स्वस्थानी व्रतकथा, भाग – ११ (पार्वतीका निमित्त विष्णुद्वारा स्वस्थानीको व्रतविधि बताइएको प्रसङ्ग)

shyane.com.np | 11:01 PM | 0 comments

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! आफ्ना पिताका यज्ञकुण्डमा शरीर त्याग गरे उप्रान्त हिमालयकी पत्नी सतीदेवीले मेनकाको गर्भमा गई वास गर्नुभयो । हिमालयले पनि आफ्नी पत्नी गर्भवती भएको थाहा पाएर खुसीसाथ आफ्नो परम्परा अनुसार पुंसवनादि उचित कर्म गरिदिए । जब दशौं महिना पूर्ण भयो मेनकाका गर्भबाट कन्यारत्नले जन्म लिर्इन् । हजार सूर्यको जस्तो तेज भएकी, कोमल र अति सुन्दर पद्मजस्ता नेत्र भएकी, सम्पूर्ण लक्षणले युक्त भएकी अति राम्री कन्या जन्मेकी देखेर अत्यन्त प्रसन्न भएका हिमालयले वशिष्ठ आदि ऋषि र ज्योतिषीहरुलाई डाकी विधिपूर्वक जातकादि कर्म गरेर एघारौं दिन पुगेपछि बडो धुमधामका साथ विधिविधान सहित नामकरण संस्कार अर्थात् न्वारान गराए । वशिष्ठप्रभृत्ति ऋषि, गुरुपुरोहितहरु र ज्योतिषीहरुले सिलौटोमा खरीले कोरी लगन ठीक ठहराई कन्याको नाउँ पार्वती राखे अनि ‘महादेवलाई स्वामी पाई चतुर्दश भुवनकी मालिक्नी हुनेछिन् र लोकमा दुर्जनको संहार अनि सज्जनको रक्षा गर्नेछिन्’ भनी बालिकाको भविष्य बताए । हिमालयले पनि ठूलो हर्ष मानी गुरुपुरोहित, ऋषि र ज्योतिषीहरुलाई डाकी चौरासी व्यञ्जन भोजन गराई अनेकौं रत्न तथा सुवर्णआदि दक्षिणा दिएर सन्तुष्ट गराए । त्यसपछि ‘हामी पूर्ण रुपमा सन्तुष्ट छौं, कृतार्थ छौं, आज्ञा पाए बिदा हुन्छौं’ भनी हिमालय राजासँग हात जोडे । यो देखी आनन्दित भएका हिमालयले वशिष्ठप्रभृत्ति ऋषिवृन्द, गुरुपुरोहित र ज्योतिषीहरुलाई साष्टाङ्ग प्रणाम गरी बिदा दिए ।

