संसारलाई चकित पार्ने नेपाली क्यान्सर डाक्टर

shyane.com.np | 5:36 PM | 0 comments

२०५९ सालको एसएलसी परीक्षामा नेपाल प्रथम बनि राष्ट्रिय रुपमा छाएका विशाल ज्ञवालीको नाम यतिवेला अन्तराष्ट्रिय रुपमै चर्चित छ । कारण : उनी अहिले क्यान्सर विज्ञको रुपमा विश्वमै छाएका छन् ।

मेडिकल अंकोलोजीमा पीएचडी गर्ने पहिलो नेपाली बनेका डा. ज्ञवाली सबैभन्दा कम उमेरमा क्यान्सर रोगको अनुसन्धान र प्रस्तुति दिन सफल विश्वकै युवा विज्ञको रुपमा दहरिएका छन् ।

नागोया युनिभर्सिटी जापानबाट मेडिकल अंकोलोजीमा पिएचडी सकेर भर्खरै नेपाल फर्केका डा. ज्ञवालीसंग नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले उनका सफलताका बारेमा कुराकानी गरेका थिए । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको संक्षेप उनकै शव्दमा :

विद्यालय यात्रा :
मेरो नर्सरी देखि एसएलसी सम्मको अध्ययन बुटवलस्थित न्यु होराइजन स्कुलबाट भयो । त्यहि स्कुलबाट मैले विसं २०५९ सालको एसएलसी परीक्षामा सहभागी भई नेपाल प्रथम (बोर्ड फस्ट) भएँ । त्यतिवेला मैले ९२.३८ प्रतिशत ल्याएको थिएँ ।

मलाई लाग्छ त्यो प्रतिशत त्यसअघि नेपाल प्रथम हुने दाई दिदीहरुले ल्याउनु भएको थिएन । र म भन्दा अघि बुटवल तिरबाट कोही पनि व्यक्ति एसएलसीमा नेपाल प्रथम भएको थिएन ।

कलेज यात्रा :
एसएलसीमा नेपाल प्रथम भएपछि प्लस टूको अध्ययन गर्न म काठमाडौँ आएँ । बानेश्वरस्थित ह्वाइट हाउस कलेजमा भर्ना भएँ र त्यहिबाट प्लसटू सिध्याएँ ।

मैले प्लसटूमा बायोलोजी लिएको थिएँ । र यो पनि भनुँ म प्लस टू अध्ययन गर्दा कक्षा ११ मा पनि नेपाल प्रथम भएँ । त्यतिबेला प्लसटूमा ८९ प्रतिशत आएको थियो ।

मेडिकल शिक्षा यात्रा :
प्लस टू सकिनासाथ मेरो पहिलो लक्ष्य थियो चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)द्धारा लिइने एमबीबीएस प्रवेश परीक्षा । त्यो परीक्षा सुरुमै हुन्थ्यो । मलाई त्यो परीक्षा एकै पटकमा पास गर्नु थियो र छात्रबृत्तिमा एमबीबीएस पढ्नु थियो ।

भयो पनि त्यस्तै । मैले सोही बर्ष आइओएममा नाम निकालेँ । त्यो पनि पहिलो नम्बरमा ।

एसएलसी टपरले आइओएममा एकै पटकमा नाम निकाल्ने त्यो पनि पहिलो नम्बरमा यो पनि एक खालको रेकर्ड नै हो जस्तो लाग्छ । यस्तो संयोग म अघि कसैलाई जुरेको रहेनछ । यस अर्थमा पनि मैले आफूलाई गर्व गर्छु ।

यसरी गर्दथेँ मेडिकल इन्ट्रान्सको तयारी :

एसएलसी देखि नै मैले डाक्टर बन्ने सोच पालेको थिएँ । त्यसैले कक्षा ११ – १२ पढ्दा देखि नै मैले इन्ट्रान्सको तयारी पनि संगसंगै लैजादै थिएँ । तर औपचारिक रुपमा कक्षा १२ को परीक्षा दिएपछि विसं २०६२ सालमा मैले पनि अरु साथीहरुले जस्तै तयारी कक्षाहरुमा भर्ना भएँ ।

