एमबीबीएसको प्रश्नपत्र बेचेको पैसा पत्नीको खातामा !


२२ मंसिर, काठमाडौं । एमबीबीएस छात्रवृत्तिको प्रश्नपत्र बेचेको अभियोगमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे र शिक्षक खेचरनाथ सापकोटा पक्राउ परे । तर, विगतका घटनामा जसरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डे र सापकोटाका साथबाट पैसा बरामद गरेन, किन ? यसको रहस्य बेग्लै छ . पाण्डे परिवन्दमा परेको नभई गम्भीर अपराध गरेको खुलेको छ । एमबीबीएसका विद्यार्थीबाट जम्मा गरिएको १०/१० लाखमध्ये ठूलो रकम पाण्डेकी पत्नीको बैंक खातामा परीक्षा हुनुभन्दा निकै दिन पहिले नै जम्मा भइसकेको तथ्य फेला परेको छ ।भ्रष्टाचारीहरुले अचेल अख्तियारको फन्दामा परिने डरले झोलामा पैसा बोकेर लेनदेन गर्न छाडेका छन् । कानून जति कडा हुन्छ, चोर पनि त्यति नै बाठा हुन्छन् भनेजस्तै गोल्डेन गेट कलेजका निर्देशक पाण्डे पनि पढेलेखेको व्यक्ति भएको हुनाले कम्ति बाठा रहेनछन् ।
पाण्डेले वीरगञ्जबाट समातिएका दलाल डा. प्रभातकुमार कुशवाहालाई मंसिर २० गते अगावै सीता खनालको नाममा रहेको बैंक खातामा प्रश्नपत्र किन्ने रकम जम्मा पार्न लगाएका थिए । कुशवाहले सीता खनालका नाममा रकम जम्मा गरेपछि पाण्डेले शनिबार हातमा पैसा नलिई प्रश्नपत्रमात्रै दलालका हातमा दिन लागेको अवस्थामा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको थियो ।
त्रिचन्द्रदेखि गोल्डेनगेटसम्म
गोल्डेन गेट कलेजका सञ्चालकसमेत रहेका देवीराम पाण्डे दश वर्षअघिसम्म सामान्य विद्यार्थी थिए । त्रिचन्द्र क्याम्पसमा रसायनशास्त्रको विद्यार्थी हुँदा उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको राजनीति गर्थे ।
त्रिचन्द्रमा उनलाई पढाउने गुरु रमेश सिलवालसहित भद्र पोखरेल, जुद्ध गुरुङलगायतले साइन्स एण्ड फ्यूचर नामको पत्रिका प्रकाशन गरेपछि पाण्डे पनि त्यसमा आवद्ध भए ।
त्यसैबेला ०६४ सालमा रमेश सिलवाल लगायतका टिमले हिमालयन हृवाइट हाउस कलेजबाट छुट्टएिर गोल्डेनगेट कलेज स्थापना गर्दा पाण्डे पनि त्यसमा सामेल भए ।
अर्घाखाँचीका स्थायी बासिन्दा पाण्डेले भारतको असाममा पढेका हुन् । उनले काठमाडौंकेा त्रिचन्द्रबाट रसायनशास्त्रमा एमएस्सी गरेका हुन् ।
सिलवालको विश्वास जितेर उनी कलेज प्रशासनको हर्ताकर्ता बने । पाण्डेले पछिल्लो समयमा सिलवालसँग फुटेर अर्कै कलेज खोल्ने धम्की दिइरहेका थिए । यसका लागि उनलाई पैसा चाहिएको थियो । यसबीचमा पाण्डे र सापकोटाले उच्च माध्यमिक शिक्षा परिषदबाट लिइने कक्षा ११ र १२ को प्रश्नपत्र पनि बिक्री गरेको स्रोत बताउँछ ।
उच्च मावि परिषदले परीक्षाका प्रश्नपत्र गौशालाको प्रहरी कार्यालयमा राख्थ्यो । परीक्षाको दिन गोल्डेनगेट केन्द्रमा प्रश्नपत्र पुगेपछि उनीहरुले खोलेर एक घण्टा अगाडि नै बेच्ने गरेको सूचना बाहिर आएको थियो ।
‘परीक्षा सात बजे शुरु हुन्थ्यो, उनीहरुले ६ बजे नै प्रश्नपत्र बाहिर लिक गर्थे’ गोल्डेन गेटका एक पूर्वशिक्षकले भने ‘यस्तो धन्दा उनीहरुको पहिलेदेखि नै चलेको हो’ ।
एमबीबीएस छात्रवृत्तिको परीक्षा केन्द्र गोल्डेनगेटमा ०६६/०६७ सालदेखि कायम भएपछि पाण्डेको टोली ठूलै गिरोहमा संलग्न भयो र करोडौं रुपैयाँ उठाउने धन्दामा लाग्यो ।
शनिवार जनक शिक्षा सामाग्री केन्द्रको सेक्युरिटी प्रेसमा छापिएको प्रश्नपत्र गोल्डेनगेट परीक्षा केन्द्रमा पौने एक बजेमात्रै पुर्‍याइएको थियो । त्यही बीचमा २४ वटा कोठामा सिट प्लान गरिएका विद्यार्थीका लागि प्रश्नपत्र खोलेर लैजाने क्रममै यो गिरोहले फोटोकपी गरेर बाहिर लिक गरेको थियो ।
पाण्डे र सापकोटा निस्काशित
यसैवीच अख्तियारबाट पक्राउ परेका पाण्डे र सापकोटालाई गोल्डेन गेट कलेजले निस्कासन गरेको छ । व्यक्तिले गरेको अपराधमा संस्थालाई नमुछिदिन कलेजले आग्रह गरेको छ । अख्तियारले गरिरहेको छानविनलाई सहयोग पुर्‍याउने गोल्डेन गेट कलेजले विभिन्न पत्रिकालाई दिएको विज्ञापनमा जनाइएको छ ।

0 comments :

Post a Comment

 
Top