प्रबिधि दुनियाँमा नोकिया सफलता र असफलता दुवैको प्रतिक हो । कुनै बेला मोबाइल भनेकै नोकिया भन्ने अबस्था थियो । सन् २००७ मा मात्र मोबाइल बजारको ४० प्रतिशत हिस्सा नोकियाको थियो । तर, सन् २०१४ सम्म आइपुग्दा नोकियाले आफ्नो बजार हिस्सा गुमाउँदै अन्ततः सधैका लागि बन्द हुनुपर्ने स्थितिमा पुग्यो । अब मोबाइल फोन बजारमा नोकिया केवल इतिहास बन्यो, बिद्यार्थीहरुका लागि सन्र्दभ सामाग्रीका रुपमा । मोबाइल उत्पादन युनिट माइक्रोसफ्टलाई बेचेसँगै अब नोकिया ब्राण्ड मोबाइल फोन उत्पादन हुने छैन् ।
प्रबिधि दुनियाँ कति गतिशिल छ भन्ने कुराको सवैभन्दा ठूलो उदाहरण हो नोकिया । के आजका एप्पल, गुगल वा सामसुङ जस्ता प्रबिधि बादशाहहरु भोली नोकियाको नियति भोग्न बाध्य होलान ? आखिर किन ढल्यो नोकिया ? यति ठूलो बहुराष्ट्रिय ब्राण्डलाई कसले मार्‍यो ? यसमा कम्पनीको आफ्नो नीति जिम्मेवार थियो वा बाह्य कारण ?
यस्तै प्रश्नको जवाफसहित नोकियाको उत्थान र अबसानका केस्राकेस्रा केलाएर पेक्का न्याकानेन  र मेरिना साल्मिनेनले हालै ‘ओपेराटियो इलोप’ पुस्तक प्रकाशन गरेका छन् । पुस्तकको सारलाई समेट्दै उनीहरुले प्रोजेक्ट सिण्डिकेटमा लेखेको यो लेख भावानुवाद गरि यहाँ प्रस्तुत गरेका छौं ।
प्रविधि उद्योगमा स्थापित तथा अग्रणी कम्पनीहरु प्रायः छिटै तथा क्रुरतापूर्ण तरिकाले धरासायी हुने कुरा नियम जस्तै बनेको छ । मोबाइल फोन उत्पादक नोकिया कम्पनीको सफलताको कथा युरोपका प्रविधि उद्योगमा सबैभन्दा ठूलो सफलताको कथामा पर्छ । तर, यो नियमबाट नोकिया पनि अछुतो रहेन र केही वर्षको अन्तरालमै आफ्नो बजार हिस्सा गुमाउन पुग्यो । के अहिलेको प्रविधि जगतका सर्वोत्कृष्ट कम्पनी एप्पल र गुगल यो नियतिबाट बच्न सक्लान् ?
सन् २००७ मा विश्वबजारमा हुने मोबाइल फोन बिक्रिमा नोकियाको हिस्सा ४० प्रतिशत थियो । तर, त्यतिबेलासम्म उपभोक्ताको रोजाइ टचस्बिmनवाला स्मार्टफोनतर्फ सर्दै थियो । सो वर्षको मध्यतिर एप्पलको आइफोन बजारमा आएसँगै नोकियाको बजार हिस्सा तिब्र रुपमा खुम्चियो भने आयमा समेत ठूलो गिरावट आयो । सन् २०१३ को अन्त्यमा त नोकियाले आफ्नो फोन व्यवसाय माइक्रोसफ्टलाई बिक्रि गर्न बाध्य भयो ।
नोकियाको भाग्यमा यसरी बिर्को लाग्नुको मुख्य कारण चाहीँ सन् २०१० को अक्टोबरमा पद सम्हालेका यसका प्रमुख कार्यकारी स्टेफेन इलोपका श्रृंखलाबद्ध निर्णयहरु बन्न पुगे । इलोप नोकियाको शीर्ष पदमा रहुन्जेल हरेक दिन कम्पनीको बजार मूल्य २ करोड ३० लाख डलरले घट्यो, जुन असफलताले उनलाई ‘इतिहासकै सबैभन्दा खराब सिइओमध्येे एक’का रुपमा बदनाम गरायो ।
इलोपको सबैभन्दा ठूलो गल्ती भनेकै नोकियाको स्मार्टफोनका लागि एकमात्र प्लाटर्फमको रुपमा माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम छनोट गर्नु रह्यो ।
आफ्नो बर्निङ प्लाटर्फम शीर्षकको स्मृतिपत्रमा इलोपले नोकियालाई यस्तो मानिससँग तुलना गरेका छन् जो समुद्रको किनारमा आगोको लप्काले घेरिएको छ, जसको विकल्प कि त जलेर मर्नु हो कि त चिसो समुद्रमा अनिश्चित हाम फाल्नु हो । उनले भनेको यो कुरा सही थियो की यथास्थितिको व्यवसाय नोकियाका लागि मृत्युसरह थियो तर कम्पनीको जीवन प्रदायकको रुपमा माइक्रोसफ्टलाई छनोट गर्नु भने उनको त्यो भन्दा ठूलो गल्ती थियो ।
गल्ती गर्नेमा केवल इलोप मात्र थिएनन् । नोकियाको पूरै बोर्डले नै परिवर्तनको विरोध गर्यो जसका कारण प्रविधि उद्योगमा आएको तिब्र परिवर्तनमा अनुकुलित हुन नोकियालाई असम्भव भयो । जोर्मा ओलिला पनि उल्लेखनीय नाम हो, जसले नोकियालाई औद्योगिक समूहबाट टेक जाएन्ट कम्पनीसम्म पूराउने अगुवाई गरे । विगतको सफलताप्रतिको ठूलो मोहका कारण प्रतिस्पर्धीतालाई धान्नका लागि आवश्यक पर्ने परिवर्तनलाई पहिचान गर्न उनी असफल रहे ।
नोकिया कम्पनी खर्च कटौतीको निरासाजनक कार्यक्रममा समेत फस्यो जसबाट नोकियाका हजारौँ कर्मचारीले जागिर गुमाए । यसले कम्पनीको एकमन संस्कार ध्वस्त पार्न सहयोग गर्यो । नोकियाका कर्मचारीको एकमन संस्कार अर्थात् एकताका कारण कर्मचारीहरुलाई जोखिम मोल्न तथा चमत्कार गर्नका लागि अभिप्रेरित गथ्र्यो । क्रमशः असल अगुवाहरुले कम्पनी छाड्न लागे र नोकियाको दूरदृष्टि तथा दिशाको चेतना समेत आफुसँगै लगे । त्यो सँगै नोकियाको सबैभन्दा मूल्यवान डिजाइन तथा प्रोग्रामिङका दक्ष र प्रतिभावान जनशक्तिले समेत कम्पनी छाडे ।

0 comments :

Post a Comment

 
Top