तहाँउप्रान्त शुक्लपक्षका चन्द्रमा झैं पार्वती पनि दिनदिनै बढ्दै ठूली हुँदै गर्इन् । कुनै खेल खेल्दा पनि तिनी शिवको पूजा गरी खेल्थिन् । केही चर्चा गर्नुपर्यो भने पनि शिवको कथा भन्थिन्, अनि जोसित पनि शिवको महिमाको सोधीखोजी गर्ने गर्थिन् । पार्वतीले यस्ता तरहले चित्तलाई शिवभक्तिमा एकत्व गराएकी थिर्इन् । एकदिन नारद ऋषि विष्णु भगवान् बस्ने वैकुण्ठधाममा गई भन्नुभयो – ‘हे वैकुण्ठनाथ ! हिमालय पर्वतकी पुत्री पार्वती नाउँ गरेकी कन्या लक्ष्मीभन्दा पनि अति राम्री बत्तीस लक्षणले युक्त भएकी छिन्, यसकारणले ती कन्या हजुरका निम्ति अति योग्य भएकीले हजुरले विवाह गरिबक्सिए साह्रै सुहाउने थियो ।’ नारदजीका यी कुरा सुनेर विष्णुबाट आज्ञा भयो – ‘हे नारदजी ! हिमालयले ती कन्या मलाई देलान् त ?’ यो कुरा सुनी नारदजीले भने – ‘हे प्रभु ! त्यो कुराको ठेगान त म वहाँ पुगेर गरिहाल्छु नि, यसमा हजुरलाई केको सुर्ता ?’ यति भनी नारद विदा भई हिमालय राजाका दरबारमा गए । नारद ऋषिलाई आएको देखी हिमालय पर्वतले शिष्टाचारपूर्वक आसनमा बसाए । हिमालयबाट पाद्य, अर्घ्य, भेटी अादि पाइसकेपछि नारदले भने – ‘हे पर्वतराज ! आज तपाईंसित केही भन्न आएको छु । कुरा के भने तपाईंकी पुत्री पार्वती अब विवाहयोग्य हुँदै गर्इन् । त्यसकारण यी कन्या वैकुण्ठका मालिक विष्णुलाई दिनुहोस् ।’ नारद ऋषिका यी वचन सुनी प्रसन्न भएका हिमालयले ‘हे नारदजी ! भलो कुरा सुनाउनु भयो । तपाईंको इच्छा र आज्ञाले छोरी पार्वती श्री विष्णुलाई दिएँ । विष्णुका पासमा गई यसै भन्नुहोला’ भने । तब नारद ऋषि पनि वैकुण्ठमा गए । तब नारदले वैकुण्ठमा पुगी हिमालय पर्वतसँग भएका सबै कुरा विष्णुलाई सुनाए । नारदका वचन सुनी सन्तोष भएका विष्णुले भन्नुभयो – ‘हे नारद मुनि ! तिमी धन्य रहेछौ । हिमालयले आफ्नी छोरी मलाई दिने भएछन् । म खुसी छु । अब तिमी आफ्ना आश्रममा जाऊ ।’ यस्तो विष्णुको आज्ञा सुनी नारद पनि विदा भएर आफ्ना आश्रममा जाँदा भए ।

हे अगस्त्य मुनि ! उता हिमालय पर्वतले पार्वतीको विवाहका निम्ति सामग्री तयार गराई नारद ऋषिलाई डाकी विष्णुलोक पठाएर दिन र शुभलग्नको ठहर गरी आफ्ना कुलगुरु वशिष्ठ, बृहस्पतिसहित इन्द्रादि देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग आदि सबैलाई निमन्त्रणा गरे । विष्णु पनि ठहर्याइएका लग्नमा पार्वती कन्यादान लिन भनी हिमालय पर्वतका घरमा जानुभयो । आमा मेनकाले छोरी पार्वतीलाई हीरा, मोती, मणि, माणिक्यादि नाना रत्नहरु र अलङ्कारादि गरगहना र सुन्दरसुन्दर वस्त्र पहिर्याई सिँगारी रहनुभयो । यो देखी पार्वतीका सखीहरु जया, विजया, अजिता, अपराजिताले पार्वती गरगहना र वस्त्र आदिले श्रृङ्गारित भएको देखी भन्न लागे – ‘हे पार्वती ! आज तिम्रो विवाहको शुभ लग्न छ । तिम्रा बाबाआमाले तिमीलाई विष्णुको हातमा कन्यादान दिनेछन् ।’ सखीहरुबाट यो कुरा सुनेपछि पार्वतीले भनिन् – ‘हे सखी हो ! मैले बालक छँदादेखि नै मनैले महादेवको सेवा गरेकी छु, अनि वहाँलाई नै पति भजेकी छु । यसकारण श्री महादेवबाहेक अरु कसैलाई दिएमा म अात्महत्या गरी मर्नेछु । यो कुरा निश्चित छ ।’ पार्वतीका यस्ता दृढवचन सुनी सखीहरुले भने – ‘हे गिरिराज पुत्री ! त्यसो हो भने यहाँ नबस । हिड जाऊँ । हामी कसैले नदेख्ने ठाउँमा लुकाई आउछौं ।’ आफ्ना सखीहरुले यस्तो सल्लाह दिएपछि पार्वती तिनका साथ लागी घरबाट निक्लिर्इन् । अनि सखीहरुले पार्वतीलाई कसैले पनि नदेख्ने ठाउँमा कुनै एक नदीको तीरमा लुकाएर आए । यता हिमालय पर्वतले भने कुलगुरु बृहस्पतिलाई यज्ञमा आचार्य पदमा राखी विधि गराई कन्यादान दिने समय भएपछि पार्वतीलाई यज्ञस्थलमा ल्याउन नारीवर्गलाई पठाए । कन्या लिन भनी घरभित्र जाँदा त्यहाँ नभएको बुझी धेरैले सबै ठाउँमा खोजी गरे, तर कहीँ पनि फेला पार्न नसकी फर्किएर गई यो सबै हिमालय पर्वतलाई बताए । यो कुरा सुनी पर्वतराजले आकुल चित्त गरी गुरु बृहस्पति कहाँ गई ‘पार्वती हरार्इन्, यहाँ कतै छैनन्, अब कसो गरुँ ?’ भनी अत्यन्त खेद गर्न लागे । स्थिति बुझेर बृहस्पति ऋषिले ‘अब यस लग्नमा बिवाह नहुने भयो’ भनी विष्णुसमक्ष सबै हाल बिन्ती बिसाए । यो सुनी विष्णुप्रभृत्ति सम्पूर्ण देवताहरु फर्की आआफ्ना आश्रममा जाँदा भए ।