त्यसबेला इन्ट्रान्स तयारी गर्दा एउटै इन्स्टिच्युटमा मात्रै सिमित भइन । केही विषय एउटा इन्स्टिच्युटमा अध्ययन गर्दथेँ । केही विषय अर्कोमा । तर जता गएपनि मैले पैसा तिर्नु परेन । बोर्ड फस्ट भएको फाइदा हो सायद । तर त्यसो भन्दैमा म धेरैवटामा गईन । नेम र अल्फाविटामा तयारी कक्षा सिध्याएको हुँ ।

एमबीबीएस टप गरेँ :

आइओएममा एकैपटकमा नाम निकाल्न नै पनि एकदमै गाह्रो मानिन्थ्यो । तर मैले त एकै पटकमा एकै नम्बरमा नाम निकाल्न सफल भएँ, यो इन्ट्रान्सको कुरा थियो । तर पछि मैले एबीबीएस पास गर्दा पनि महाराजगञ्ज क्याम्पस टप गरेँ । महाराजगञ्ज क्याम्पसबाट उत्रँदै गर्दा मैले ७ वटा गोल्डमेडल पाएको थिएँ ।

यसरी शुरु भयो क्यान्सर रोग विशेषज्ञ बन्ने यात्रा :

क्यान्सर रोग विशेषज्ञ बन्ने सोच मलाई एमबीबीएस पढ्दा पढ्दै जागेको हो । एमबीबीएस पछि कुन विषयमा विशेषज्ञता हासिल गर्नेहोला ? भनि मनमा प्रश्न उठ्दा तत्कालै क्यान्सर रोग विशेषज्ञ भनेर आफ्नै मनलाई उत्तर दिएको थिएँ । किन ? कारण यस्तो थियो :

मलाई त्यतिवेला के लाग्दथ्यो भने, क्यान्सर सबैभन्दा डरलाग्दो रोग हो । अहिलेसम्म यसको उपचार राम्रो छैन । क्यान्सर लागेपछि ढिलो चाँडो मृत्यु बाहेक अर्को विकल्प नै हुँदैन् । त्यसैले यो रोगको विषयमा केही गरौँ भन्ने लाग्दथ्यो ।

अर्कोकुरा मलाई ‘च्यालेन्जिङ’ विषय नै मन पर्छ । त्यतिवेला मेडिकल फिल्डमा क्यान्सर चाहि अरु रोग भन्दा ‘च्यालेन्जिङ’ हो जस्तो लाग्यो । दाया बाँया केही नसोची क्यान्सर रोग विशेषज्ञ बन्ने निधो गरेँ । तर अहिले सोच्दा खेरी त सबै विषय आ आफ्नो क्षेत्रमा उत्तिकै महत्वपूर्ण लाग्छ ।

जापानको यात्रा :

क्यान्सर रोग विशेषज्ञ बन्ने योजना बुनिरहेको थिएँ । ठिक त्यसैबेला मैले जापानबाट अंकोलोजी विषयमा अध्ययन गर्न छात्रबृत्ति पाएँ ।

जापान मलाई पहिल्यै देखि असाध्यै मनपर्ने देश । जापानीहरु निक्कै मिहनेती हुन्छन् भन्ने बुझेको थिएँ । किनकी दोश्रो विश्वयुद्ध पछि यति चाँडो फड्को मारे कि मेहनती नभई त्यो सम्भव हुने थिएन । यसैले पनि म जापानमा गएर सिक्न आतुर थिएँ ।

अर्कोकुरा क्यान्सर अध्ययन गर्नका लागि जापान एकदमै उपयुक्त मुलुक हो भन्ने मेरो विश्वास थियो र त्यो हो पनि । किनकी जापानमा क्यान्सर एकदमै ‘कमन’ छ र क्यान्सरको उपचार एकदमै राम्रो मानिन्छ ।

जापानीहरुको ‘लाइफ एक्सपेक्टेन्सी’ नै उच्छ छ । क्यान्सर फेरी यस्तो रोग हो जति उमेर बढदै गयो हुने सम्भावना पनि उतिकै बढेर जान्छ । बढी उमेर बाच्ने भएकाले पनि धेरै जापानीहरु क्यान्सर रोगबाट पिडीत छन् ।

