यी हुन् असाध्यै खुसी र सुखी महिला: असाध्यै खुसी छु । संसारमै सबैभन्दा खुसी र सुखी महशुस गर्छु |

shyane.com.np | 9:19 PM | 0 comments

यो तस्बिरमा देखिएकी महिला झलक्क हेर्दा साधारण लाग्छिन् होला तर यी असधारण छिन् । यिनको विशेषता के भने आफूलाई संसारकै सुखी र खुसी ठान्छिन् । त्यतिमात्र होइन, आफूलाई असाध्यै धनी पनि ठान्छिन् ।

आफूलाई सुखी र खुसी ठान्ने मानिस विरलै पाइन्छन्, होइन र ?

यिनी हुन् सुर्खेत गुर्भाकोट नगरपालिकाकी पूर्णकली चुनारा । मानिसहरु सगरमाथा चढेर कीर्तिमान बनाउँछन्, समुद्र पार गरेर कीर्तिमान बनाउँछन् । तर, यिनले दुःखको सगरमाथा बारम्बार आरोहण गरिन्, पीडाको महासागर पार गरिन् । दुःखको कीर्तिमान दिने व्यवस्था भए यिनले धेरै खालका उपाधी पाउँथिन् होला । तैपनि अहिले सुखी र खुसी जीवन बाँचिरहेकी छिन् ।

यस्तो थिएन उनको जीवन, दुखको महासागर पार गरेर यहाँसम्म आइपुगेपछि मात्र सुख भेटेकी हुन् ।

पूर्णकलीको कथाव्यथा सुरु हुन्छ १६ वर्षको उमेरबाट । पहिले उनको व्यथा वर्णन गरौं,

स्वर्गको बाटोबाट पुगिएको नर्क

१६ वर्षको उमेरमा गाउँकै एक युवकसँग प्रेम विवाह भयो । पतिको न्यानो अंगालो र मायालु व्यवहारले उनको संसार स्वर्ग जस्तो भयो । सासु सशरा अनि परिवारले आँखैमा राखेका थिए, असाध्यै राम्रो गरेका थिए ।

धरतीको स्वर्गमा थिइन् पूर्णकली । तीन वर्षको दूधमुखे उमेरमा आमा गुमाएकी पूर्णकलीले आमा पनि पाएजस्तो महशुस गरिन् ।

‘त्यो दिन आज पनि सम्झन्छु, अब आत्महत्या नगरी उपाय छैन भन्ने लाग्यो । मर्न भनेर भेरी नदीको किनारमा पुगें । तर, छोराछोरीको यसरी याद आयो कि मन थाम्नै सकिन । धेरै बेर किनारमा बसेर रोइरहें अनि घर फर्किएँ ।’

तर, नर्कमा परिणत भयो यो स्वर्ग । बिहे गरेको एक महिनामै पतिले कान्छी ल्याए ।

‘सुरुमा विवाह गरेर आउँदा परिवारका सदस्यहरुले राम्रो गरेजस्तो गरेपछि आफूलाई भाग्यमानी ठानेकी थिएँ’ उनी भन्छिन्, ‘तर, तर, त्यो खुसी केही बेरको सपना मात्रै भयो ।’

सौता आए पनि पूर्णकलीले हरेस खाइनन् । शासुशसुरा स्याहारेर बस्छु भन्ने अठोट गरिन् ।

तर, सोंचे जस्तो हुन्न जीवन, सम्झजस्तो हुन्न जीवन । पतिको साथमा परिवारले पनि प्रताडित गर्न थालेपछि उनको जीवन नर्क बन्यो । त्यही नारकीय जीवनको बीचमा तीन सन्तान जन्माइन् ।

उनको दुःखको धेरै वर्णन के गर्नु ? एउटा घटना नै काफी छ । उनी सम्पत्तिका नाममा तीन सन्तान लिएर अलग्गै बस्न थालिन् ।

पूर्णकलीले हारिन् तर आमाले हारिनन्

जीवनबाट पूरै हरेस खाइन् पूर्णकलीले । आत्महत्या गर्न प्रयास गरिन् । तर, सकिनन् । आफू भोकै बस्न सक्थिन् तर लालाबालालाई कसरी भोकै राख्नु ? जब आमा साथमा हुन्छन्, लालाबाला कहिले भोकै पर्दैनन् । त्यसैले आमा महान हुन्छन् ।