उता सखीहरुले पार्वतीलाई लुकाई आएपछि नदीका तीरमा बसी पार्वतीले महादेवको तपस्या गर्न लागिन् । तपस्या गर्दागर्दा आत्मामा लीन भएकी पार्वतीले आफूलाई नै बिर्सिदिइन् । ठूला सुखबाट खोसेकी भएतापनि तपमा बसेको बखतमा आएको हुरी बतास, चर्को घाम र दर्के झरीबाट आइलागेका कष्टलाई उनले किञ्चित् पनि परवाह गरिनन् । उनका घोर तपस्याले स्वर्गका राजा इन्द्रको आसन डगमगायो । धरती लच्कन लाग्यो । यो देखी इन्द्र रिसाई पार्वतीको तपस्या भङ्ग गर्न दुईवटा राक्ष्सहरु पठाए । ती राक्षसहरु गएर पार्वतीलाई अनेकौं डर, धमकी र त्रास देखाई उनको तपस्या भङ्ग गर्न खोजे । त्यसैबेला पार्वतीका आँखा खुले । आफ्नो तपस्या भङ्ग हुने जानी आफ्ना तपोबलद्वारा ती दुबै राक्षसहरुलाई पार्वतीले भष्म पारिदिइन् । त्यसपछि मनलाई परब्रह्ममा लीन गरी महादेवको स्मरण गरी तपस्या गर्न लागिन् । पार्वतीको यो कठोर तपस्याबाट सन्तुष्ट हुनुभएका महादेव पार्वतीको परीक्षा लिन बटुक रुप लिई स्वयं त्यहाँ पुग्नुभयो र पार्वतीसित यी कुरा भन्न थाल्नुभयो – ‘हे शैलपुत्री ! तिमीले शिवलाई स्वामी पाउने इच्छा लिई गरेको यो जुन कष्टपूर्ण तपस्या हो, यो व्यर्थ जान । किनकि तिमीले मनमा लिएको जुन शिवको रुप हो, त्यो त्यस्तो छैन । उनी त सिँहको छाला ओढेका, बाघका छाला कम्मरमा बाँधेका, सधैं श्मशान घाटमा बस्ने, सर्पका मालाको बाजुबाला लगाउने, जिउभरि खरानी घस्ने, केही कुराको घिन नमान्ने, मातेर हिंड्ने, दिगम्बर धारण गरेका, विष, भाङ र धतुरो खाएर भूत, प्रेत र पिशाचहरु अघिपछि लाएर हिँड्ने खालका पो छन् त ? यसकारण हे गिरिजे ! तिमीले आफ्नो मनको भावना हटार्इ देऊ । हेर तिमीजस्ती सुन्दरी यो संसारमा अर्को कोही छैन । यदि तिमीलाई सुख र आनन्दको चाहना छ भने मलाई पतिको रुपमा वरण गर । म तिम्रो इच्छा अनुसारको आनन्द दिलाउनेछु ।’