जापानमा कतिपय क्यान्सरको उपचार पद्धती नै पनि फरक छ र राम्रो पनि मानिन्छ । जस्तो पेटको क्यान्सरको उपचार गर्ने पद्धतीमा अमेरिकन पद्धती र जापानीज पद्धती भनिने गरिएको छ र जापानीज पद्धति अमेरिकन पद्धती भन्दा राम्रो मानिन्छ ।

राम्रो नराम्रो उपचार पद्धती छुट्याउन हामीले उपचार पछिको ‘क्यान्सर सर्भाइवल रेट’को विश्लेषण गर्छौँ । त्यसमा क्यान्सर लागेपछि ५ बर्षसम्म कति मान्छे बाँच्दछन् ? भन्ने विश्लेषण हुन्छ । र जापानमा त्यो सर्भाइभल रेट अति उच्च छ । म यी यावत कारणले जापान रोजेँ ।

सन् २०१२ को अक्टोबरमा गएँ । प्रसिद्ध नायोगा युनिभर्सिटीमा भर्ना भएँ । सन् २०१७ को सेम्टेम्बरमा मेडिकल अंकोलोजी विषयबाट पीएचडी सक्काएर नेपाल फर्किएँ ।

जापानमा रहँदा खुब पेपर लेखियो :

जापानमा अध्ययन गर्ने क्रममा पनि विभिन्न अनुसन्धानमुलक पेपर लेख्न थालेँ । सामान्य त पीएचडीको लागि एउटा राम्रो पेपर राम्रो प्रकाशित गरे हुने हो तर मैले ५० वटा बढी पेपर प्रकाशित गरेँ ।

मैले पिएचडी गरेको विषय मेडिकल अंकोलोजीमा सर्जरी र रेडियो थेरापी बाहेकले गरिने सबै उपचार पर्छ । अर्थात किमो थेरापी पर्छ र अर्को टार्गेटेड थेरापी अहिले इमिन्यो थेरापी भन्ने पनि आएको छ । अर्को प्यालेटिभ कियर भन्ने जो क्यान्सरको अन्तिम अवस्थामा पुगेको व्यक्तिमा हुने शारीरिक पिडा अर्थात दुखाई कम गर्ने उपचार विधि हो । यिनै विषयमा मेरो पिएचडी थियो ।

जापानमा पाँच बर्ष अध्ययन गर्दा मेरा ५० वटा विभिन्न अनुसन्धानमुलक पेपर प्रकाशित भयो । यसैले मलाई संसारभर डा विशाल ज्ञवाली भनेर चिनायो ।

नेपालमा बरु भर्खरै आएकोले अंकोलोजीको फिल्डमा धेरैले नचिन्लान तर बाहिरि विश्वको अंकोलोजीको फिल्डमा नामुद मानिएका अकोलोजिष्ट तथा रिसर्चरहरु प्रायले चिन्नुहुन्छ । त्यसको कारण चाहि मेरा पेपरहरु नै थिए ।

उमेरका हिसावले सबै आश्चर्य :

म अहिले तीस बर्षको भएँ । अध्ययनकै क्रम र त्यसपछिको समयमा मैले भारत, अमेरिका, बेलायत, जापान, कोरिया, सिंगापुर, स्पेन, फ्रान्स, लग्जेम्बर, बेल्जियम, नेदरल्याण्ड, डेनमार्क, स्वीजरल्याण्ड लगायतका देशमा भएका क्यान्सर सम्मेलनमा सहभागी हुने मौका पाएँ । तर हरेक देशमा गएर पेपर प्रस्तुति गर्दै गर्दा उमेरको हिसावले अहिलेसम्म सबैभन्दा कान्छो म नै पर्ने गरेको छु ।

शुरु शुरुमा सम्मेलन तथा बैठकहरुमा सहभागी हुँदै गर्दा बरिष्ठ डाक्टर सिसर्चरहरुको प्राय दुईवटा प्रश्न औपचारिक/ अनौपचारिक रुपबाट म माथि तेर्सिने गर्दथे । पहिलो, तिमी यो उमेरमै यस्तो पेपर लेख्ने ? दोस्रो तिमी नेपालकोे ? उहाँहरुले भन्नुहुन्थ्यो यस्तो पेपर लेख्ने मान्छे अलि पाको उमेरको होला भन्ने ठान्दथ्यौँ । अर्कोकुरा तिमी जापानको होला भनेका थियौँ ।