मानिसले हार्न सक्छ, महिलाहरुले हार्न सक्छन् तर आमाले कहिल्यै हार्दिनन् जब सन्तानको सवाल आउँछ । पूर्णकली आत्महत्याका लागि तम्सिएकी थिइन् तर उनीभित्रको ‘आमा’ ले आत्महत्या गर्न दिएन ।

पूर्णकलीको साथमा परिवार थिएन, समाज थिएन । कोही थिएन । माइती पनि धनी थिएनन् । साथ दिने कोही थिएनन् । तर, कलिला तीन सन्तान नै उनको सहारा बने । तिनका लागि संघर्ष गरिन् ।

उनी मजदुरी गर्न थालिन् । कहिले धान गहँु काटिदिने, कहिले घर लिप्ने तथा वालुवा र गिट्टी बोक्ने काम गरिन् । जे काम पाउँथिन् गर्थिन्, दिनभरी काम गरेर साँझ बिहान तीन सन्तानको पेट भर्थिन् ।

दिनभरी गाउँमा काम गरेर साँझ चालम बोकेर फर्कंदा छोराछोरी भोकाएर पर्खिरहेका हुन्थे । थकित ज्यानले खाना पकाउँथिन्, तीन सन्तानलाई लहरै राखेर खुवाउँथिन् । उनीहरुले खाएको हेरेर असीम आनन्द लिन्थिन् । अनि, त्यही आनन्दका बीच आँखाबाट अनायसै दुई थोपा आँशु तरक्क झर्थे । साडीको फेरले आँखा पुस्थिन् तर सन्तानलाई देखाउँदिनथिन् ।

‘तीनजना छोराछोरीलाई एउटै कपडामा राखेर काम गर्न जान्थें, घरमा आउँदा उनीहरुले दिसा खाएका हुन्थे, कहिलेकाही त दिसामा लट्पटिएर छोराछोरी निदाइसकेका हुन्थे,’ अतित सम्झेर गहभरी आँसु पार्दै उनले भनिन्, ‘त्यस्तो बेला उनीहरु छेउमा बसेर रुन्थे अनि भोकै सुत्थे ।’

मजदुरी गरेको पैसा कहिले छोराछोरीलाई औषधी खर्च चाहिएला भन्ने सोचेर आधा पेटमात्र खाएर सुत्ने गरेको सम्झँदै उनी भक्कानिन्छिन् ।

दुःखको पनि एउटा खास सीमा हुन्छ रे । तर, पूर्णकलीको दुःखको कुनै सीमाना थिएन । दुःखले सीमा नाघेको त्यो एउटा कहालीलाग्दो दिनको सम्झना यसरी गर्छिन्,

‘त्यो दिन आज पनि सम्झन्छु, अब आत्महत्या नगरी उपाय छैन भन्ने लाग्यो । मर्न भनेर भेरी नदीको किनारमा पुगें । तर, छोराछोरीको यसरी याद आयो कि मन थाम्नै सकिन । धेरै बेर किनारमा बसेर रोइरहें अनि घर फर्किएँ ।’

‘धन्न छोराछोरी थिए र मैले आत्महत्या गरिन, नत्र आज तपाईसँग कुरा गरिरहेको हुन्नथें ।’

पूर्णकलीले त आत्महत्या गरेकै हो तर पूर्णकलीभित्रको आमाले आत्महत्या गर्नबाट रोक्यो ।

भो, दुःखको वर्णन धेरै नगरौं । अब सुखका कुरा गरौं ।

बिस्तारै उज्यालो भयो

मानिसको जीवनमा अचानक र एकाएक अन्धकार बन्न सक्छ तर सुख बिस्तारै आउँछ । सुखको गति ढिलो हुन्छ । सुखले असीम धैर्यको माग गर्छ ।