ती बटुकका यस्ता कुरा सुनेपछि पार्वतीले क्रोधले लाललाल आँखा गरी बटुकलाई भष्म पार्न तयार भर्इन् । तर ती स्वयं शिव नै भएका हुनाले भष्म गर्न सकिनन् । त्यसपछि उनले त्यहाँबाट हिँड्ने विचार गरी जब एक पाइलो मात्र सारेकी थिर्इन्, त्यसै बखतमा महादेवले आफ्नो ज्योतिःस्वरुपको दर्शन दिनुभयो । पार्वतीको हिँड्न भनी सारिएको पाइला पनि त्यहीँ रोकियो । उनले हर्षका आँसुले महादेवलाई पूजा गरिन् । त्यत्तिबेला महादेवबट आज्ञा भयो – ‘हे गिरिसुते ! तिमीले मेरो आराधना, भक्ति र तपस्या किन गर्यौ ?’ शिवको प्रश्न सुनी पार्वतीले भनिन् – ‘हे जगदीश्वर ! मैले आफ्नो बाल्यकालदेखि नै हजुरको आराधना, पूजा, भक्ति अादि गर्दै आएकी थिएँ र अहिले यो अवस्थामा पुगेपछि पनि हजुरलाई नै स्वामी पाऊँ भनी यो तपस्या गरेकी हुँ । मेरा पिता शैलराज हिमालयले विष्णुलाई कन्यादान दिन लाग्दा भागेर यस ठाउँमा आई लुकिरहेकी छु । मेरो रक्षा गरिबक्सनु होस् । मदेखि प्रसन्न होइबक्सनु होस् प्रभु !’ पार्वतीको यस्तो बिन्ती सुनी श्री महादेवजीले भन्नुभयो – ‘हे पार्वती ! तिम्रा बाबाआमाबाट कन्यादान नपाई मैले तिमीलाई आफ्नी स्त्री भन्दा महापाप लाग्छ । यसकारण आफ्ना बाबाआमालाई राजी गराई मलाई आफ्नो कन्यादान गराऊ ।’ यो कुरा सुनी पार्वतीजी फेरि बिन्ती गर्छिन् :– ‘हे परमेश्वर ! जसो गर्दा काम सप्रन्छ, सोही कुरा ममाथि उपदेश गरिबक्सियोस् । मैले ता मन र वचनले यो शरीर हजुरलाई चढाइसकेकी छु । यसमा फरक पर्न गएमा म अात्महत्या गरी मर्नेछु ।’ पार्वतीका यस्ता कुरा सुनेपछि महादेवबाट आज्ञा भयो – ‘हे पार्वती ! विष्णु आई तिमीलाई जस्तो उपदेश गर्नुहुनेछ, तिमीले सोही अनुसार गर्नु ।’ यो आज्ञा सुनी पार्वतीले महादेवलाई साष्टाङ्ग प्रणाम गर्दी भर्इन् । महादेव पनि त्यसै बखत अन्तर्ध्यान हुनुभयो । त्यसपछि पार्वतीजी पनि घर गर्इन् ।