यस्तो प्रश्नले मलाई गौरवान्वित बनाउथ्यो । कि मैले सानो उमेरमा ठूलो काम गरेछु भन्ने अनि मैले आफ्नो देशको नाम पनि अन्तराष्टिय फोरम मार्फत चिनाउँदै रहेछु भन्ने ।

मैले जापानबाट पेपर लेख्ने हुनाले जापानै भन्ने ठान्नु हुँदो रहेछ । जब मैले आफू नेपाली भएको कुरा गर्दथेँ उहाँहरु अचम्म मान्नु हुन्थ्यो ।

क्यान्सर सम्मेलनमा बोलिने मेरा भिडियो धेरै हेरिएका मध्ये :

मेरा रिसर्च पेपरहरुकै कारणले अन्तराष्ट्रिय फोरमहरुमा भाग लिन थाले । म त्यहाँ गएर बोलेका भिडियोहरु गुगलमा युट्युवमा सजिलै पाउन सकिन्छ ।

क्यान्सरका उपचारका बारेमा बोल्ने भनेको कुनै गितको भिडियो त होइनन् । तिनीहरु भाइरल हुने पनि भएनन् । तर पनि मेरा भिडियोहरु ३० ३५ हजार पटक हेरिएका छन् । जसले त्यो भिडियो सुट गर्नु भएको हुन्छ उहाँहरुले मलाई म्यासेज पठाउनुहुन्छ ।

अरुहरुको भिडियो ५० – ५५ पटक हेरिएको छ तर तपाईँको यति धेरैले हेरे भन्नुहुन्छ । यसले पनि मलाई गर्व लाग्छ । मेरा कुराहरु महत्वपूर्ण हुन भन्ने लाग्छ ।

मेडिकल जर्नलको सम्पादक तथा सल्लाकार :
अहिले म बेलायतबाट प्रकाशित हुने प्रसिद्ध बीएमजे भनिने ब्रिटिस मेडिकल जर्नल छ । त्यो जर्नलको सम्पादकको सल्लाहकारमा नियुक्त भएको छु ।

तपाईँलाई भनु संसारका कहलिएका मेडिकल जर्नलहरु तीन चारवटा मात्रै छ । त्यो मध्ये बीएमजे एक हो । त्यसमा छनौटमा पर्नु पनि निकै ठूलो कुरा हो । त्यो स्थानमा पुग्ने म पहिलो नेपाली हुँ जस्तो लाग्छ ।

यस्तै अमेरिकन सोसाइटि अफ क्लिनिकल अंकोलोजीले जर्नल अफ ग्लोबल अंकोलोजी भन्ने पत्रिका निकाल्छ । त्यसको पनि एडिटोरियल फेलोमा नियुक्त भएँ । क्यान्सर मेडिकल साइन्स भन्ने जर्नलको मेडिकल इडिटरमा पनि नियुक्त भएँ ।

अहिले पछिल्लो पटक बेल्जियमको एउटा नन प्रफिट अर्गनाइजेसन छ एन्टी क्यान्सर फण्ड भन्ने त्यसको मेडिकल कन्सलटयान्ट पनि छु ।
एउटा सामान्य नेपालीले मेडिकल फिल्डका यी उपलव्धी हासिल गर्नु ठूलो कुरा हो जस्तो मलाई लाग्छ । मलाई गर्व पनि यसैमा छ ।

यो स्थानसम्म आउँदा परिवारले खासै खर्च गर्नुपरेन :
मेरो यो स्थानसम्मको पढाईका लागि परिवारले खासै खर्च गर्नु परेन नै भन्दा हुन्छ । एसएलसी भन्दा अघि नै म स्कुलमा सधै प्रथम हुन्थे । त्यसले गर्दा स्कुलमा शुल्क तिर्नु पर्दैनथ्यो ।