पूर्णकलीको अन्धकार जीवनमा क्रमश उज्यालो प्रकाश आउन थालेको थियो । जति दुःख गरेर भए पनि सन्तानलाई पढाउनुपर्छ भन्ने लागेको थियो । छोराछोरीलाई सरकारी स्कूल भर्ना गरिन् तर पढाउन आर्थिक अभाव थियो ।

गरिबी र उमेर नपुगी विवाह नेपालमा एउटै सिक्काको दुईटा पाटा जस्तो छ । जेठी छोरीले १५ वर्षकै उमेरमा विहे गरिन् ।

अर्की छोरी र छोरालाई पढाउन थालिन् । पालन पोषण गर्नुपर्ने सन्तान एकजना घटे तर आर्थिक भार बढिरहेको थियो । सन्तान ठूला भएपछि खर्च पनि बढ्ने नै भयो ।

मजदूरी गरेर बचाएको केही रकम र माइतबाट सरसापट गरेर ल्याएको केही रकमले एउटा सानो पसल खोलिन् । खुद्रा पसल ।

त्यसैबेला गाउँमा सञ्चालन भएको महिला आर्थिक शशक्तीकरण परियोजनाले बनाएको महिला समूहमा पूर्णकली पनि बसिन् । सानो पसलबाट भएको अलिअलि वचत समूहमा जम्मा गर्न थालिन् ।

र, समूहबाटै ऋण लगेर खाजानास्ता बनाएर बेच्न सुरु गरिन् । नजिकै स्कूल भएकाले खाजा नास्ता पसल राम्रै चल्न थाल्यो ।

स्थानीय स्तरमा आयोजना हुने विभिन्न मेलामा पनि खाजा पसल राख्न थालिन् ।

पूर्णकलीको चमत्कार

महिला समूहबाट पूर्णकलीले कति ऋण लिएकी थिइन् थाहा छ ? पाँच सय रुपियाँ । अहिले खाजा पसल छ, खुद्रा सामग्री पनि बेच्छिन् । सबै खर्च कटाएर मासिक १० हजार रुपैयाँ वचत गर्छिन् ।

खुसीको अर्काे कुरा पनि छ, कान्छी छोरी अहिले स्थानीय क्याम्पसमा कक्षा १२ मा पढ्दैछिन् । व्यवसायमा पनि सघाउँछिन् ।

छोराले पनि बिहे गरेको छ, बुहारीले काम सघाउँछिन् । पूर्णकली भन्छिन् ‘अहिले भोकै बस्न परेको छैन, बरु अरुलाई दिन पनि पुगेको छ ।’

सबैकी प्रिय

अहिले उनी सामाजिक काममा पनि सक्रिय छिन् । गाउँमा आयोजना हुने विभिन्न खालका अभियान तथा कार्यक्रमहरुमा भाग लिन्छिन् । कसैलाई समस्या परेमा उनी त्यहाँ पुगिहाल्छिन् । भन्छिन् ‘कसैलाई समस्या प¥यो भने आफ्नै विगत सम्झन्छु र सहयोग गर्न मन लागिहाल्छ ।’

त्यसैले त पूर्णकली अहिले सबैकी प्रिय बनेकी छिन् ।

र, अन्त्यमा

फोटोमा हेर्नुस् त पूर्णकलीको पसल । यो पसलको बारेमा पूर्णकलीको भनाई गज्जब छ । उनी भन्छिन्, ‘मलाई यो पसल र व्यापार नै करोडौं रुपैयाँ मूल्यको जस्तो लाग्छ ।’

मजासँग खानलाउन पुगेको छ, कसैसँग हात फैलाउन परेको छैन, मेहेनतले माना कमाएकी छु, त्यसैले आफूलाई असाध्यै धनी ठान्छु भन्छिन् ।

भन्छिन्, ‘मेरो विगत जस्तो थियो, आज यो अवस्था आउला भन्ने सपनामा पनि सोंचेकी थिइनँ । कल्पना पनि गरेको थिइनँ । असाध्यै खुसी छु । संसारमै सबैभन्दा खुसी र सुखी महशुस गर्छु ।’

साभार: हाम्रो कथा

The post यी हुन् असाध्यै खुसी र सुखी महिला: असाध्यै खुसी छु । संसारमै सबैभन्दा खुसी र सुखी महशुस गर्छु | appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update