हिमालय पर्वतले छोरीलाई आएको देखी ‘कहाँ गएकी थिइस् ?’ भनी रिसाएर सोधे । आफ्ना पिताको मुखमण्डलतिर हेरी नडराई प्रसन्न मुद्रा लिएर पार्वतीले भनिन् – ‘हे पिता ! मैले बाल्यावस्थादेखि नै महादेव स्वामी पाऊँ भनी उनकै चिन्तनमा रहेकी छु । हजुरले विष्णुलाई कन्यादान दिन लागेको थाहा पाई लुक्न गएकी थिएँ ।’ आफ्नी पुत्री पार्वतीका यस्ता वचन सुनी हिमालय राजाले छोरीको न्वारानका दिन गुरु, पुरोहित र ज्योतिषीहरुले भनेका भविष्यवाणीहरु सम्झेर मन बुझाई चूप लागे । तहाँउप्रान्त कहिले विष्णुजी आउनु होला भनेर बाटो हेर्दै महादेव स्वामी पाउनका निमित्त व्रत, दान, धर्म, जप, तप आदि गरी शिवलिङ्ग बनाई नित्य पूजा गर्न लागिन् । तिनको श्रद्धा, दृढभक्ति, विश्वास र उपासना देखेर प्रसन्न हुनुभएका भगवान् विष्णु शङ्ख, चक्र, गदा र पद्म हातमा लिई पार्वतीसामु प्रकट हुनुभयो र ‘हे पार्वती ! तिमीले भक्तिपूर्वक गरेका नाना तीर्थ, व्रत, जप, तप, दान, यज्ञ आदि देखेर म सन्तोष भएँ । तिमीले आफ्नो इच्छित वर माग’ भन्नुभयो । यो सुनी श्री पार्वतीजीले हात जोडी भनिन् – ‘हे गरुडध्वज ! अरु थोक म केही वर माग्दिन । केवल यही वर माग्छु कि महादेव स्वामी पाऊँ ।’ पार्वतीको यस्तो इच्छा सुनी विष्णुले आज्ञा गर्नुभयो – ‘हे पार्वती ! तीर्थ, व्रत, धर्म, दान, जप, तप आदिले पनि प्राप्त गर्न नसकिने सर्वोत्तम व्रत म बताउँछु, जुन गर्नाले आफूले चिताएको पुग्छ । तिमीले विधिपूर्वक यो व्रत गर्यौ भने अवश्यमेव महादेव स्वामी पाउली । त्यो महान् व्रत हो श्री स्वस्थानी परमेश्वरीको व्रत ! हे गिरिजा पुत्री ! म तिमीलाई यो व्रतको समय, विधि र महिमा पनि बताउँछु । राम्रो चित्त लगाई सुन ।’

पौष शुक्ल पूर्णिमाका दिनदेखि यो व्रतको आरम्भ गर्नुपर्छ । अघिल्लै दिन हातगोडाका नङ काटी, मन, वचन र कर्मलाई पवित्र राखी, एकभक्त रही नित्य प्रातःकालमा स्नान गरी, नित्य मध्याह्न कालमा महादेवको पूजा गर्नुपर्छ । महादेवको पूजा गर्दा पवित्र ठाउँबाट ल्याइएको बालुवाको शिवलिङ्ग बनाई पूजा गर्नुपर्छ । उपचार जुटेका षोडषोपचारले नभए पञ्चोपचारले नित्य मध्याह्न कालमा पूजा गर्नुपर्छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्री स्वस्थानी परमेश्वरीको कथा वाचन गर्नुपर्छ । सबैलाई कथा सुनाउनु पर्छ । कथा सुन्ने कोही नभए चर्खा, कुचो, उइँटा आदिलाई सुनाउनु पर्छ । प्रसाद लिनुपर्छ अनि प्रसाद बाँड्नुपर्छ । महिना दिन पुगेपछि माघ शुक्ल पूर्णिमाका दिन एकसय आठ रोटी, एकसय आठ अक्षता, एकसय आठ बेलीपुष्प, एकसय आठ सूत्र, एकसय आठ कुड्का सुपारी, एकसय आठ जनै, एकसय आठ बाती, एकसय आठ पान, एकसय आठ भेटी, एकसय आठ जातजातका फल र फूल तयार पारी तामाको आर्सीमा ॐ कार लेखी पूर्ण घडामाथि राख्नुपर्छ । त्यसपछि ॐकारमा श्री स्वस्थानी परमेश्वरीको स्वरुपलाई स्मरण गरेर गङ्गाजलले स्नान गराउनु पर्दछ । अनि क्रमशः आवाहनादि उपचारले पूजा गर्नुपर्छ । श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, आभूषण आदि चढाउनु पर्छ । धूप, बाती र आरती गरेर पुनः अर्घ्य दिनुपर्छ, अनि श्री स्वस्थानी परमात्माको ध्यान गर्दै तलको स्तुति पाठ गर्नुपर्छ :-