स्कुल प्रथम (होल फस्ट) भैसकेपछि त स्कुलले शुल्क मात्रै होइन किताव कापी समेत उपलव्ध गराइदिन्थ्यो । बार्षिक उत्सवका बेला कापी कलमहरु टन्नै आउथ्यो । त्यसैले कापी कलम किन्न परेन ।

तर मैले त्यसबेला पनि अतिरिक्त कितावहरु पढन रुचाउँथे । त्यतिवेला अतिरिक्त विषयका किताव तथा पत्रपत्रिकाहरुमा अलि अलि खर्च गरेँ होला ।

एसएलसीमा बोर्ड फस्ट भइसकेपछि प्लसटू पढन पनि पूर्ण छात्रबृत्ति भयो । त्यसमा पनि एक सुको खर्च गर्न परेन । त्यसपछि मेडिकल इन्ट्रान्स भयो त्यसमा पनि मलाई एक सुको खर्च गर्न परेन ।

आइओएममा नाम निकालि सकेपछि एकदमै थोरै फि तिर्नुपथ्र्यो तर त्यतिवेला मैले पढाउन थालेको थिएँ । किताव लेखिसकेको थिएँ । केही इन्स्टिच्युटहरुमा मैले मेडिकल इन्ट्रान्स, इन्जिनियरिङ इन्ट्रान्स कोर्षहरु पढाउँथे । त्यसबाट तलव आउथ्यो । मैले लेखेका कितावबाट रोयल्टीसमेत आउथ्यो ।

त्यसैले मेडिकल पढाईको क्रममा पनि मैले घरबाट खर्च माग्न परेन । बरु आफै घरमा दिन सक्ने अवस्थामा पुगेको थिएँ । त्यसपछि जापानको पढाई त पूर्ण छात्रबृत्तिमै भयो ।

क्यान्सरमा मेरो बुझाई :

क्यान्सरमा पहिले भन्दा अहिले धेरै प्रगति भएको छ । पहिले क्यान्सर भन्नासाथ डेथ पेनाल्टी जस्तो थियो । अहिले पनि केही क्यान्सरमा त्यस्तो छ । तर धेरै क्यान्सरमा हामीले निकै फड्को मारिसकेका छौँ ।

पेडियाट्रिक क्यान्सर (बच्चाहरुको क्यान्सर)मा धेरै प्रगति भएको छ । तर मेरो विशेषज्ञता बच्चाहरुको क्यान्सर होइन । मेरो विशेषज्ञता बयस्कहरुको क्यान्सर हो ।

बयस्कहरुको कुरा गर्दा हामीले गर्वगर्न मिल्ने प्रगति ब्रेष्ट क्यान्सर(स्तन क्यान्सर)मा भएको छ । स्तन क्यान्सरमा चाही आज भन्दा पाँच बर्ष अघि र अहिलेको सर्भाइवल रेट हेर्ने हो भने अहिलेको रेटमा नितान्त फरक छ । नेपालले त्यो लाभ लिइसकेको छ छैन त्यो फरक कुरा हो तर ग्लोबल स्टान्डर्डमा एकदमै प्रगति भएको छ ।

यस्तै रिनल सेल क्यान्सर (मिर्गौलाको क्यान्सर)पनि उल्लेख्य प्रगति भएको छ । यो क्यान्सरको आज भन्दा ८-१० बर्ष अघिसम्म एउटा मात्रै औषधि थियो । अहिले हामीसंग १५ वटा जति औँषधि छ ।

अर्को पुरुषहरुमा देखिने टेष्टिकुलर क्यान्सर (अण्डकोषको क्यान्सर) आज भन्दा १० १२ बर्ष अघि डेथ पेनाल्टी जस्तै थियो । अर्थात यो क्यान्सर लागेपछि मानिसहरुको मृत्यु हुन्छ भन्ने ठानिन्थ्यो । अहिले यो क्यान्सरले ९९ प्रतिशत मानिस मर्दैनन् । पछिल्लो १०-१२ बर्षमा यति धेरै प्रगति भएको छ ।

तर अझै पनि खासै सुधार नभएका केही क्यान्सरहरु पनि छन् । गल व्लाडरको क्यान्सर भयो भने र यदि फैलिएको छ भने अहिले पनि विरामीहरु ६ महिना १ बर्ष भन्दा बढी बाँच्दैनन् ।

