्राविधिक मात्र प्रयोग गर्न सकेकोमा।

उनले यो कम्पनी सुरु गर्दा बजारमा म्याक खोल्ने पेचकस पाउनधरि मुश्किल थियो। एप्पल कम्पनीकै केही कर्मचारीबाट उपहारप्राप्त पेचकस चलाएर उनले कम्पनीलाई निरन्तरता दिए। आज बजार कतिसम्म फैलियो भने, कान्तिपथको मर्मतकेन्द्रले नपुगेर जावलाखेलमा शाखा विस्तार गरेका छन्। जावलाखेल शाखाको प्राविधिक जिम्मेदारी उनै कल्पनाले सम्हालेकी छन्।

‘महिलालाई प्राविधिक काम आउँदैन भन्ने जुन मान्यता थियो, त्यसलाई केही हदसम्म तोडेँ भन्ने लाग्छ,’ प्रसन्नले भने, ‘सुरु सुरुमा केटीहरूले ल्यापटप बनाउने भन्दा कोही पत्याउँथेनन्, अहिले खुसी हुन्छन्। यिनीहरूको क्षमता बाहिर ल्याउन सकेकोमा खुसी लाग्छ।’

‘अफिसमा ५० प्रतिशत महिला र ५० प्रतिशत पुरुष भए ‘प्रोडक्टिभिटी’ बढ्छ भन्ने पढेको थिएँ, त्यो आधा सत्य रहेछ। सबै महिला कर्मचारी भए प्रोडक्टिभिटी झन् बढ्दो रहेछ,’ प्रसन्नले भने।

त्योभन्दा ठूलो गर्व त, प्रविधिका नाममा मोबाइल र ल्यापटप चलाउन मात्र जानेका केटीहरूलाई तालिम दिएर ‘प्राविधिक’ बनाउनु हो, जसको उदाहरण कल्पना बलामी हुन्।

जो कुनै बेला स्कुल ‘ड्रप–आउट’ भएर पनि आज प्रविधिमा पोख्त छिन्।

कलेज ‘ड्रप–आउट’ स्टिभ जब्स एप्पल कम्पनी नै खडा गर्न सक्छन् भने कल्पनाको उपलब्धिलाई ठूलो नमान्दा त हुन्छ!

ठूलो कुरा यत्ति हो, उनमा अचेल ‘म पनि केही गर्न सक्छु’ भन्ने आत्मविश्वास जागेको छ। source:setopati

The post महिलाहरु पनि कुनै कुरा मा कमी छैन्न :यि तन्नेरी केटीहरु जो आइफोन र म्याक बनाउँछन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update