ॐ अष्टासु च दलेष्वेव मातृकाष्टस्थितास्मृता ।

खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।

चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।

सुवर्णवद्विकासाभा स्वस्थानी जगदीश्वरी ।।१।।

हे पार्वती ! श्री स्वस्थानी परमेश्वरी भनेकी अष्टदलमा अष्टमातृका वसेकी, हातमा खड्ग, त्रिशूल, वर र नीलोत्पल लिएकी, चार बाहु र त्रिनेत्रले युक्त भएकी, नाना अलङ्कारले सुशोभित भएकी, सुवर्णभन्दा पनि अधिक पीत वर्णको रुपले शोभा पाएकी यस्ती स्वस्थानी जगदीश्वरी हुन् ।

यस्ती परमेश्वरीको ध्यान गर्नु र ‘हे वरदायणी ईश्वरी !‘ भनी चिताएको वर माग्नु । त्यसपछि चढाइएका प्रसादहरु क्रमैसित झिक्नु र एक सय आठ र एक सय आठबाट आठ रोटी, आठ अक्षता, आठ वेलीपुष्प, आठ सूत्र, आठ कुड्का सुपारी सगुण समेत आफ्ना पुरुषलाई दिनु, पुरुष नभए पुत्रलाई दिनु, पुत्र नभए मीतपुत्रलाई दिनु, त्यो पनि नभए जुन इच्छा लिएर व्रत गरेको हो, सो इच्छा पूर्ण होस् भनी शाली नदीमा बहाइदिनु, शाली नदी टाढा भए नजिकैको ठूला नदीमा बहाइदिनु अथवा आफ्ना घरबाट भित्र्याइने नदी, सरोवर र समुद्रलाई भेट्ने खोलामा लगी बहाइदिनु । बाँकी सय सयका भाग आफूले प्रसाद रुपमा ग्रहण गर्नु । त्यो रातभर जागरण रही कीर्तन, भजन, नृत्य आदि गरी ईश्वरीको महिमा र पुण्य चरित्रहरु आफूले सुन्नु अरुलाई पनि सुनाउनु ।

‘हे पार्वती ! स्वस्थानी परमेश्वरीको प्रसाद दिने समयमा महादेवजी तिम्रा पासमा आइपुग्नु हुनेछ, तिम्रो श्रद्धा र भक्तिदेखि म सन्तोष छु, तिमीले महादेवजी स्वामी पाए’ भनी विष्णुले वरदान दिनुभयो । पार्वतीबाट पूजा पाइसकेपछि भगवान् विष्णु गरुडमा सवार भई त्यहाँबाट अन्तर्ध्यान हुनुभयो र वैकुण्ठलोक पुग्नुभयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां श्रीस्वस्थानी-व्रतोपदेश-वर्णनं नाम द्वादशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्

दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।

देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।

निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता

या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।

या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।

समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।

खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।

चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।

सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

The post स्वस्थानी व्रतकथा, भाग – ११ (पार्वतीका निमित्त विष्णुद्वारा स्वस्थानीको व्रतविधि बताइएको प्रसङ्ग) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update