पेन्क्रियाटिक क्यान्सरमा पनि खासै केही सुधार गर्न सकिएको छैन् । अर्थात यि क्यान्सरहरु आज भन्दा दश बर्ष अघि जस्तो अवस्थामा थियो अहिले पनि त्यस्तै नै जस्तो छ । त्यसलै क्यान्सरको स्टेज र लोकेसन हेरेर गर्व गर्न मिल्ने ठाँउ पनि छ र गर्व गर्न नसकिने ठाँउ पनि छ ।

मैले के बुझे भने क्यान्सर भनेको ‘क्योर’ गर्न सकिने रोग चाहि होइन रहेछ । टाइफाइड जस्तो पहिले थियो अहिले छैन भन्ने होइन रहेछ बरु क्रोनिक डिजिज भनौ न मधुमेह जस्तो, क्यान्सर त छ तर त्यसलाई दवाएर राख्ने । अर्थात रोग लिएर लामो समय जिउन सकिने अवस्था तर्फ सोच्नु पर्छ जस्तो मलाई लाग्छ ।

विकशित र विकासोन्मुख मुलुकमा रोग उस्तै समस्या फरक :

यो मेरो आफ्नो ‘फिल्ड अफ एक्सपर्टीज’ पनि हो । मेरो रिसर्च ग्लोबल अंकोलोजी नै हो । लो एण्ड मिडिल इनकम कन्ट्री अर्थात गरीब मुलुकमा क्यान्सरको अवस्था अनुसन्धान र उपचार भन्ने विषय नै हो । अर्थात गरीब मुलुक र धनी मुलुकबीचको क्यान्सरको अवस्था तुलना ।

मलाई के लाग्छ भने गरीव मुलुकका लागि अहिलेसम्म क्यान्सर ‘पब्लिक हेल्थ इस्यु’ छँदै थिएन । किनकी अहिलेसम्म पनि हामी झाडा पखला टाइफाइडहरु जस्ता रोगलाई मुख्य समस्या मान्दै आएका थियौँ । तिनै रोगले मानिसको ज्यान पनि लिन्थ्यो । ती रोगमा नियन्त्रण गर्दै गयौँ र हाम्रो औषत आयू बढदै गयो । त्यसले गर्दा क्यान्सर लाग्ने सम्भावना पनि बढदै गयो ।

जति उमेर बढदै जान्छ क्यान्सरको सम्भावना पनि बढदै जान्छ । अर्को कुरा हाम्रो जीवनशैली पनि बदलियो ।

क्यान्सर रिस्कमा नम्बर वान रिस्क भनेको स्मोकिङ हो । यो पछिल्लो पुस्ताहरुमा पनि बढदै गएको छ । एक्टीभ र प्यासिभ स्मोकिङ दुबै ।

१०-१५ बर्ष यताको तुलना गर्ने हो भने अल्कोहल खाने संख्या धेरै बढेको छ । अर्को हो मोटोपना, पहिले जति क्रियाशिल जीवन विताउत्थ्यौँ अहिले त्यस्तो छैन । हामीहरु धेरै जसको काम कम्प्युटरकै अगाडी बस्ने, घरमा पनि बसेरै टिभि हेर्ने बानी भयो । यसले शरीरको चाल (मुभमेन्ट) कम भयो र अधिक मोटोपनाले सतायो । यसले क्यान्सरको जोखिम बढाउदै गयो ।

अर्कोकुरा हामी जस्तो मुलुकहरुहरु क्यान्सर जस्ता रोगहरुसंग जुध्न सक्ने तयारीमा नै थिएनन र अझै पनि भैसकेका छैनन् । क्यान्सरलाई कसरी नियन्त्रण लिने भन्ने अहिलेसम्म ठोस योजना पनि छैन ।

विकसित मुलुकहरुमा क्यान्सरसंग जुध्न योजना बनाएको हुन्छ । भारतले पनि अहिले त्यो गाइडलाइन बनाएको छ । तर हामीसंग अहिलेसम्म राम्रो रजिष्ट्री नै छैन । डाटा पनि छैन । त्यसैले एक बर्षमा कति क्यान्सर देखियो बढयो वा घट्यो भन्ने पनि एकीन भन्ने अवस्था छैन ।

एक बर्षमा कति जनालाई क्यान्सर लाग्छ । क्यान्सर लागि सकेपछि पाँच बर्षसम्मको सभाइभल रेट कति छ ? कुन क्यान्सर बढी छ भन्ने केही छैन । यसले समस्या बढेको हो ।

अहिले त विरामीले कस्तो उपचार पाउछन भन्ने कुनै मापदण्ड नै छैन । ठूलो आन्द्राको क्यान्सर छ भने तपाईँ कति बर्ष बाच्नु हुन्छ र तपाईँमा कुन उपचार विधि प्रयोग गरिएको छ भन्ने कुरा डाक्टरले निर्धारण गर्ने भयो । अर्थात तपाईँ जुन डाक्टरको जानुहुन्छ उसको उपचार गर्ने आफ्नै तरिका हुन्छ । किनकी यहाँ नेशनल गाइडलाइन नै छैन ।

अर्कोकुरा नेपालमा ठूला रोगहरुको सबै जसो उपचार पकेटको पैसाले गर्नुपर्छ । जापानमा तयो सिस्टम छैन । ३० प्रतिशत पटेकटबाट तिर्ने ७० प्रतिशत सरकारले बेहोर्छ । त्यो तिस प्रतिशत पनि अचाक्ली अर्थात मासिक ४० हजार बढी पर्न आयो भने तयो सबै सरकारले बेहोर्छ ।

त्यसैले विरामीले उपचार गर्दा घरबारी जान्छ कि भन्ने चिन्ता रहँदेन तर नेपालमा उपचार गर्दा डाक्टरले विरामीको सबै कुरा हेर्नुपर्ने बाध्यता छ । यो उपचार गर्दा ४ महिना बढी त बाँचीएला तर त्यसले घर खेत नै बेच्नुपर्ने अवस्था आउन सक्छ भन्ने अवस्था आयो भने के गर्ने ? आदि सोचेर काम गर्नुपर्ने अवस्था छ । जुन कुरा जापानमा उपचार गर्दा कहिल्यै सोच्नु नै परेन ।
कतिपय औषधिहरु तपाईँ चलाउन खोज्नुहुन्छ तर पाइदैन । देशमै छैन । यस्ता समस्याले नेपाल मात्रै होइन नेपाल जस्ता गरिब मुलुकहरु पिल्सिएका छन् ।

नेपालमा बस्नुहुन्छ कि ?
मैले आफ्नै देशमा गर्ने भनेरै फर्केको हो । अहिले म सिभिल सर्भिस हस्पिटल नयाँ बानेश्वरमा आवद्ध भएको छु । हरेक सोमबार र बुधबार दिउसो २ देखि ५ बजेसम्म मेरो ओपिडी पनि चल्छ ।

म नेपालमै सेवा गर्न भनेरै जापानबाट फर्केको हुँ । यहाँ आएर मैले गर्न खोजेका कुरा धेरै छन् । जुन मैले सिकेको छु त्यो नेपालमा लागू गर्न चाहन्छु । हेरौँ त्यो कति सम्भव छ ।

मेरा कुराहरु प्यासेन्ट कियर, क्यान्सर रिसर्च र क्यान्सर एजुकेशन संग सम्वन्धीत छ । नयाँ पुस्तालाई सिकाउनुपर्ने कुराहरु । नयाँ पुस्तालाई त हामीले जस्तो सिकाए त्यस्तै सिक्नेहुन् ।

मैले सिकेका राम्राकुराहरु आउदै गरेका मेडिकल अंकोलोजिष्टहरुलाई सिकाउन पाइयो भने त्यसले फाइदा नै गर्छ । म त्यो चाहन्छु तर त्यसका लागि उचित बाताबरण बन्छ कि बन्दैन त्यो भविस्यकै गर्वमा छ ।

नेपाली हेल्थबाट

उनको भिडियो

The post संसारलाई चकित पार्ने नेपाली क्यान्सर डाक्टर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update